
तुलसीपुर,फागुन २६ ।दाङमा हात्ती पाइले रोग निवारणका लागि फागुन २८ गतेदेखि औषधि खुवाउने अभियान सुरु हुँदै छ । घर घरमै स्वास्थ्यकर्मीलाई खटाएर रोग बिरुद्धको औषधी खुवाइने भएको छ ।
औषधि सेवन बारेमा गलत बुझाई वा लापरवाहीका कारण राज्यको लक्ष्य हासिल हुन नसकेपछि राज्यले स्वास्थ्यकर्मी घर घरमै खटाउने भएको हो । तुलसीपुरमा १ लाख ३८ हजार ४ सय १५ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ ।
तर, यो रोगको औषधि २ वर्ष भन्दा कम उमेर भएका बालबालिका, गर्भवति, छारे रोगीले भने खान हुँदैन ।
त्यस्तै तुलसीपुरमा कुल जनसख्याको ८० प्रतिशतले औषधि सेवन गर्नुपर्नेमा गत वर्षसम्म ७२ प्रतिशतले मात्र औषधी सेवन गरेको तथ्याङ्क बिहीवार तुलसीपुरमा आयोजित गोष्ठीका सहभागिहरुले चिन्ता जाहेर गरे ।
‘हात्तीपाइले रोगको बारेमा ज्ञान हुदाँहुदै पनि औषधि खान हिचकिचाउने र अरुलाई खानसमेत प्रेरित नगर्ने अवस्था छ,’ तुलसीपुका जनस्वास्थ्य प्रर्वद्धन शाखाका जनस्वास्थ्य निरिक्षक बिमल केसीले भने ‘रोगलाई सामान्य रुपमा लिने वा बेवास्ता प्रबृतिका कारण १० औं पटकसम्म औषधि सेवन गर्दापनि दाङसहित केही जिल्लाहरु अझैं हात्ती पाइलेका बेरामी फेला परिरहेका हुन ।’
विभिन्न कारणले नागरिकहरुले औषधि सेवन नगर्दा हात्ती पाइले रोग निवारणको कार्यक्रम पटक–पटक फेल हुदै आएको उनले बताए ।
विगत तीन वर्षको तथ्याङ्क नियाल्दा दाङमा ६४ प्रतिशत भन्दा कमले मात्रै हात्ती पाइले रोग विरुद्धको औषधी सेवन गरेको पाइएको छ ।२०१९ मा ३८ प्रतिशतले सेवन गरेको औषधि हालसम्म आइपुग्दा ६१ द्यशमलब ४ प्रतिशतसम्म पुगेको तथ्याङ्कले देखाउँछ ।
जिल्लाका लालमटिया, बिजौरी र टरिगाउँमा हात्ती पाइलेका केही संक्रमितहरु फेला परेका छन् । त्यही भएर यस पटक हात्ती पाइले बिरुद्धको औषधी फरक ढगंले खुवाउने योजना बनाइएको हो ।
‘ प्रत्येक व्यक्तिको घरमा स्वाथ्यकर्मी आफै पुगेर उनीहरुको हाइट मापन अनुसारको औषधी खुवाइने छन्,’ केसीले भने ‘ त्यसका लागि दैनिक स्वास्थ्यकर्मी खटाइने छ ।’
तुलसीपुरकी उपमेयर माया शर्माले हात्ती पाइले रोग बिरुद्धको अभियानलाई सफल बनाउन सबै नागरिले अनिवार्य औषधि सेवन गर्न आग्रह गरिन ।
कार्यक्रम तुलसीपुरका जनस्वास्थ्य प्रर्वद्धन शाखाका प्रमुख ओमपी न्यौपानेको अध्यक्षतामा भएको हो ।
दाङमा हात्तीपाइले रोग निवारणको कार्यक्रम लक्ष्यमा पुग्न सकिरहेको छैन । ती पटकसम्म अनिवार्य औषधि सेवन गर्नुपर्ने भएपनि हालसम्म १२औं पटक हुँदासमेत लक्ष्य प्राप्त हुन सकिरहेको छैन ।