डा. सुदीप गौतम
नेपालमा प्रजातन्त्र स्थापनार्थ भएको आन्दोलनलाई भारतीय स्वतन्त्रता आन्दोलनले पनि ठूलो ऊर्जा थपेको थियो । किनकि थुप्रै नेपाली युवाहरु अध्ययनका लागि भारतका विभिन्न शिक्षा केन्द्रहरुमा गएर विद्या हासिल गर्दथे । यस्तै शिक्षाको सिलसिलामा भारतमा गएका युवाहरुले नै दाङको आन्दोलन सञ्चालन गरेका थिए ।
अध्ययनको सिलसिलामा बनारस गएका दाङका भरतमणि शर्मा नेपाली कांग्रेस गठन हुनुपूर्व नै सन् १९४६ मा गठित नेपाली छात्र संघको संस्थापक सदस्य थिए । त्यसैगरी वि.सं. २००३ माघ १२ र १३ गते कलकत्तामा सम्पन्न नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्न आयोजित सम्मेलनमा पनि दाङबाट भरतमणि शर्माले प्रतिनिधित्व गरेका थिए (अधिकारी, २०५९, पृ. ३२) ।
नेपाली राष्ट्रिय कांग्रेस गठन भइसकेपछि त्यहाँ पढ्न गएका दाङका युवाहरु टेकनाथ गौतम, गणेशकुमार शर्मा, मिनकेतन शर्मा, अमरराज शर्माले राष्ट्रिय कांग्रेसको सदस्यता लिई दाङ फर्किए र गुप्त रुपमा सङ्गठन निर्माणमा लागे (गौतम, २०५०, पृ. ९१) । तेरौटेका खगराज लोहनी आर्य समाजका सदस्य थिए । उनी आर्य धर्मको प्रचारमा थिए । उनको कार्यथलो प्यूठान थियो तापनि दाङमा एकाध पर्चा छरिरहन्थे ।
२००० सालमा सूर्यप्रकाश गिरी र यिनै युवाहरुको सक्रियताबाट एउटा स्कूल खोलियो तर २० दिनमै अनुमति नलिएको भनेर जुद्ध शमशेरले बन्द गराइदिए । स्कूल बन्द भए पनि पढाइ बन्द भएन । युवाहरुले त्यो अभियान जारी राखे । यसै सिलसिलामा २००३ साल चैत्रमा तेरौटे खगराज लोहनीको घरमा जम्मा भएका युवाहरुले एउटा संस्था गठन गरे । अमरराज शर्मा अध्यक्ष तथा भरतमणि शर्मा सचिव रहेको सङ्गठनको नाम राखियो ‘नव युवक संघ’ ।
बाहिर नव युवक संघ नाम राखे पनि त्यो नेपाली राष्ट्रिय कांग्रेस दाङ देउखुरी कमिटी नै थियो र त्यसमा टेकनाथ गौतम, खगराज लोहनी, गणेशकुमार शर्मा, जीवराज आचार्य, लालमणि गौतम, मिनकेतन शर्मा, केशवराज पुर्कोटे, मेघराज योगी र हिरण्यलाल पन्त सदस्य रहेका थिए (गौतम, २०५०, पृ. ९१) ।
यो सङ्गठन नै दाङमा गठित पहिलो राजनीतिक सङ्गठन मान्न सकिन्छ । यसले गुप्त रुपमा सङ्गठन निर्माण सुरु ग¥यो । बाहिर भने उद्देश्य राखियो विद्यालय र सार्वजनिक पुस्तकालय सञ्चालन गर्ने (दा. दे. क्रा. चे. इ., २००९, पृ. ५) । यो कमिटी गठन गरिसकेपछि पहिलोपटक दाङ कांग्रेसले नेपाली कांग्रेसको सम्मेलनमा संस्थागत प्रतिनिधित्व ग¥यो । २००३ साल चैत्र २७ र २८ गते जोगबनीमा भएको पार्टी प्रतिनिधि सम्मेलनमा दाङ कांग्रेसबाट प्रतिनिधित्व गर्दै भरतमणि, गणेशकुमार, अमरराज, खगराज र टेकनाथ सहभागी भएका थिए (गौतम टेकनाथ, २०६४) ।
त्यसको झन्डै एक वर्षपछि २००४ साल माघ २०, २१ र २२ गते बनारसमा नेपाली राष्ट्रिय कांग्रेसको दोस्रो अधिवेशन सम्पन्न भयो । त्यो अधिवेशनमा यी पाँचजनाका अतिरिक्त मिनकेतन शर्मा पनि सहभागी भएका थिए (गौतम टेकनाथ, २०६४) । २००५ साल फागुन १८, १९ र २० गते भारतको दरभंगामा नेपाली राष्ट्रिय कांग्रेसको तेस्रो अधिवेशन सम्पन्न भयो । त्यस अधिवेशनमा भरतमणि शर्माले दाङ कांग्रेसको प्रतिनिधित्व गरेका थिए ।
त्यसैगरी २००६ साल चैत्र २७ गते कलकत्तामा भएको चौथो एकता महाधिवेशनमा भरतमणि र गणेशकुमार सहभागी भएका थिए । २००७ साल आश्विन १० र ११ गते भारतको बैरगनियामा कांग्रेसको सम्मेलन भएको थियो । यही सम्मेलनले नेपालमा सशस्त्र आन्दोलन गर्ने निर्णय गरेको थियो । त्यस बैरगनिया सम्मेलनमा दाङबाट भरतमणि, अमरराज, गणेशकुमार, खगराज र टेकनाथ सम्मिलित भएका थिए ।
