काठमाण्डौ,असोज २२ । चिसो सुरु भएसँगै अस्पतालहरुमा डेङ्गीका बिरामीहरु कम हुँदै गएका छन् ।
काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दशैँ सुरु हुनुअघिको तुलनामा दशैँ अवधिमा डेङ्गीका बिरामीहरु कम हुँदै गएको हो।
डेङ्गीको सङ्क्रमण खासगरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुनेगर्दछ । दशैँ अघिको तुलनामा अहिले बिरामीहरु पनि कम अस्पताल आइरहेका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।
उनका अनुसार अहिले अस्पतालमा साधारण बेडमा ११ जना उपचाररत छन् भने एक जना आईसीयूमा उपचाररत छन् ।
त्यस्तै इमर्जेन्सीमा करिब ७० जना दैनिकजसो उपचारका लागि आइरहेका उनले बताए ।
सूचना अधिकारी गौतमले अस्पतालमा अन्य सरुवा रोगका बिरामीहरु भने यस वर्ष विगतको तुलनामा कम रहेका बताए । उनले दशैँको बेलामा अस्पतालले डेङ्गी बढ्ने अनुमान गरेर आवश्यक तयारी गरे पनि बिरामीहरु कम आएका बताए ।
सबैले लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, लोसनको प्रयोग गर्ने, पूरा बाउला भएको लुगा लगाउने, घर वरपर पानी जम्न नदिने, घर वरपर सफा राख्ने गरेमा डेङ्गीबाट बच्न सक्ने बताए ।
उनले डेङ्गीको प्रकोप अझै रहने भएकाले केही समयसम्म सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरे ।
गौतमले विगतको वर्षमा भन्दा यस वर्ष सर्पदंशका बिरामीहरु भने बढिरहेको बताए । गएको वर्षहरुमा असोज महिनादेखि सर्पदंशका बिरामीहरु धेरै नआएको तर यस वर्ष भने अहिले पनि ५ जना सर्पदंशका बिरामीहरु अस्पतालमा उपचाररत रहेका उनले बताए।
