घोराही, वैशाख १८ ।
दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजियोप्लाष्टि सेवा सुरू भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. सूर्य देवकोटाको नेतृत्वमा प्रतिष्ठानमा कार्यरत फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा. दिनेश उप्रेतिसहितको टोलीले शुक्रबार दुईजना बिरामीको एन्जियोप्लाष्टि गरेको थियो । एन्जियोप्लास्टि गरिएका बिरामीको अबस्था सामान्य रहेको मुटु रोग विशेषज्ञ डा. उप्रेतिले बताए ।
पहिलो पटक जिल्लामा यो सेवा सुरु भए संगै हृदयघात भएका विरामीहरुलाई जिल्लामै सहजै उपचार गर्न सकिने डा. देवकोटाले बताए । उनका अनुसार मुटुको रक्तनलीको उपचार दाङमा पहिलो पटक सुरु हुनु जिल्लाको स्वास्थ्य क्षेत्रका लागि एउटा उपलब्धी हो । यस अघि मुटुको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अबस्था रहेको थियो ।
प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिष्ट्रार प्रा. श्याम लम्सालले अब मुटुको उपचारका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यताको अन्त्य हुने आशा ब्यक्त गरे ।
मुटुको उपचारका लागि क्याथेल्याबसहित १० करोड बराबरका उपकरण ल्याएको छ ।
दाङमै यो सेवा सुरु भएपछि जिल्ला बाहिरका विरामीलाई पनि अब सेवा दिन सहज हुने प्रतिष्ठानका निमित्त निर्देशक प्राडा जनार्दन पन्थीले बताए । हाल मुटुको उपचारका लागि एक लाख भन्दा बढि खर्च लाग्ने गरेको छ । प्रतिष्ठानमा मुटुको इको समेतको सेवा यसअघि नै सुरु भइसकेको थियो ।