नेपाली कांग्रेसको आह्वानमा २००७ साल कार्तिक २६ गते भाइटीकाको दिनदेखि नै क्रान्ति प्रारम्भ भयो । क्रान्तिको समयमा फेरि नव युवकहरु तेरौटेमा भेला भए । त्यहाँ सशस्त्र क्रान्ति गर्ने कि नगर्ने भन्ने बहस चल्यो । गणेशकुमार, भरतमणि आदि सशस्त्र क्रान्तिको पक्षमा र अमरराज, खगराज आदि विपक्षमा थिए । लामो छलफलपछि टेकनाथ गौतमले ‘आर्जवं ही कुटिलेषु न नीति ः’ भनेपछि भेलाले क्रान्तिमा जाने निर्णय ग¥यो ।
काम बाँडफाँड भयो, अमरराजले लखनउमा रहेका सूर्यप्रकाश उपाध्यायलाई भेट्ने, भरतमणिले पटनामा बीपी कोइरालालाई भेट्ने, गणेशकुमारले बनारसमा मातृकाप्रसाद कोइरालालाई भेट्ने र टेकनाथले भैरहवामा के.आई. सिंहलाई भेट्ने (गौतम टेकनाथ, २०६४) । सबैले आ–आफ्नै ढङ्गले जिम्मेवारी पूरा गरे । अरु दाङ फर्किए पनि भरतमणि दाङ फर्किएका थिएनन् ।
दाङमा क्रान्तिको सुरुवात कोइलाबास आक्रमणबाट भयो । २००७ साल पौष ११ गते राति कोइलाबासबाट सुरु भएको थियो । पौष ११ गते कोइलाबास आक्रमण सुरु हुँदा दाङ कांग्रेससँग कुनै हतियार थिएन, खाली उत्साह थियो । यही उत्साहबिच भरतमणि, काँसीराज गौतम र शेरबहादुर शाहीले लखनउबाट केही नक्कली हतियार र पटाका लिएर कोइलाबास आएका थिए ।
त्यहाँ छन्दबहादुर शाह (रणबहादुर शाहका दाजु) ले एउटा आफ्नो र एउटा त्यहीँको व्यापारीको गरी २ वटा बन्दुक दिए । त्यही बन्दुकबाट नेपाली कांग्रेस दाङले क्रान्ति सुरु ग¥यो तर स्वयम् तत्कालीन जनसरकारका प्रचारमन्त्री काँसीनाथ गौतमले जम्मा ७ नाल भरुवा बन्दुकहरु मात्र जम्मा भएको भनेका छन् (युगवाणी, २००७, पृ. ८) ।
दाङ देउखुरीको क्रान्ति २००७ साल पुष ११ गते कोइलाबासबाट सुरु भई पुष १५ गते बिजौरी माल कब्जा गरेपछि सम्पन्न भएको मान्न सकिन्छ । यस क्रान्तिमा धेरै अगुवा सक्रिय भए ।
विद्वान् लेखकले उल्लेख गरेअनुसार यस क्रान्तिमा तयारीदेखि जिल्ला मुक्त गर्दासम्म संलग्नतामा नेवबहादुर मल्ल, गणेशकुमार शर्मा, भरतमणि शर्मा, यज्ञबहादुर खाँड, केशरजंग रायमाझी, नरबहादुर शाह, रणबहादुर शाह, खिमबहादुर शाह, छन्दबहादुर शाह, टेकनाथ गौतम, खगराज लोहनी, काँसीराज उपाध्याय, जुद्धबहादुर न्यौपाने, क्याप्टेन धर्मबहादुर थापा, दामोदर शर्मा, वासुदेव शर्मा (अधिकारी, २०५८), शेरबहादुर शाही, भक्तबहादुर चौधरी, फत्यबहादुर खड्का, टेकबहादुर खड्का, जोखन चौधरी, ज्योतिसिंह ठकुरी, मेहरमान क्षेत्री, राइटर हरिप्रसाद शर्मा, झग्गुप्रसाद, मणिराम लामिछाने, शेरबहादुर कार्की, डम्मरबहादुर शाह, ललितबहादुर शाह, तिलकबहादुर डाँगी, मोहनप्रसाद मजगैयाँ रहेका छन् ।
त्यसैगरी मोहनलाल शर्मा, जागेश्वर शर्मा ब्राह्मण (बस्नेत, २०६६), भोजराज शर्मा, भेषराज शर्मा, बामदेव शर्मा, गिरिराज शर्मा, लालमणि गौतम, ऋषिराज शर्मा, प्रयागनारायण मिश्र, जगन्नाथ गुप्ता, खड्गबहादुर राना, केशवकुमार शर्मा, लोकबहादुर न्यौपाने, मास्टर लक्ष्मीचन्द्र, चक्रबहादुर ठकुरी, तिलकराम खजाञ्ची, खिलतबहादुर शाह, मेघराज न्यौपाने (शर्मा, २०५५), राइटर डम्मरबहादुर केसी, देवीप्रसाद मजगैयाँ, मेधनीराज शर्मा (डाँगी, २०६८), घनश्याम पाण्डे, लेखनाथ, पर्शाका बाबाहरु हवल्दार मनवीर गुरुङ, रेश्मीराज आचार्य, दीपराज गौतम, गोपेन्द्रभूप शाह, केशवराज पुर्कोटे, तिलकराम धिताल, जगन्नाथ उपाध्याय, खिमबहादुर बुढाथोकी, भूपेन्द्रेश्वर श्रेष्ठ, रोमहर्ष आचार्य, हिरण्यराज शर्मा, शान्तराज अधिकारी, चूर्णबहादुर वली (गौतम, २०५०) संलग्न भएको पाइन्छ ।
क्रान्तिपछि २००८ साल जेठ गते नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमिति गठन भयो । जसको सभापति टेकनाथ गौतम, उपसभापति जीवराज शर्मा, मन्त्री अमरराज शर्मा, सहमन्त्री दामोदर शर्मा, कोषाध्यक्ष मिनकेतन शर्मा रहेका थिए (गोरखापत्र २००८ जेठ १६) भने सदस्यहरु शेरबहादुर थापा, देवीप्रसाद मजगैयाँ, दीपराज गौतम, गोपेन्द्रभूप शाह, खगराज लोहनी र तिलकराम धिताल रहेका थिए (गौतम, २०५०, पृ. ७२) । यसरी क्रान्ति सफल भएपछि त्यसलाई व्यवस्थापन गर्न २००७ साल पौष १५ गते नेपाली कांग्रेस प्रान्तीय जनसरकार गठन गरियो (दा. दे. क्रा. चे. इ., २००९, पृ. ९) ।
धर्मबहादुर थापा गभर्नर, गणेशकुमार शर्मा प्रधानमन्त्री, टेकनाथ गौतम गृहमन्त्री, शेरबहादुर शाही रक्षामन्त्री, विक्रमबहादुर शाह स्वास्थ्यमन्त्री, दामोदर शर्मा अर्थमन्त्री, अमरराज शर्मा शिक्षामन्त्री, रामप्रसाद श्रेष्ठ यातायातमन्त्री (हृदयघात भई २००७ फागुन १९ मा निधन), काँसीराज उपाध्याय सूचना तथा प्रसारमन्त्री, खगराज लोहनी खाद्यमन्त्री आदि रहेको प्रान्तीय जनसरकार गठन गरियो । यो जनसरकार २००७ साल फागुन २५ गते पुनर्गठन भयो । पुनर्गठित जनसरकारमा २ जना प्रधानमन्त्री थिए र जनसरकार यस प्रकार थियो ।
गभर्नर धर्मबहादुर थापा, प्रधानमन्त्री गणेशकुमार शर्मा र दामोदर शर्मा, रक्षामन्त्री नरबहादुर शाह, स्वास्थ्यमन्त्री प्रयागनारायण मिश्र, अर्थमन्त्री हुर्मतबहादुर क्षेत्री, शिक्षामन्त्री मेघराज शर्मा, यातायातमन्त्री गिरिराज शर्मा, प्रसारमन्त्री जीवराज आचार्य, खाद्यमन्त्री मेहरमान खड्का, वन विभाग जनकनारायण शाह, निर्माण विभाग नारायणप्रसाद चन्द, उद्योग विभागमा लालमणि गौतम रहेका थिए ।
२००८ साल जेठ ३ गते दाङ छुट्टै गोश्वारा (जिल्ला) घोषणा भई गोश्वारा कार्यालय खुल्यो । जनसरकारले आफ्नो सम्पूर्ण जिम्मेवारी दाङ देउखुरी गोश्वाराका पहिलो बडाहाकिम अनिरुद्धप्रसाद सिंहलाई सुम्पेपछि जनसरकारका सबै अया स्वतः नयाँ गोश्वारा कार्यालयमा सरे । जनसरकारको न्यायालयका प्रक्रियामा रहेका सबै मुद्दा डुडुवा पहाड अमिनीमा सरे । सँगसँगै जनसरकारका न्यायालय प्रमुख खिमबहादुर बुढाथोकी पनि डुडुवा पहाड अमिनीमा हाकिम भए ।
२००७ साल पौष १४ गतेका दिन नेपाली कांग्रेसका सहयोगमा फलाबाङ राज्यकै जनताले त्यहाँका अया तोडी राज्य भन्ने नाम खारेज गरी ११२ वर्षदेखि खण्डित भएको दाङलाई अखण्ड गराएका थिए । चार महिनासम्म जनसरकारले राज्य र शेष दाङको शासन एउटै अयाबाट चलाएको थियो । जनसरकार विघटन भएपछि राज्य र शेष दाङ देउखुरी, कोइलाबासको निमित्त दाङमा २००८ साल जेठ ३ गते नयाँ गोश्वारा खडा भएपछि फलाबाङ राज्य र शेष दाङको शासन गोश्वाराबाट सञ्चालन हुन सुरु भएको थियो तर स्थिति अलि सरल हुँदै गएपछि फलाबाङी राजा पुनः क्रियाशील भए र उनले २००८ साल भदौमा पश्चिम दाङको प्रशासन आफैँ सञ्चालन गर्ने गरी अया सार्न खोजे (युगवाणी २००८, पृ. ९) ।
राजाले अया सार्न खोजेको भनी सर्वप्रथम २००८ साल भाद्र ७ गते दाङमा जनताको तर्फबाट विरोध गरियो । दाङको आन्दोलनलाई समर्थन गर्दै काठमाडौँमा २००८ साल भाद्र २२ गते विशाल प्रदर्शन भयो (युगवाणी, २००८, पृ. ४) । केदारमान व्यथितको नेतृत्वमा भएको त्यस प्रदर्शनमा करिब २५ हजार नागरिक सहभागी थिए । भाद्र २२ गतेको काठमाडौंमा भएको प्रदर्शनले दाङको आन्दोलनमा निकै ठूलो सहायता पुग्यो । अर्थमन्त्री सुवर्ण शमशेरले तत्काल अया सार्न नदिनु भनेर दाङ देउखुरी गोश्वारामा सर्कुलर गरे र अया सार्ने क्रम रोकियो ।
राणा कांग्रेस संयुक्त मन्त्रिमण्डलमा खिचलो उत्पन्न भएपछि २००८ साल मङ्सिर १ गते मातृकाप्रसाद कोइरालाको अध्यक्षतामा नयाँ मन्त्रिमण्डल गठन भयो । २००८ साल पौष ९ गते फेरि अर्थमन्त्री सुवर्ण शमशेरले दाङ गोश्वारामा सल्यानी अड्डा सार्न दिनु भन्ने पत्र लेखे (युगवाणी, २००८, पृ. २०) । यसले दाङाली जनतामा आक्रोश उत्पन्न भयो र दाङमा पुनः आन्दोलन सुरु भयो । पौष १३ गते दाङ घोराहीमा स्थानीय जनक्रान्ति दिवसको उपलक्ष्यमा जनसाधारणको ठूलो सभा भएको थियो । त्यस सभामा भरतमणि शर्मा, अमरराज शर्मा, जुद्धबहादुर न्यौपाने, मेघराज न्यौपानेलगायतले अड्डा सार्ने निर्णयको विरोध गरे ।
