तुलसीपुर, पुस २४ । शनिबार दिउँसो तुलसीपुरमा भएको सवारी दुर्घटनामा परि दुई बालकसहित तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको गढवा गाउँपालिका वडा नं. ५ घर भइ एकता पोल्ट्री प्रालिमा कार्यरत ४१ बर्षीय रामजलन चौधरी, उनका ९ बर्षीय छोरा अर्जित चौधरी र नाति नाता पर्ने राप्ती गाउँपालिका वडा नं. ५ का ३ बर्षीय आरुष चौधरी गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अचर्यालका अनुसार रामजलन र उनका छोरा अर्जितको दाहिने खुट्टा भाँचिएको छ भने नाति आरुषको दाहिने खुट्टा घुँडादेखि चुँडिएको छ ।
घाइते तीन जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि थप उपचारको लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको डिएसपी अर्यालले बताए ।
दिउँसो साढे २ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ भमके खोलामा उक्त दुर्घटना भएको थियो । पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु १ च ४९६७ नम्बरको बोलेरो र पश्चिम तर्फ जाँदै गरेको रा ७ प ३१०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने गाडी चौधरी कार्यरत एकता पोल्ट्री प्रालिकै हो । एउटा गोडा चुँडिएका ३ बर्षीय आरुष चौधरीका बुवापनि सोही एकता पोल्ट्री प्रालिमै कार्यरत रहेको प्रहरीले जानकारी दिएको छ ।
