घोराही , फागुन १५। लुम्बिनी प्रदेशभरको निर्वाचनको नतिजा डिजिटल सञ्चारका माध्यमबाट दिने गरि व्यवस्था गर्न थालिएको लुम्बिनी प्रदेश निर्वाचन कार्याैलय दाङले जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालय लुम्बिनी दाङले शुक्रवार घोराहीमा ‘निर्वाचन र आम सञ्चार विषयक’ छलफल कार्यक्रममा कार्यालयका सूचना अधिकारी गेहेन्द्र कवँरले बताए ।
दाङका तीन वटै निर्वाचन क्षेत्रको मतगणनाको जानकारी डिजिटल सञ्चार माध्यमको प्रयोग गर्दै दिने तयारी गरिएको भन्दै उनले प्रदेशका १२ वटै जिल्लाको जति सक्यो चाडै मतपरिणाम सार्वजनिक गर्ने गरि तयारी भइरहेको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरि पाँच हजार पाँच सय बढी सुरक्षाकर्मी परिचानल गरिएको बताए । मजबुत सुरक्षा ब्यबस्था मिलाइएको भन्दै उनले ढुक्कले मतदानमा सहभागी हुन आग्रह गरेका थिए ।
कार्यक्रममा फागुन २१ गते हुने निर्वाचनको तयारीका बारेमा लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख लालसिंह खड्काले फागुन १८ गते मतदान अधिकृतलाई निर्वाचन सामाग्री बुझाइने बताए ।
मतदान पछि मत पेटीका ओसार्न ९८ सवारी साधन प्रयोग गरिने र त्यसमध्य १७ वटा साना तथा ८१ वटा बसहरु प्रयोग गरिने जानकारी दिइएको थियो ।
प्रजिअ अर्यालले फागुन २१ गते ५ बजे मतदान सकिएपछि राति ९ बजेसम्म सम्पूर्ण मत पेटीका ल्याइ पुर्याउने गरि तयारी गरिएको बताए ।
निर्वाचनका क्रममा सुरक्षा संवेदनशिलतासँगै नागरिकको गोप्य मतदान गर्ने अधिकारलाई सुरक्षित गर्दै सहज ढंगले रिपोटिङ गर्ने व्यस्था मिलाइने अधिकारीहरुले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, नेपाल पत्रकार महासघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष प्रताप रेग्मीलगायतले निर्वाचनका क्रममा सहज रिपोटिङको व्यवस्था सँगै गोप्य मतदानको सुनिश्चिता हुने गरि मतदान स्थलको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।
जिल्लामा सबै भन्दा बढी मतदाता दाङको घोराही उपमहानगरपालिका – १५ स्थित पदमोदय पब्लिक उच्च माबि मतदान स्थलमा छन् । यहाँ १० हजार ९ सय ६९ मतदाता रहेको र ११ वटा मतदान केन्द्र तोकिएको जानकारी दिइएको छ ।
जिल्लामा सबै भन्दा कम मतदाता रहेको मतदान स्थलपनि घोराहीमा रहेको छ । घोराही– २ स्थित आधारभूत विद्यालय चाख्लिघाट स्थित मतदान स्थलमा जम्मा ३ सय ४२ जना मतदातामा मात्रै रहेको जानकारी दिइएको थियो ।