२०८२ फाल्गुन ४ गते सोमवार

एक शहर, एक व्यवस्थित अटो भिलेज आवश्यक: आचार्य


घोराही, फागुन ४ । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार निर्मल आचार्यले अटो भिलेजको दीर्घकालीन व्यवस्थापन र नीतिगत सुधार अपरिहार्य भएको बताएका छन ।

राप्ती अञ्चल अटो इन्जिनियरिङ एशोसियसनद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले “एक शहर, एक व्यवस्थित अटो भिलेज” को अवधारणा अघि सार्दै सरकारबाट संरचनागत व्यवस्थापन र स्पष्ट नीति आवश्यक रहेको उल्लेख गरे ।

घोराहीमा आयोजित कार्यक्रममा उनले श्रम र श्रमिकप्रतिको सम्मान संस्कृति कमजोर बन्दै गएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

सांसदको मुख्य जिम्मेवारी नीति निर्माण र सुशासन कायम गर्नु भएको स्पष्ट पार्दै उनले बाटो वा कुलो निर्माणलाई व्यक्तिगत उपलब्धि भन्दै प्रचार गर्नु उचित नभएको टिप्पणी गरे ।

यसअघि कार्यक्रममा अटो भिलेजका व्यवसायीहरूले घोराही उपमहानगरपालिकाले आवश्यक ध्यान नदिएको गुनासो गरेका थिए।

उनीहरूका अनुसार अटो भिलेजमा करिब १२ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने करिब दुई सय लगानीकर्ताको लगानी रहेको छ। तर खोला कटान, अव्यवस्थित संरचना तथा वातावरणमैत्री पूर्वाधारको अभावका कारण व्यवसाय सञ्चालनमा कठिनाइ हुँदै आएको बताइएको छ।

कार्यक्रम एशोसियसन अध्यक्ष ज्ञानु फौदार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रीय सदस्य रत्नराम बंजारा लगायतले अटो भिलेजका व्यवसायिक समस्या र चुनौतीबारे धारणा राखेका थिए ।

कार्यक्रमकै अवसरमा निर्मल आचार्यलाई स्वागत तथा सम्मान गरिएको थियो।

साथै, घोराही–तुलसीपुर फोरलेन सडक निर्माणका क्रममा भएको मानवीय क्षतिप्रति संकेत गर्दै उहाँले विकासका नाममा भएका कमजोरीको जिम्मेवारीसमेत स्पष्ट हुनुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २०८२ फाल्गुन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *