तुलसीपुर, माघ १४ । घोराही उपमहानगरपालिका – ९ असराका ३२ बर्षीय बिजय पौडलको हत्या रक्सीका कारण भएको बिबादले गर्दा भएको खुलेको छ ।
पौडलको हत्या आरोपमा तुलसीपुर उपमहानगरपालिका – १७ नयाँ बस्तिका २८ बर्षीय प्रदीप वलीलाई प्रहरीले मंगलबार पक्राउ पछि सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी शाहका अनुसार पौडेल र वलीका बीचमा रक्सीको बिषयमा भएको बिबादका कारण हत्याको घटना भएको तथ्य अनुसन्धान पछि खुलेको बताए ।
यो घटना पूर्व यी दुईका बीचमा परिचय थिएन । वलीले स्थानीय पसल बाट घरेलु मदिरा किनेको देखेपछि पौडेल पच्छ्याउँदै आएका थिए ।
खोला बगरमा आएपछि पौडेलले रक्सी माग्दा दुई जनाको बीचमा बिबाद र झगडा भएको थियो । त्यही बीचमा वलीले पौडेलको टाउकोमा ढुँगा प्रहार गरि गम्भीर घाइते तुल्याएका थिए ।
तुलसीपुर उपमहानगरपालिका – १७ स्थित हापुर खोला बगरमा पुस १५ गते बेलुका पौडेल ८ बजेतिर चोट ग्रस्त अवस्थामा फेला परेका थिए । उनको टाउकोमा गहिरो चोट थियो ।
घाइते पौडेललाई उद्धार गरि प्रहरीले घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुर्याएको थियो । त्यहाँ प्रारम्भीक उपचार पछि उनलाई थप उपचारका लागि बाँकेस्थित नेपालगंज मेडिकल कलेज कोहलपुरमा पुर्याइएको थियो । घाइते पौडेलको उपचारका क्रममा पुस १६ गते बिहान ३ बजेतिर मृत्यु भएको थियो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले घटना पछि वली भागेर भारत गएका थिए । उनी पुस १२ गते मात्रै गाउँ घरमा आएका थिए ।
सोही दिन अर्थात सोमबार बेलुका ८ बजेतिर वलीलाई तुलसीपुर – १६ रावत गाउँस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी इलाका प्रहरी कार्यालय तुलसीपुर बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
प्रहरी अनुसन्धान बाट ३० रुपैयाँ जतिको रक्सीको बिबादका कारण पौडेलको हत्या भएको डिएसपी शाहले बताए ।
घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।