
तुलसीपुर, फागुन ७ । आफ्नो अबैध प्रेम सम्बन्ध लुकाउन प्रेमी संग मिलेर दाङमा श्रीमतिले श्रीमानको हत्यागर्न भूमिका खेलेको तथ्य उजागर भएको छ ।
दाङको राप्ती गाउँपालिका वडा नं. ३ वशन्तपुरकी ५० बर्षीया उमादेबी चौधरीले आफ्ना श्रीमान ५४ बर्षीय लप्टेन चौधरीको हत्या प्रेमी गढवा गाउँपालिका वडा नं. ३ मसुरियाका ५२ बर्षीय हनुमान चौधरीबाट गराएको तथ्य प्रहरीले उजागर गरेको छ ।
माघ २९ गते नै लप्टेन चौधरीको हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।
उक्त दिन उमादेबीले श्रीमान लप्टेनले आँफुलाई ज्यानमार्ने धम्कि दिएको तथा आँफुमाथि हातपात गरेको भनेर उमादेबीले हनुमानलाई फोन गरेकी थिइन । हनुमानले लप्टेनको अवस्था कस्तो छ ? भनेर सोधे । उमादेबीले आफ्ना पति नशामा लठ्ठ रहेको हनुमानलाई जानकारी दिएपछि दुबैका बीचमा लप्टेनको हत्या योजना बनेको प्रहरीले जनाएको छ ।
योजना अनुसार उमादेबीले घरको दक्षिण तर्फको कोठा खुल्ला नै राखेर १२ बर्षीया छोरीलाई लिएर अर्कौ कोठामा सुत्न गएकी थिइन ।
उनीहरुको योजना अनुसार माघ २९ गते राति हनुमान सोही दक्षिण तर्फको कोठाबाट घर भित्र प्रबेश गरि मुड्किने लप्टेनको छातिमा आक्रमण गरेपछि छटपटाउन थालेपछि भुइमा लडाइ हनुमानले लप्टेनको घाँटी थिचेर हत्या गरेको डिएसपी रिजालले जानकारी दिए ।
फागुन ५ गतेको निबेदनमा उमादेबीले आफ्ना श्रीमान लप्टेन फागुन १ गते बिहान साढे ६ बजे काममा गढवा गाउँपालिका वडा नं. ३ गोवरडिया जान्छु भनि गएको भएपनि घर नर्फिएको तथा गाउँ घर आफन्त कहाँ खोजी गर्दा फेला नपरेको भन्दै खोजी गरिदिन आग्रह गरिन ।
सोही दिन खोजी गर्ने क्रममा लप्टेनको शब प्रहरीले गढवा गाउँपालिका २ कोठरीस्थित राप्ती नदीमा फेला पार्न सफल भयो । शबको सनाखद श्रीमति उमादेबी र आफन्तले गरेका थिए ।
शबको देखेपछि इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरिक्षक भुवन भट्टको मनमा आशंका उब्जियो । गाउँले तथा आफन्तले पनि लप्टेनको हत्या भएको आशंका ब्यक्त गरे । केही गाउँले नै उमादेबी र उनका पतिको बीचमा राम्रो सम्बन्ध नभएको तथा उमादेबीको अर्कै ब्यक्तिसंग प्रेम सम्बन्ध रहेको सुराक दिए ।
त्यसपछि प्रहरीले घटना अनुसन्धान गर्ने क्रममा उमादेबीले झुट छिपाउन सकिनन् । प्रहरीका अनुसार लप्टेनको हत्या पछि हनुमानले मध्यरातमा आँफैले शब बोकेर लप्टेनको एक जोर जुत्ता समेत बोकेर लगि राप्ती नदीमा फालेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।
त्यसपछि उमादेबी र हनुमानका बीचमा सल्लाह भइ आँफु जोगिनका लागि उमादेबीले नै पति लप्टेन बेपत्ता भएको भन्दै प्रहरीमा खोजी गरिदिन फागुन ५ गते निबेदन दिएको खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीले उमादेबी र हनुमान दुबैलाई नियन्त्रणमा लिइ सकेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।