दाङको यो आन्दोलनको नेतृत्व मुख्यतः भरतमणि शर्माले गरेका थिए । दाङमा आन्दोलन चलिरहँदा त्यसलाई समर्थन गर्न नेपाली कांग्रेसको वामपक्षीय विचारधाराका समर्थक केदारमान ‘व्यथित’, गोपालप्रसाद उपाध्याय र बालचन्द्र शर्मा २००८ साल पौष २० गतेका दिन दाङ आए (युगवाणी २००८, पृ. २४) । दाङ घोराहीमा ती नेताहरुको स्वागतार्थ एक विशाल जनसभाको पनि आयोजन भएको थियो । यस सभामा लगभग १० हजार किसान नरनारीले भाग लिएका थिए ।
सभाको प्रारम्भमा दाङ देउखुरी नेपाली कांग्रेसका नेता भरतमणि शर्माले नेताको स्वागत गर्दै अभिनन्दनपत्र दिएका थिए । राज्योन्मूलन आन्दोलनका नेतृत्वकर्ता भरतमणि शर्माले आन्दोलन १३ दिन चलेको उल्लेख गरेका छन् (युगवाणी २००८, पृ. २९) । औपचारिक रुपमा १३ दिन चलेको भए पनि यो आन्दोलन राज्य उन्मूलन नहुँदासम्म कुनै न कुनै रुपमा चलिरह्यो ।
२००८ साल चैत्र १३, १४ र १५ गते कृष्णनगरमा सम्पन्न नेपाली कांग्रेसको पश्चिम नेपाल राजनीतिक सम्मेलन सम्पन्न भयो । जसमा दाङबाट टेकनाथ गौतम, गणेशकुमार शर्मा, वासुदेव शर्मा, खड्गबहादुर राना, भरतमणि शर्मा, नेपबहादुर मल्ल, सूर्यप्रकाश गिरी लगायत सहभागी भएका थिए । ५९ वटा प्रस्ताव पास गरिएको त्यो सम्मेलनमा टेकनाथ गौतमले विभिन्न नौवटा प्रस्ताव प्रस्तावक भई पारित गराएका छन् भने तीनवटा प्रस्तावमा समर्थन गरेका छन् ।
भरतमणिले र खड्गबहादुरले एक–एकवटा प्रस्ताव पारित गरेका छन् भने गणेशकुमारले दुईवटा, खड्गबहादुरले दुईवटा र बासुदेव शर्माले एउटा प्रस्तावको समर्थन गरेका छन् । टेकनाथ गौतम प्रस्तावक र खड्गबहादुर राणा समर्थक रहेको प्रस्ताव नम्बर २८ मा भनिएको छ ः ‘दाङ जिल्ला कांग्रेस कमिटी मौजुद छँदाछँदै सो कमिटिलाई कमजोर गराउनका निम्ति महेन्द्रविक्रम शाहले अर्को कांग्रेस समानान्तर कमिटी खोल्ने आदेश दिएकोले जमिन्दारको अलग कांग्रेस कमिटी दाङमा खुलिरहेछ ।
हामी हाई कमाण्डको त्यो आदेशको निन्दा गर्दछौं र कांग्रेसलाई बदनामीबाट बचाई बलियो तुल्याउनका निम्ति प्रतिक्रियावादी जमिन्दारको कथित कांग्रेस कमिटीलाई केन्द्रले बर्खास्त गरिदियोस् भन्ने अनुरोध गर्दछौँ ।’ गौतमले त्यहाँ प्रस्तुत गरेको त्यो प्रस्तावले दाङमा समानान्तर कांग्रेस जिल्ला कमिटी खुलेको देखिन्छ ।
यद्यपि त्यो कमिटीमा को थियो भन्ने एकिन थाहा नभए पनि त्यतिबेला झग्गुप्रसादले पश्चिम दाङतिर ‘मैले अधिकार पाएको छु’ भन्दै सङ्गठन गर्न हिँडेका थिए (गौतम टेकनाथ २०५०, पृ. १०१) । झग्गुप्रसाद सल्यानी राजाका नजिकका भएकोले झग्गुप्रसादको नेतृत्वमा गठित कमिटीलाई नै ‘प्रतिक्रियावादी जमिन्दारको कथित कांग्रेस कमिटी’ भनिएको हुन सक्छ ।
२००९ सालमा टेकनाथ गौतमले सभापति पद छोडेपछि २००९ साल वैशाखमा भएको जिल्ला अधिवेशनबाट गणेशकुमार शर्मा सभापति बने (गौतम टेकनाथ, २०६४) । २००९ साल जेठ १ गतेदेखि १३ गतेसम्म जनकपुरमा भएको नेपाली कांग्रेसको पाँचौँ महाधिवेशनबाट वीपी कोइराला सभापति बने । त्यो अधिवेशन बहिष्कार गरेर भरतमणि शर्माहरुले नेपाली कांग्रेस बामपन्थी गठन गरेका थिए ।
नवनिर्वाचित पार्टी सभापति वीपी कोइरालाले २००९ साल असार ६ गते कार्यसमिति गठन गरे जसमा दाङका परशुनारायण चौधरी केन्द्रीय सदस्य बने (बस्नेत, २०६६, पृ. ४१४) भने लुम्बिनी पश्चिमाञ्चलको महामन्त्रीमा झग्गुप्रसाद शर्मा चयन भएका थिए (शर्मा, २०६४, पृ. ११) ।
नेपाली कांग्रेस छोडेर नेपाली कांग्रेस बामपन्थी नामक नयाँ पार्टी गठन गरेका भरतमणि शर्मा केही समयपछि नै कांग्रेसमै फर्किएका थिए । विक्रम संवत् २००९ साल पौषमा नेपाली कांग्रेसका नेता गणेशमान सिंह दाङ भ्रमणमा आए । उनको स्वागतमा भरतमणि सक्रिय थिए ।
