तुलसीपुर, माघ १३ । दाङ घोराहीका एक युवाको हत्या आरोपमा तुलसीपुरका एक युवालाई पक्राउ पछि प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।
घोराही उपमहानगरपालिका – ९ असराका ३२ बर्षीय बिजय पौडल माथि कुटपिट गरि हत्या गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका – १७ नयाँ बस्तिका २८ बर्षीय प्रदीप वली पक्राउ परेका हुन ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार वली तुलसीपुर – १६ रावत गाउँस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी सोमबार बेलुकी ८ बजेतिर नियन्त्रणमा लिइएको हो ।
पौडेल टाउको लगाएत शरिरका बिभिन्न भागमा चोट ग्रस्त अवस्थामा पुस १५ गते बेलुका ८ बजेतिर तुलसीपुर – १७ को हापुर खोला बगरमा फेला परेका थिए ।
घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा प्रारम्भीक उपचार घाइते पौडेललाई थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा लगिएको थियो । घाइते पौडेलको उपचारका क्रममा पुस १६ गते बिहान ३ बजेतिर मृत्यु भएको थियो ।
जिल्ला अदालत दाङले वलीलाई सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न मंगलबार अनुमति प्रदान गरेको छ ।