दाङ, जेठ १ । घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
आइतबार बेलुकासम्म घोराहीमा १५९९१ मत गणना गर्दा नेकपा माओबादी केन्द्रका हेमराज शर्मा (डायमण्ड) ६२०८ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेका मेयरका उम्मेदवार तथा पोलिटब्यूरो सदस्य नरुलाल चौधरीले ६००१ मतका साथ पच्छई रहेका छन् । उनीहरु बीचको मतान्तरण २०० जति रहेको छ ।
माओबादीका केन्द्रीय सदस्य शर्माले सुरुदेखि नै एमाले पोलिटब्यूरो सदस्य तथा यसअघिका मेयरसमेत चौधरीलाई लिड गर्दै आएका छन् । तर, पछिल्लो समय आफ्नो पकेट क्षेत्र आउन थालेपछि ४०० बाट मतान्तर घटाएर चौधरीले २०० मा झारेका छन् ।
त्यस्तै घोराहीमा गठबन्धनबाट नेपाली काँग्रेसका नेता तथा उपमेयरका उम्मेदवार भुपबहादुर डाँगी भने झन्डै ९ मतान्तरले अगाडि छन । काँग्रेसका उपमेयरका उम्मेदवार डाँगी ६६४९ मत प्राप्त गर्दा नेकपा एमालेकी उपमेयरकी उम्मेदवार हुमा डिसीले ५७७३ मत प्राप्त गरेकी छन् ।
घोराहीमा १ लाख १२ हजार ९ सय २७ मतदाता रहेकोमा ७६ हजार ५ सय २१ मत खसेको थियो ।
घोराहीका १९ वडामध्य वडा नं. १९ मा नेपाली काँग्रेसका उम्मेदवार ज्ञानबहादुर रायमाझी विजयी भएका छन् ।