गणेशमानले पुस १४ गतेदेखि माघ १ गतेसम्म दाङका विभिन्न क्षेत्रको भ्रमण गरे । त्यस क्रममा भरतमणि शर्मा, दामोदर शर्मा, टेकनाथ गौतम, गणेशकुमार शर्मा, जीवराज आचार्य, परशुनारायण चौधरी, दत्तात्रेय शर्मा, जीवरक्षण चौधरी, छोटेलाल चौधरी, देवीप्रसाद शर्मा, घनश्याम पाण्डेय, युद्धबहादुर खत्री (न्यौपाने), रविलाल चौधरी, नेपबहादुर मल्ल, भीमबहादुर शाह, प्रयागनारायण मिश्र, हेमराज शर्मा, फालुराम चौधरी, अमरराज शर्मा, खगराज लोहनी, लालमणि शर्मा, बलभद्र गिरी, जगन्नाथ गुप्ता, अनिरुद्ध शर्मा, पुरुषोत्तम उपाध्यायले गणेशमान सिंहको स्वागतमा संयुक्त पम्पलेट निकालेका थिए । यसबाट त्यतिबेला यिनै नेता कांग्रेसमा सक्रिय रहेको भन्न सकिन्छ ।
२००९ साल फागुन ५ गतेदेखि दाङको भरतपुरमा प्रशिक्षण शिविर सञ्चालन भएको थियो । एक महिनासम्म चलेको प्रशिक्षण शिविरमा प्रशिक्षण दिन गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, तेजबहादुर प्रसाईं, किशोरीरमण राणालगायत आएका थिए । त्यसमा भरतमणि पनि नागरिकशास्त्रका प्रशिक्षक थिए । दाङ प्रशिक्षण शिविरमा सहभागी हुन २०१० साल वैशाख ५ गते वीपी कोइराला दाङ आएका थिए ।
उनी वैशाख ५ गते एक रात भरतमणि शर्माकै घरमा बसेका थिए तर भरतमणि मातृकाप्रसाद कोइरालाले गठन गरेको राष्ट्रिय प्रजा पार्टीमा सम्मिलित भए र २०१० साल भदौ १२ गते मातृकाको राष्ट्रिय प्रजा पार्टीको केन्द्रीय सदस्य बने (गौतम, २०६६, पृ. १९५) । उनी २०११ साल वैशाख १ गते गठन भएको सल्लाहकार सभामा सदस्यमा मनोनित भए । यो सल्लाहकार सभामा भरतमणिका अतिरिक्त झक्कुप्रसाद, धर्मबहादुर थापा र परशुनारायण चौधरी पनि मनोनित भएका थिए । चौधरी बाहेक अरु सबै मातृका पार्टीका नजिक थिए ।
भरतमणिको राष्ट्रिय प्रजा पार्टीमा पनि मतभेद भयो । उनी त्यहाँ पनि टिक्न सकेनन् । २०११ साल कार्तिकमा दाङमा कांग्रेसको नेतृत्वमा केही घर लुटपाट भए । त्यतिबेला दाङ कांग्रेसका सभापति गणेशकुमार थिए (फैसला २०११) । गणेशकुमार त्यो घटनामा संलग्न भएको आरोपमा पक्राउ परे । ठीक त्यही बेला नेपाली कांग्रेसले सत्याग्रह आन्दोलन गर्ने तयारी गरेको थियो । भरतमणि नेपाली कांग्रेसमा फर्किए र सत्याग्रहको नेतृत्व गरे । २०११ साल मङ्सिर २६ गतेदेखि दाङमा पनि सत्याग्रह सुरु भयो । त्यसदिन सत्याग्रह सञ्चालन गर्ने काठमाडौँपछि दाङ दोस्रो जिल्ला भएको थियो ।
दाङमा आन्दोलन भव्य रुपमा सफल भएपछि २०११ साल माघ ६ गतेदेखि ९ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले उपत्यका अञ्चल र दाङले अति सफलतापूर्वक सत्याग्रह सञ्चालन गरेकोमा ‘उपत्यकाञ्चल र दाङका कार्यकर्ताले जनताको भावनाको प्रतिनिधित्व गरेर सत्याग्रहमा प्रविष्ट भई जुन साहस अनुशासन र देशप्रेमको परिचय दिए त्यो अनुकरणीय छ’ भनी निर्णय गरेको थियो (बस्नेत, २०६६, पृष्ठ ५०९) ।
२०११ साल मङ्सिरमा नेपाली कांग्रेसमै फर्किएका भरतमणि शर्मा २०१२ साल पुस १६ गते भएको जिल्ला अधिवेशनबाट दाङ कांग्रेसका सभापति बने । त्यो कार्यसमिति यस प्रकार थियो ः भरतमणि शर्मा सभापति, परशुनारायण चौधरी उपसभापति, गणेशकुमार शर्मा महामन्त्री, दत्तात्रेय शर्मा सङ्गठन मन्त्री र अमरराज शर्मा उपमन्त्री (नेपाल पुकार वर्ष ९, अङ्क २९ फागुन १२, २०१३) ।
२०१२ साल माघ ९ गतेदेखि १३ गतेसम्म भएको नेपाली कांग्रेसको छैटौँ महाधिवेशनबाट सुवर्ण शमशेर पार्टी सभापति चयन भए । (यद्यपि त्यतिबेला पार्टी सभापतिको निर्वाचन सबै सक्रिय सदस्यको मतबाट हुन्थ्यो र जिल्ला जिल्लामा पार्टी सभापतिको लागि मतदान हुन्थ्यो । २०१२ साल पुस १६ गते दाङमा पार्टी सभापतिको निर्वाचनको लागि मतदान भएको थियो) ।
