
तुलसीपुर , पुस ८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले राष्ट्र प्रमुखको रुपमा संबैधानिक राज संस्था र जनताले प्रत्यक्ष चुनेको कार्यकारी प्रधानमन्त्री सहितको ब्यबस्था देशको आजको आवश्यक रहेको बताएका छन् ।
दाङको तुलसीपुरमा बिहीबार राप्रपा दाङले आयोजना गरेको सार्वजनिक सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देलले त्यस्तो बताएका हुन ।
उनले भने ‘अब सब भन्दामाथि राष्ट्र प्रमुखको रुपमा राज संस्था हुनुप¥यो र जनताले सोझै निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री हुनुप¥यो। ’ त्यस्तै उनले हिजो यो देशको सारा पर्गतिको बाधक राजसंस्था हो भन्दै देशले प्रगति र गति लिन सकेन भनेर दोष लगाइएको भएपनि १४ बर्षसम्म दलहरुले कुनैपनि चित्त बुझ्दो काम गर्न नसकेको बताए ।
‘ हिजो हामीले तिरको सबै कर राजा र राजसंस्था पाल्नमै खर्च हुन्छ र अलिअली बचेको पैंशा सबै स्वीजरल्याण्डको बैंकमा रानीको नाममा राखेको छ भन्ने गरिन्थ्यो,’ उनले अगाडि भने ‘ त्यो पैंशा मात्रै फर्काएर ल्याइयो भने हरेक नेपालीलाई चार पाँच बिगाहा जग्गा र पाँच पाँच तोला सुन पुग्छ भनियो । तर, आज राज संस्थाको अन्त्य भएको १४ भयो, आज नेपाली जनताले दलहरुलाई सोध्ने बेला भएन खै राजा रानीको नाममा स्वीजरल्याण्डमा जम्मा भएको पैंशा फिर्ता ल्याएको ?’
अध्यक्ष लिङदेलले देशमा गणतन्त्र आएपछि उल्टो नेपालीहरुले झन्डै ७७ अर्ब रुपैंया जम्मा गरेको कुरा आफुले सुनेको बताए ।
गणतन्त्र आएपछि नेपालमा कुनै राजा नभएपनि त्यो अवस्थाले नेपालमा को नयाँ राजा को जन्मिए छ ? भनेर प्रश्न गरे । स्वीजरल्याण्ड बैंकको पैंशा फिर्ता गर्न सके मात्रै देशलाई कुनैपनि एमसिसीको आवश्यक्ता नपर्ने उनको भनाई थियो ।
‘त्यतिखेर नेपालीले राजसंस्थालाई महंगो संस्थाको रुपमा सम्झेको र त्यही ढंगले प्रचार गरिएपनि आज राजसंस्था महंगो रहेछ कि राष्ट्रपतिको संस्था महंगो रहेछ ?’ उनले प्रश्न गरे ।
हिजो एउटा राजा पाल्नु परेपनि आज धेरै राजा पाल्दा झनै समस्या भएको उनले दाबी गरे । उनले भने ‘हिजो राज संस्थालाई दिने सुबिधा त अहिलेको राष्ट्रपतिलाई पनि दिनुपर्ने रहेछ ।’
हरेक पाँच बर्षमा फेरिने राष्ट्रपतिले त्यसैगरी सुबिधा उपभोग गर्ने गरेको भन्दै उनले आलोचना गरे ।त्यस्तै उनले राष्ट्रपतिको निष्पक्षताको भूमिकामा पनि प्रश्न गरे । रामवरण यादब राष्ट्रपति हुँदा बढी काँग्रेसको भएको र काँग्रेस भित्रपनि सुशील कोईरालाको जस्तो देखिएको जस्तै गरि अहिलेको राष्ट्रपति बिद्यादेवीपनि बढी एमालेको र एमाले भित्रपनि केपी गुटको मात्रै बढी जस्तो देखिएको हुँदा राजाले कहिलै त्यस्तो भूमिका नखेलेको जिकिर गरे ।
