तुलसीपुर,पुस १९ । दाङ तुलसीपुरमा लागु औषध प्रयोगकर्ताको संख्या बढ्दो क्रममा रहेको तथ्याङकले देखाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरको तथ्याङ्क नियाल्दा दैनिक सार्वजनिक हुने घटनाहरुमा लागु औषधसहित प्रक्राउ पर्नेहरुको संख्या बढ्दै गएको देखिएको हो ।
चालु आर्थिक वर्ष २०७८÷०७९को असार मसान्तदेखि पुस १८ गतेसम्म तुलसीपुर क्षेत्रबाट मात्रै प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित २० वटा मुद्दा दर्ता भएका छन भने ४७ जना प्रक्राउ परेका छन ।
उनीहरुको साथबाट ४५ ग्राम २३० मिली ग्राम ब्राउन सुगर, ३१४ ट्याबलेट (इन्ट्राभेट १०), ६० ग्राम (गाँजा) जफत गरिएको कार्यालय प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
तुलसीपुरमा गत वर्षको तुलनामा यो वर्ष लागु औषध प्रयोगकर्ता र मुद्दाको ग्राफ ह्वात्तै बढेको देखिएको छ । बितेको आर्थिक वर्ष २०७७÷०७८ मा असार मसान्तदेखि पुस १८ गतेसम्म ७ जना मात्रै पक्राउ परेको प्रहरी तथ्याङ्कले देखाउँछ ।
त्यो अबधिमा तुलसीपुर क्षेत्रबाट ५ ग्राम ९१३ मिलि ग्राम ब्राउन सुगर, ३४५ ट्याबलेट (इन्ट्राभेट १०), १११ ट्याबलेट (ट्रामाडोल) र २५८० किलो गाँजा सहित ७ जना प्रतिवादी प्रक्राउ परेका थिए । लागु औषधमा अधिंकाश युवा–युवती फसेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
