
दाङ, भदौ २३ ।
सल्यानमा पहिरोमा परि भलिबल खेरेर घर फर्किदै गरेका एक जना किशोरको मृत्यु भएको छ । अर्का एक जना किशोर घाइते छन् ।
जिल्लाको त्रिवेणी गाउँपालिका–३ लोटाउनेका १७ वर्षीय मदन पुनको उपचारका क्रममा मंगलबार बिहान १ बजेपछि जिल्ला अस्पताल खलंगामा मृत्यु भएको जिल्ला प्रबक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले बताए ।
प्रहरी निरीक्षक भट्टराइका अनुसार भलिबल खेली सकेर लाग्ने मेला हेरी सोमबार राति करिब १० बजे पैदल दुई साथी घर फर्किदै थिए । त्यही क्रममा जिल्लाको कपुरकोट गाउँपालिका–५, खारखोला माथि बाट झरेको पहिरोले उनीहरुलाई पुरेको थियो ।
राप्ती राजमार्गमा पैदल हिडिरहेका उनीहरुलाई खारखोलाको अरिङ्गाले फेदी माथिबाट झरेको पहिरो संगै झरेको रुखले च्यापेपछि पुन गम्भीर घाइते भएका थिए । घटना बारे मृतक पुनका साथीले प्रहरीमा खबर गरेका थिए ।
सोही पहिरोमा परी त्रिवेणी गाउँपालिका–३ कै १८ वर्षीय सुनिल थापा पनि घाइते भएका थिए । उनको बायाँ हात र खुट्टामा चोट छ । थापाको कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा उपचार जारी छ । उनको अवस्था सामान्य उन्मुख रहेको रहेको प्रहरीले जनाएको छ ।

घटना बारे थाहाँ पाएपछि इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरी टोलीले पुनको उद्धार गरी श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पताल र्पुयाएको थियो । अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको भएपनि टाढाको सुर्खेत नलगी आफन्तले जिल्ला अस्पताल खलंगामा पुर्याएका थिए ।
त्यही उपचारका क्रममा राति १ बजेपछि पुनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण रातभर राप्ती राजमार्ग अबरुद्ध बनेको थियो । सल्यान कपुरकोटको खारखोला र दाङ तुलसीपुरको चोरखोला नजिकै झरेका पहिरो पछाएका कारण बिहान ९ बजेदेखि सवारी साधन संचालनमा आएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक टपेन्द्र घर्ती मगरले बताए ।