उनले यादव भारतीय दुताबास नजिक र भण्डारी चीनिया दुतावासको नजिक रहेर काम गर्ने गरेको आरोपपनि लगाए ।
लोकतन्त्र र जनताको सर्वौच्चताको नाममा दलहरुले लुट मच्चाएको उनको आरोप थियो । वाइडबडी र बालुवाटार जग्गा प्रकरणले हरेक दलले सिन्डिकेटका रुपमा भ्रष्टचार गरेको उनको आरोप थियो ।
अध्यक्ष लिङ्देलले संसद पूर्ण समानुपातिक र सांसदहरु मन्त्री हुन नपाउने ब्यबस्था लागु हुनुपर्ने बताए । त्यस्तै देशले दिने सेवा सुबिधा जातको आधारमा नभइ गरिबले पाउने ब्यबस्थाको हुनुपर्ने उनले जोड दिए । संबैधानिक अंगहरुमा नियुक्ति योग्यता र क्षमताको आधारमा हुनुपर्ने जोड दिए ।

समानुपातिक प्रनालीले बिकृतिहरु जन्माएको भन्दै अध्यक्ष लिङ्देलले नेताहरुले पैंशा लिएर गोजीबाट सांसद बनाइदिने ब्यबस्थाले गर्दा ठूलो समस्या पैदा गरेको बताए । उनले निश्चित योग्यता भएका ब्यक्तिहरु मात्रै समानुपातिकमा आउनु पर्ने र त्यो पनि ऐन कानुन बनाउने कार्यमा मात्रै उनीहरुलाई प्रयोग गर्ने गरि पठाउने ब्यबस्थाको पक्षमा राप्रपा रहको बताए ।
देश आँखाले देखेको जस्तो नभइ इतिहासकै कमजोर अवस्थामा रहेको र यही अवस्था कायमै रहे नेपाल सिक्किम बन्ने उनले चिन्ता जाहेर गरे । उनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा काँग्रेस कम्युनिष्टले देश बन्धक बनाइ रहेको दाबी गरे ।
संबैधानिक राजसंस्था र हिन्दु राष्ट्र फाल्न नचाहेपनि गिरिजा, माधव नेपाल र प्रचण्डले बदमासी गरेको उनले भनाई थियो ।
देशमा गणतन्त्र आएको १४ बर्षको अबधिमा काँग्रेस एमालेले देशको कुनैपनि स्थानमा पाँच हजारले रोजगारी पाउने गरि उद्योग धन्दा स्थापित गर्न नसकेको र उनीहरुले भएका कलकारखानाहरु नीजि करणको नाममा बेचेर खाने काम मात्रै गरेको भन्दै आलोचना गरे ।
राज्यले आँफै ५५ लाख नेपालीहरु बैदेशिक रोजगारीमा रहेको कुरा आज भनिरहेको भन्दै अध्यक्ष लिङ्देलले दलहरुले राजसंस्थालाई दोष लगाए जसरी भाइ छोराहरुले गरि खाने र समतामुलक समाज निर्माण गर्नको लागि कुनैपनि एउटा गतिलो काम गरेर देखाउन नसकेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका उपाध्यक्ष धुर्बबहादुर प्रधान, महामन्त्री धवल सम्शेर जवरा लगाएतले नेपाली काँग्रेस, कम्युनिष्ट जस्ता दलहरुले लोकतन्त्र र गणतन्त्रको नाममा देशलाई बन्धक बनाएको आरोप लगाएका थिए ।
उनीहरुले देशको संबृद्धि, विकाश र स्थायित्वका लागि संबैधानिक राजसंस्था आवश्यकता रहेको बताएका थिए ।
राप्रपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका अध्यक्ष सुदिप उदय, केन्द्रीय सदस्य दामोदर भण्डारी लगाएतले सम्बोधन गर्दै काँग्रेस कम्युनिष्टले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चाएको बताएका थिए ।
((
