घोराही, २ असार ।
दाङ देउखुरी होटल व्यवसायी समितिले आफ्नो २८औँ स्थापना दिवसको अवसरमा बिहीबार सरसफाई कार्यक्रम गरेको छ । बुधबार वक्तृत्वकला प्रतियोगिता गरेको समितिले बिहीबार घोराही उपमहानगरपालिका वडा नम्वर १३ मा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्र बाह्रकुने दहमा सरसफाई कार्यक्रम गरेको हो ।

समितिका अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षता तथा मन्दिर व्यवस्थापन समितिका संयोजक टेमन बुढा, जनप्रतिनिधि तथा होटल व्यवसायीहरूको सहभागितामा सरसफाई गरिएको हो । बाह्रकुने दह क्षेत्रबाट संकलन गरिएको प्लाष्टिकजन्य फोहोर, सिसा र गल्ने फोहोरलाई घोराही उपमहानगर–पालिकाको फोहोर संकलन गर्ने गाडीमार्फत डम्पिङ साइटमा पठाइएको हो ।
फोहोर संकलनपछि गरिएको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका सरसफाई वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका संयोजक एवं घोराही– १४ का वडा अध्यक्ष भानसिंह बुढाले धार्मिक तथा पर्यटकीय क्षेत्रले दाङको परिचय बोक्ने भएकाले यस्ता क्षेत्रलाई सरसफाईयुक्त बनाएर आफ्नो ठाउँको पहिचानमाथि उठाउन सकिने बताए ।
अर्काेतिर स्थापना दिवसका अवसरमा होटल व्यवसायीहरूले संस्थागत रूपमा सरसफाई कार्यक्रम गर्नु प्रशंसनीय कार्य भएको भन्दै अन्य सामाजिक संघसंस्थाले पनि यस्ता कार्यक्रम गर्न आवश्यक रहेको बताए । उपमहानगरपालिकाको सरसफाई वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका संयोजकसमेत रहेका बुढाले धार्मिक तथा पर्यटकीय क्षेत्रलाई सरसफाईयुक्त बनाउन भूमिका निर्वाह गर्ने बताए ।
यस्तै घोराही–१३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेलले वडाभित्र रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बाह्रकुनेको चौतर्फी विकास र संरक्षणका लागि वडा सरकारले काम गर्ने बताए । यस्तै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टेमन बुढाले फोहोर व्यवस्थापनको पाटोलाई प्रभावकारी र व्यवस्थित बनाउन लागि परेको बताए । सरसफाई कार्यक्रमको आयोजना गर्ने होटल व्यवसायी समितिलाई धन्यवाद दिदै स्थानीय सरकार र सरोकारवाला निकायलाई मन्दिरको विकासका लागि एकजुट भएर लाग्न आग्रह गरे ।
होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष रूद्रबहादुर डाँगी, वरिष्ठ उपाध्यक्ष ईश्वर बुढालगायतका पदाधिकारी तथा होटल व्यवसायीहरूको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रमका लागि समितिका महासचिव टिकाराम भुसालको संयोजकत्वमा सचिव श्यामकुमार विक र सदस्य लंकबहादुर बुढामगर सदस्य रहेको तीन सदस्य उपसमिति गठन गरिएको थियो ।
कार्यक्रमको सहजीकरण महासचिव तथा कार्यक्रम संयोजक भुसालले गरेका थिए । यस्तै स्थापना दिवसको मुख्य दिन शुक्रबार समितिकै सभाहलमा रक्तदान तथा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरिएको महासचिव भुसालले जानकारी दिए ।