सुवर्णले २०१२ साल फागुन १७ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति गठन गरे जसमा दाङबाट परशुनारायण चौधरी र भरतमणि शर्मा केन्द्रीय सदस्य चयन भए
(बस्नेत, २०७३, पृष्ठ ४६) । २०१३ साल पुष १३ गते सुवर्ण शमशेरले पुरानो कार्यसमिति विघटन गरी नयाँ कार्यसमिति चयन गरे । जसमा परशुनारायण चौधरी कायम रहेका थिए भने भरतमणिको ठाउँमा गणेशकुमार शर्मा केन्द्रीय सदस्य चयन भएका थिए (बस्नेत, २०७३, पृष्ठ ८६) ।
२०१४ साल जेठ १० गतेदेखि विराटनगरमा नेपाली कांग्रेसको विशेष अधिवेशन सम्पन्न भयो । सुवर्ण शमशेरले राजिनामा दिइसकेकोले वीपी कोइरालालाई यो अधिवेशनले सभापतिमा चयन ग¥यो । कोइरालाले २०१४ साल असार ३ गते नयाँ कार्यसमिति गठन गरे जसमा परशुनारायण चौधरी र गणेशकुमार शर्मा फेरि पनि केन्द्रीय सदस्य चयन भए (गौतम, २०६६, पृ. २८३) । २०१४ साल अषाढ १८ गते बसेको केन्द्रीय समितिको बैठकले १० वटा क्षेत्रीय समिति गठन गर्ने निर्णय ग¥यो ।
प्युठान, सल्यान र दाङ देउखुरी हेर्ने गरी दाङमा नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय रहने भयो । त्यसको संयोजकको जिम्मा भरतमणि शर्मालाई दिइयो । साथै सोही बैठकले कांग्रेसको विधानबमोजिम गठन हुने केन्द्रीय समितिपछिको अधिकार सम्पन्न निकाय तजबिज समिति पनि गठन ग¥यो । ३५ सदस्य समितिमा दाङका दत्तात्रेय शर्मा पनि सदस्य बने (बस्नेत, २०७३, पृष्ठ १०७) ।
२०१४ साल असार १४ गते राजा महेन्द्रले टंकप्रसाद आचार्यको मन्त्रिमण्डल विघटन गरी डा. के.आई. सिंहलाई प्रधानमन्त्री नियुक्त गरे । महेन्द्रले कांग्रेसका केही सदस्यहरुलाई बोलाएर मन्त्री बनाउने आश्वासन दिए । फलस्वरुप २०१४ साल श्रावण ५ गते भरतमणि शर्मा नेपाली कांग्रेस समानान्तर गठन गरी कांग्रेसबाट अलगिए (बस्नेत, २०७३, पृष्ठ १२१) ।
भरतमणि कांग्रेसबाट अलग भएपछि नेपाली कांग्रेस दाङको पुनर्गठन गरियो । जसमा परशुनारायण चौधरी पार्टी सभापति बने भने गणेशकुमार शर्मा क्षेत्रीय संयोजक बने (बस्नेत, २०७३, पृष्ठ १०६) । २०१४ साल माघ २० गतेदेखि २२ गतेसम्मको महासमितिको बैठकले नेपाली कांग्रेस समानान्तर गठन गरेका भरतमणि शर्मा लगायत १० जनालाई तीन वर्षका लागि पार्टीबाट निष्कासन ग¥यो (बस्नेत, २०७३, पृष्ठ १७६) ।
देशमा संविधानसभाको चुनावको स्थिति नभएपछि नेपाली कांग्रेसले २०१४ साल मंसिर २२ गतेदेखि भद्र अवज्ञा आन्दोलन सुरु ग¥यो । यस क्रममा दाङमा पनि आन्दोलन भयो । गणेशकुमार शर्मा, परशुनारायण चौधरी, दत्तात्रेय शर्मा, तिलकबहादुर डाँगी, जुद्धबहादुर न्यौपाने, लालबहादुर न्यौपाने, टेकनाथ गौतम, शेरबहादुर कार्की, ललितबहादुर शाह समेतले यो आन्दोलनको नेतृत्व गरेका थिए
(बस्नेत, २०७३, पृ. १६१) ।
आन्दोलनको बलमा राजा महेन्द्रले संसद्को चुनाव गर्ने घोषणा गरे र त्यसको केही समयपछि मात्र २०१५ साल जेठ २ गते नेपाली कांग्रेसका नेता सुवर्ण शमशेर जबराको नेतृत्वमा मन्त्रिपरिषद् गठन गरे । यो मन्त्रिपरिषद् गठनसँगै मुलुक संसद्को चुनावमा होमियो । चुनावको तयारी स्वरुप पार्टी सभापति वीपी कोइरालाले २०१५ साल श्रावण ९ गते पार्टीको केन्द्रीय समिति पुनर्गठन गरे जसको महामन्त्रीमा गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायलाई राखिएको थियो भने प्रचार अध्यक्षमा कृष्णप्रसाद भट्टराई राखिएका थिए । त्यो केन्द्रीय समितिमा दाङका परशुनारायण चौधरी र गणेशकुमार शर्मा कायम रहेका थिए (बस्नेत, २०७३, पृष्ठ २१३) ।
