दाङ, पुस ७ । रोल्पामा मध्यरातमा संगै सुतेका साथी नै रड प्रहार गरि तीन जना साथीलाई गम्भीर घाइते तुल्याएका छन् ।
जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं. ७ का ३९ बर्षीय सरोज पुन, ४२ बर्षीय भिमबहादुर थापा र रुकुम पश्चिमको सानी भेरी गाउँपालिका ४ घर भइ हाल नेपालगन्ज उपमहानगरपालिका १२ मा डेरा गरि बस्ने ४३ बर्षीय मैतबहादुर बिक गम्भीर घाइते भएका छन् ।
प्रहरीले घाइते तीनै जनाको अवस्था गम्भीर रहेको बताएको छ । घाइते मध्य थापा र बिकको बाँकेको कोहलपुरमा र पुनको भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुमाथि रुन्टीगढी ९ का ४६ बर्षीय टेकबहादुर वलीले मध्य रातमा सुतेकै अवस्थामा रड प्रहार गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरले जानकारी दिए ।
घटना पछि फरार रहेका वलीलाई प्रहरीले बुधबार मध्यान्ह १२ बजे तिर रुन्टीगढी ५ हातखोला भन्ने स्थानबाट नियन्त्रणमा लिन सफल भएको डिएसपी घिमिरेले बताए ।
उनीहरु संगै मंगलबार राति रुन्टीगढीको होलेरी बजारस्थित ‘होलेरी गेष्ट हाउसमा’ बास बसेका थिए । सबै एउटै कोठामा सुतेका थिए ।
मध्यरातमा वलीले तीन जना साथीहरु माथि एकाएक रड प्रहार गरी गम्भीर घाइते तुल्याएको कुरा खुल्न आएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान करिब साढे ३ बजेतिर मात्रै प्रहरी होटेलमा पुगेको थियो । जतिखेर तीनै जना रगताम्मे र अचेत अवस्था कोठामा फेला परेका थिए । प्रहरीले उद्धार गरि राति नै थप उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याएको जानकारी दिएको छ ।
त्यहाँपनि उपचार संभव नभएपछि फेरि भैरहवा र कोहलपुर लैजाउनु परेको डिएसपी घिमिरेले जानकारी दिए ।
घाइते सबैको टाउको र अनुहारमा गहिरो घाउ खत रहेको सबै जना अचेत रहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले फलामको रड फेला पारेको छ ।
त्यस्तै घाइते मध्य थापाको रा ४ प २५०० नम्बरको मोटरसाईकल दाङको घोराही उपमहानगरपालिका वडा नं. १२ स्थित हापुर खोलाबाट बरामद भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको हेलमेट भने फेला परेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
