
नेपालका तराई जिल्लाबासीले आज होली पर्व हर्षोल्लासका साथ मनाइरहेका बेला रंगहरुको पर्वको यो रौनकमा प्रवासमा रहने नेपालीहरुले पनि होलि पर्व धुमधाम सहित मनाएका छ्न ।
अमेरिकाको न्यूयोर्कमा होली मनाइएको छ । नेपाली संस्कृतिको जगेर्ना गर्न र प्रवासमा नेपाली मौलिकता बचाइ राख्न राप्ती सेवा समाज, न्यूयोर्कले होली विशेष कार्यक्रमको आयोजना गरेको हो ।
बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व अर्थात् होली परम्परागत रूपमा विभिन्न रंग दलेर मनाउने र यो पर्वलाई असत्यमाथि सत्यको विजयको प्रतीक र पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा लिने गरेको समाजका अध्यक्ष दिपक भट्टराईले बताए।
होली कार्यक्रममा सहभागीहरूले परम्परागत शैलीमा होली खेलेको र होली रङ खेल्ने पर्व मात्र नभई आपसी प्रेम, मित्रता र सामाजिक एकताको सन्देश दिने भएकाले होलीको रौनक सँगै नेपाली संस्कृतिको झल्को अनुभूति गरेका थिए ।























