दाङ,भदौ १७ । दाङमा डेंगुको संक्रमणदर चार वर्षयताकै उच्च देखिएको छ । आलु आर्थिक वर्षको डेढ महिनाको अवधिमा दाङमा डेंगुको संक्रमण उच्च देखिएको हो ।
चार वर्षको तथ्यांकभन्दा डेढ महिनामा भएको संक्रमण दर उच्च देखिएको छ । आर्थिक वर्ष ०७६/०७७ मा ७१ जनामा डेंगु संक्रमण भएका बिरामी भेटिएका थिए ।
त्यसयता सामान्य जस्तै बनेको यो रोग अहिले एकाएक बढ्दै गएको हो । स्वास्थ्य कार्यालय दाङका अनुसार त्यसवर्ष जिल्लामा महिलाको भन्दा पुरूषमा धेरै डेंगुको समस्या देखिएको थियो ।
जसमा ४१ जना पुरूष र ३० जना महिलामा संक्रमण देखिएको छ । आर्थिक बर्ष ०७७/७८ मा १५ मा मात्रै डेंगु संक्रमण देखिएको थियो । जसमा ९ जना पुरूष र ६ जना महिला रहेका थिए ।
आर्थिक बर्ष ०७८र७९ मा डेगु संक्रमणको संख्या ६ जना मात्रै थियो । यो तीन वर्षको तथ्यांकलाई हेर्दा डेंगुको संक्रमण कम भएको देखिन्छ ।
तीन वर्ष कम संक्रमण देखिएको डेंगु चौथो वर्षमा भने एकाएक बढेको छ । चालु आर्थिक वर्षका ढेड महिनामा झण्डै सयको हाराहामीमा संक्रमण पुगेको छ । ह्वात्तै बढेको समेत छ । चालुु आर्थिक ०७९/८० को सुरूवातमै संक्रमणको अवस्था उच्च देखिनुले यसको जोखिम बढाएको छ ।
दाङको घोराहीमा संक्रमण बढी देखिएको छ । घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै साउन २६ यता २१ दिनमा ८८ जनामा संक्रमण पुष्टि भएको छ ।
अहिले प्रतिष्ठानमा दैनिक सरदर पाँचजनामा डेंगु देखिने गरेको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले बताए ।
‘अस्पतालमा आउने ज्वरोका बिरामीहरूमध्ये लगभग सबैमा अहिले डेंगु देखिएको छ’, उनले भने, ‘प्रतिष्ठानमा यस वर्ष डेंगुका बिरामी बढेका छन् । एकदेखि दुई प्रतिशत मृत्यु दर भएकाले डेंगुदेखि बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकहरूको भनाइ छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १४ अटोभिलेजलगायत केही स्थानमा डेंगुको संक्रमण निकै बढेको घोराही स्वास्थ्यले जनाएको छ । जसका कारण अहिले स्वास्थ्य सचेतनासँगै परिक्षण दर पनि बढाइएको छ । सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा डेंगु परीक्षण गराउनेहरूको भिड लाग्ने गरेका छन् ।
यस वर्षको सुरूवातमै संक्रमितको संख्या बढेकाले यसको नियन्त्रण र रोकथामका लागि सबैको सक्रियता आवश्यक रहेको स्वास्थ्य कार्यालय दाङले बताएको छ ।
डेंगुको रोकथामका लागि लार्भा नष्ट गर्ने अभियान उपयुक्त हुने स्वास्थ्य कार्यालय दाङका फोकलपर्सन कमल चन्दले बताए ।
यसभन्दा अगाडिका वर्षमा कोरोना र नियमित मौसमी वर्षाका कारण कम संक्रमण देखिएको उनले बताए ।
‘खोप छैन, त्यसैले जोखिम छ, घरमा पानी जम्ने ठाउँ छ भने सफा राख्नुपर्छ, लामखुट्टेको टोकाइबाट बच्नुपर्छ’, घोराही उपमहानगर स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले भने, डेंगुको संक्रमण बढ्दै गएपछि घोराही उपमहानगरपालिकले अभियान सुरू गरेको छ ।
उपमहानगरका सबै वडामा डेंगु नियन्त्रणका लागि सचेतनामूलक अभियान थालेको उनले बताए ।