संसदीय चुनावको लागि २०१५ साल मङ्सिर २३ गते मनोनयनको अन्तिम समय थियो । त्यस निर्वाचनको लागि दाङबाट परशुनारायण चौधरी, गणेशकुमार शर्मा र जुद्धबहादुर न्यौपानेले टिकट प्राप्त गरे । टिकट वितरणपछि दाङलगायत अनेकन जिल्लामा असन्तुष्टि देखियो । दाङमा विशेष गरेर दत्तात्रेय शर्मा र भक्तनारायण चौधरीले टिकट नपाएकोमा असन्तुष्टि देखिएको थियो ।
देशभरीको असन्तुष्टि मत्थर गर्न वीपी कोइरालाले २०१५ साल मंसिर २८ गते यसअघि गठन गरिएका १० वटै क्षेत्रीय समितिलाई विघटन गरी विभिन्न क्षेत्र हेर्ने गरी पाँचवटा निर्वाचन समिति गठन गरे । यी निर्वाचन समितिमा टिकट नपाएकालाई समेट्ने प्रयास गरिएको थियो ।
जसअनुसार खेमराज जोशी संयोजक रहेको सुदूरपश्चिमाञ्चल निर्वाचन सहयोग समितिमा दत्तात्रेय शर्मा र भक्तनारायण चौधरीलाई राखिएको थियो (बस्नेत, २०७३, पृष्ठ २४६) । त्यसैगरी राप्ती क्षेत्र निर्वाचन सहयोग समितिको संयोजकमा बलभद्र गिरी र सेक्रेटरीमा तिलकबहादुर डाँगीलाई राखिएको थियो (डाँगी २०६८, पृ. ८३) । यो आम निर्वाचनमा परशुनारायण चौधरी, गणेशकुमार शर्मा र जुद्धबहादुर न्यौपाने तीनैजना दाङबाट विजयी भए ।
शर्मा र चौधरी दुवै केन्द्रीय समिति सदस्य पनि थिए । चौधरी वीपी कोइरालाको मन्त्रिमण्डलमा शिक्षामन्त्री बने । २०१६ साल साउन ३ गते वीपी कोइरालाले केन्द्रीय समिति पुनर्गठन गरे त्यस क्रममा गणेशकुमार शर्मा केन्द्रीय सदस्यमा कायम रहे भने परशुनारायण चौधरी कार्यसमितिबाट हटाइए (बस्नेत, २०७३, पृष्ठ ३२०) । २०१६ साल फागुन २१ गते सम्पन्न नेपाली कांग्रेस दाङको अधिवेशनले पार्टी सभापतिमा तिलकबहादुर डाँगी (डाँगी २०६८, पृ. ८९) र सेक्रेटरीमा घनश्याम पाण्डे (देवकोटा, २०६४, पृ. ३७७) लाई चयन ग¥यो ।
२०१७ साल वैशाख २५ गतेदेखि २९ गतेसम्म सम्पन्न नेपाली कांग्रेसको सातौँ महाधिवेशनले वीपी कोइरालालाई नै पार्टी सभापति चयन ग¥यो । (त्यतिबेला पनि पार्टी सभापतिको निर्वाचन सबै सक्रिय सदस्यको मतबाट हुन्थ्यो र जिल्ला जिल्लामा पार्टी सभापतिको लागि मतदान हुन्थ्यो ।
२०१६ साल फागुन २१ गते दाङमा पार्टी सभापतिको निर्वाचनको लागि मतदान भएको थियो) । वीपी कोइरालाले २०१७ साल असार २७ गते नयाँ कार्यसमिति चयन गरे त्यस कार्यसमितिमा दाङका गणेशकुमार शर्मा मात्र केन्द्रीय सदस्य रहेका थिए (बस्नेत, २०७३, पृष्ठ ५१४) । २०१७ साल पुस १ गतेको घटनापछि राजनीतिक दलमाथि प्रतिबन्ध लाग्यो । कयौँ नेता कार्यकर्ता गिरफ्तारीमा परे । केही नेता कार्यकर्ता भारत प्रवासमा गए । केन्द्रीय सदस्य गणेशकुमार शर्मा र दाङ जिल्ला पार्टी सभापति तिलकबहादुर डाँगी पनि भारत पुगेका थिए । परशुनारायण चौधरी त्यहीँ थिए ।
२०१७ साल माघ १२ गते भारतको पटनामा नेपाली कांग्रेसको विशेष सम्मेलन भयो । केन्द्रीय कार्यसमितिका २१ जना मध्ये १३ जना सहित करिब १३० जनाको उपस्थितिमा त्यस सम्मेलनले सुवर्ण शमशेरलाई कार्यबाहक सभापति चयन ग¥यो । लगत्तै सुवर्ण शमशेरले महामन्त्रीमा परशुनारायण चौधरी र सहायक महामन्त्रीमा गणेशकुमार शर्मालाई चयन गरे (गौतम, २०७१, पृ. ९३) । नेपालबाट राजनीतिक गतिविधि सञ्चालन गर्न कठिन भएकोले नेपाली कांग्रेसले भारतबाटै राजनीतिक गतिविधि सञ्चालन गर्न थाल्यो ।
त्यही क्रममा सिंगो नेपाललाई चार क्षेत्रमा विभाजन गरी जिम्मेवारी समेत तोकियो । दुई नम्बर क्षेत्रअन्तर्गत रहेर भारतको बहराइचबाट गणेशकुमार शर्माले दैलेख, सल्यान, डोटी, डडेल्धुरा, बाँके, बर्दिया, कैलाली, जुम्ला, बाग्लुङ, गुल्मी, प्युठान, दाङ देउखुरी, पाल्पा र पाली माझखण्ड क्षेत्रलाई हेर्ने गर्दथे । त्यसैगरी २०१८ सालको सशस्त्र संघर्षको लागि विभिन्न क्याम्पहरु खडा गरिएको थियो ।
