२०८२ मङ्सिर २० गते शनिवार

एकै दिन भन्सार छलीको २० लाख बढीको दाल बरामद

दाङ, मंसिर २०। बाँके प्रहरीले २० लाख ३४ हजार मूल्य बराबरको भन्सार छलेर ल्याएको सामान पसलबाट बरामद गरेको छ ।

जिल्लाको नेपालगंज उपमहानगरपालिका – १ गुलरिया बसपार्क नजिकको मुबारक अहमद कडरियाको पसल बाट बिहीबार एक हजार एक सय ३० बोरीको ३३ हजार नौं सय किलोग्राम मटरको दाल बरामद गरि जफत गरेको हो ।

जिल्लाका निमित्त प्रबक्ता रमेश बिष्टका अनुसार हालको प्रचलित बजार मूल्य अनुसार बरामद गरिएको दाल २० लाख ३४ हजार मूल्य बराबरको रहेको छ । बरामद दालसहित मुस्कान ट्रेडर्सका संचालक कडरियालाई प्रहरीले पक्राउ पछि आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाएको प्रहरी निरीक्षक बिष्टले बताए ।

मंसिर १७ गते मात्रै बाँके प्रहरीले बिभिन्न स्थानबाट भन्सार छली ल्याएको च्याउ, चिनी र चामल गरि एक लाख ७० हजार पाँच सय मूल्य बराबरको सामाग्री जफत गरेको थियो । मंसिर १४ गते नेपालगंज – १३ बुलबुलियाका कजिम कबडियालाई भन्सार छली ल्याएको २७ हजार बराबरको त्रिपाल लगाएतका सामाग्री बरामद गरेको थियो ।


त्यस्तै मंसिर १३ गते नेपालगंजको बिभिन्न स्थान बाट भन्सार छली ल्याएको काँचो कपडा, बिभिन्न मोटर पाट्र्स, चिनी, खाद्यन्न र पिय पदार्थ माउन्टेन ड्यूसमेत गरि ६ लाख ७७ हजार पाँच सय मूल्य बराबरको सामाग्री जफत गरेको थियो ।


मंसिर ११ गते नेपालगंज – १८ भुजइगाउँको रामबिलाश वर्णवालले संचालन गरेको आकाश राइस मिल तथा फ्लोरमा प्रहरीले छापा हानेको थियो । उक्त मिलबाट भन्सार छली गरि ल्याइएको अवस्थामा चामल, दाल र तेल गरि एक लाख २६ हजार तीन सय मूल्य बराबरका ती सामाग्री जफत गरेको थियो ।


त्यस्तै मंसिर ६ गते नेपालगंजका बिभिन्न स्थानबाट भन्सार छली ल्याएको अवस्थामा वासिङ मेसिन, कुलर लगाएतका सामाग्री अन्दाजी मूल्य ४८ हजार बराबरका सामाग्री बरामद गरेको थियो ।

मंसिर ३ गते भन्सार छली ल्याएको सुपरवाला सुर्ती, लेडिज कुर्ता सुरुवाल, जेन्स पर्स, बेल्ट, चामल, दाल, केराउ, डिजिटल तराजु, सिलाउने मेसिन लगाए गरि झन्डै चार लाख ७४ हजार बराबरका सामाग्री बरामद गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले बताएका थिए ।


सोही दिन नै प्रहरीले नेपालगंज – १ धम्बोझीबाट भारतबाट अबैद्य रुपमा ल्याइएको २४ किलोग्राम माछा जफत पछि आवश्यक कारबाहीका लागि पुश क्वारेन्टाइन नेपालगंजमा पठाएको थियो । मंसिर १ गते बाँके प्रहरीले बिभिन्न स्थानबाट जुत्ता, सुर्ती, तरकारी,भेली लगाएत बिभिन्न एक लाख ३८ हजार बढीका सामाग्री जफत गरेको थियो ।

बरामद गरिएको सबै ती सामाग्री आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाउँदै आइएको छ । जिल्ला प्रहरी प्रबक्ता पातलीका अनुसार बितेको १९ दिनको अवधिमा बाँके प्रहरीले ३७ लाख बराबरको भन्सार छलीको रामाग्री जफत गरेको छ ।


पछिल्लो समय भन्सार कार्यालयका साथै ठूला पसल तथा गोदाममा पनि प्रहरीले छापान हानेर सामान जफत गरि रहेको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *