तुलसीपुर, फागुन २५ । ऐतिहासिक भोटे मेला ब्यूँताउन भन्दै बुधवारदेखि पर्सेनीको काला खोलामा भोटेमेला लगाउन थालिएको छ । यहाँ फागुन २६ गतेदेखि चैत २ गतेसम्म मेलो लगाइदै छ । मंगलबार काला खोलामा पुग्दा मेला सञ्चालन गर्ने भनिएको स्थलमा बिभिन्न तयारीहरु भइरहेको थियो ।
मेला स्थलमा जम्मै बाहिरी जिल्लाबाट आएका ब्यक्तिहरुले मनोरञ्जनका लागि बिभिन्न उपकरण र खेल सामाग्रीको ब्यबस्थापन गरिरहेको देखिन्थ्यो । तत्कालिन समयमा हिमाली जिल्ला भोट (जुम्ला, हुम्ला) लगाएतका जिल्लाबाट जाडो छल्न र घोडाका ब्यापार गर्न पर्सेनीमा मानिसहरु भेला हुन्थे ।
उनीहरुले हिमाली तथा पहाडी औषधीय गुण भएका बहुमुल्य जडीबुटी ल्याएर यहाँ बेच्थे । दाङको बाटो हुँदै हिमाली भेगका मानिसहरु छिमेकी देश भारत सम्म पुग्ने गर्दथे । त्यहाँबाट नुन, मट्टीतेल, लत्ता कपडा बर्ष दिनका लागि किनेर लैजान्थे । त्यसरी आउँदा जाँदा दाङको पर्सेनी पनि एउटा बिसौनी थियो ।
जहाँ बसेर मानिसहरु आफ्ना स्थानीय उत्पादनहरु भिडाउँथे, बेच्थे । कालाखोला आफ्ना उत्पादन बिक्रि बितरण गर्ने एउटा बजार थियो ।त्यसले पर्सेनको कालाखोला तत्कालिन समयमा पनि हिमाल, पहाड र तराईको जीवन सैली प्रतिबिम्बित गर्ने गर्दथ्यो ।
हिमाल, पहाड र तराईलाई भावनात्मक एकतामा जोड्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने गर्दथ्यो । तर, आज काला खोलामा ऐतिहासिक मेला लाग्ने स्थल सबै अतिक्रमण भइसकेको छ । आसपासमा व्यक्ति बिशेषका ठूला र आधुनिक भवनहरु निर्माण गरिएका छन् ।
मेलास्थल नजिकै शवदाहा स्थलपनि छ । नजिकै मेलाको उत्साल भइरहने हुँदा यो बीचमा कसैको मृत्यु भएपनि शवको अन्त्येष्टिका लागि काला खोलामा नल्याउन मेला आयोजकहरुले आग्रह गरेका छन् ।