बलरामपुर क्याम्पले दाङ, सल्यान हेर्दथ्यो । यसको जिम्मा गणेशकुमार शर्मा सहित तिलकबहादुर डाँगी, नेपबहादुर मल्ल र दिग्विजय मल्ललाई दिइएको थियो । बलरामपुर क्याम्पमा १० जना पूर्णकालीन कार्यकर्ताहरु बसेका थिए । तिनीहरुका लागि प्रति सदस्य ४५ रुपैयाँका दरले केन्द्रबाट खर्च प्राप्त हुन्थ्यो । यस बाहेक गणेशकुमार शर्मा र रणबहादुर बस्नेतलाई १००(१०० रुपैयाँ, बामदेव शर्मा र जगन्नाथ गुप्तालाई ७०–७० रुपैयाँ र तिलकबहादुर डाँगीलाई रु. ६० व्यक्तिगत खर्च आउँथ्यो ।
यसबाहेक गणेशकुमार शर्माकी धर्मपत्नी गोमादेवी र बामदेव शर्माकी धर्मपत्नी उषादेवी शर्मालाई आश्रित खर्चको रुपमा ४५ आउँथ्यो । यसरी केन्द्रबाट दाङ देउखुरी जिल्ला पार्टी सञ्चालनका लागि १०१० रुपैयाँ केन्द्रले खर्च पठाउने गरेको थियो
(गौतम, २०७१, परिशिष्ट ९६, पृ. २२४) ।
नेपाली कांग्रेसले २०१८ सालमा सशस्त्र आन्दोलन गर्दा गणेशकुमार शर्माले पश्चिम क्षेत्रको नेतृत्व गरेका थिए । उनकै नेतृत्वमा दाङ देउखुरीमा करिब एक वर्षको अवधिमा चारवटा आक्रमण भएका थिए जसलाई दाङ कांग्रेस सभापतिको रुपमा रहेका तिलकबहादुर डाँगीले सक्रिय सहयोग गरिरहेका थिए ।
यसरी करिब आठ वर्षसम्म तिलकबहादुर डाँगीले बलरामपुर क्याम्पमै बसेर दाङ कांग्रेसको नेतृत्व गरे । २०२५ साल जेठ २ गतेमा सुवर्ण शमशेरले राजालाई सहयोग गर्ने भावनासहितको वक्तव्य जारी गरेपछि वातावरण खुकुलो भयो र कार्यकर्ताले आम माफी पाए । त्यस क्रममा आम माफी पाएपछि गणेशकुमार शर्मा र तिलकबहादुर डाँगी पनि बलरामपुर क्याम्प छोडेर दाङ आए ।
दाङ आउँदा २०२५ साल कार्तिक २६ गते नेपाली कांग्रेस दाङका सभापति तिलकबहादुर डाँगीले छविकुमार शर्मालाई कार्यबाहक सभापति चयन गरेको पत्र दिएर आएका थिए । त्यस पत्रको रोबरमा सहायक महामन्त्री गणेशकुमार शर्माले समेत हस्ताक्षर गरेका थिए (शर्मा, २०५५, परिशिष्ट) । यसरी २०२५ साल कार्तिक २६ गतेदेखि तिलकबहादुर डाँगी पार्टी सभापतिको जिम्मेवारीबाट मुक्त भए भने छविकुमार शर्माले कार्यवाहक सभापतिको जिम्मा पाए ।
सन्दर्भ सामग्री :
नेपाली पुस्तकहरु :
१. (अज्ञात) । (२००९) । दाङ देउखुरी
उपत्यकाको क्रान्ति चेतनाको इतिहास ।
२. अधिकारी, डा. सूर्यमणि । (२०५९) । नेपाली कांग्रेसको इतिहास ।
३. अधिकारी, हेमराज शास्त्री । (२०५८) । आजको नेपाल (प्रजातान्त्रिक आन्दोलनको अन्वेषणात्मक र अनुसन्धानात्मक इतिहास) ।
४. गौतम, डा. राजेश । (२०६६) । नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग २ ।
५. (२०७१) । नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग ३ ।
६. गौतम, टेकनाथ । (२०५०) । राप्ती अञ्चलको इतिहास तथा केही स्मरणहरु ।
७. डाँगी, तिलकबहादुर । (२०६८) । नेपालको प्रजातान्त्रिक आन्दोलनमा दाङ कांग्रेसको भूमिका ।
८. थापा, पदमबहादुर (सम्पा.) । (२०७६) । वी. पी. कोइरालाको डायरी ।
९. देवकोटा, गृष्मबहादुर । (२०६४) । नेपालको राजनीतिक दर्पण भाग- २ ।
१०. बस्नेत, पुरुषोत्तम । (२०६६) । नेपाली कांग्रेसको इतिहासको प्रारुप भाग-१ ।
११. (२०७३) । नेपाली कांग्रेसको इतिहासको प्रारुप भाग -२ ।
१२. शर्मा, छविकुमार । (२०५५) । नेपाली कांग्रेसको इतिहासमा गणेशकुमार शर्मा र दाङ कांग्रेस ।
१३. शर्मा, बामदेव । (२०६४) । इतिहास बेलाबखतका कुराहरु ।
नेपाली पत्रपत्रिकाहरु :
१. गोरखापत्र २००८ जेठ १६
२. नेपाल पुकार वर्ष ९, अङ्क २९ फागुन १२, २०१३ वि.सं.
३. युगवाणी, वर्ष ४, अङ्क २३, २०००७ माघ ८ वि.सं.
साक्षात्कार :
१. गौतम टेकनाथ (२०६४ चैत ३ वि.सं.)
अदालती फैसला :
१. फैसला । (२०११) । वादी : यज्ञनिधि उपाध्याय, प्रतिवादी : गणेशकुमार शर्मा, मुद्दा : करकाप, दर्ता नम्बर : ६७९ (फौ.), मिति : २०११÷०८÷२३ वि.सं, दाङ देउखुरी जिल्ला अदालत अभिलेख शाखा ।
