दाङ, असार २९ । देव विकास बैंकको १८ करोड हिनामिनाको मुद्दामा बैंकका शाखा प्रबन्धकलाई २१ करोड ५३ लाख जरिवाना र ७ वर्ष कैद सजाय तोकिएको छ ।
उच्च अदालत तुलसीपुरले मंगलवार गरेको अन्तिम फैसलाले बैकको नारायणपुर शाखा प्रबन्धक समिर बुढाथोकीलाई १८ करोड ३ लाख जरिवाना र ३ करोड ५० लाख बिगो जरिवाना गरेर २१ करोड ५३ लाख रूपैयाँ जरिवाना र सात वर्ष कैद सजाय तोकिएको अदालतका रजिष्ट्रार यामबहादुर बुढामगरले जानकारी दिए ।
दाङमा केन्द्रीय कार्यालय रहेको साविक वेष्टर्न डेभलपमेन्ट बैंक मर्जपछि बनेको देव विकास बैंकको नारायणपुर शाखामा १८ करोड हिनामिनाको मुद्दा उच्च अदालतमा परेको थियो । देव विकास बैंक नारायणपुर शाखा दाङमा १८ करोड हिनामिना प्रकरणमा ५६ जना प्रतिवादीबारे उच्च अदालत तुलसीपुरले अन्तिम फैसला यसअघि सुनाए पनि शाखा प्रबन्धकको तीन वर्षभन्दा बढी कैद सजाय हुने भएपछि मंगलबार पूर्ण सुनुवाइ भएको हो । त्यहि सुनुवाइले शाखा प्रबन्धक बुढाथोकीलाई सात वर्ष कैद र २१ करोड ५३ लाख विगोसहित जरिवाना भराउने फैसला गरेको छ ।
समिर बुढाथोकीले साविक वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको कनिष्ठ अधिकृत भई नारायणपुर शाखामा शाखा प्रबन्धक भएपछि २०७४ फागुनदेखि १५ महिनासम्म कर्जा खाताको भौतिक फाइल नबनाई बैंकिङ सफ्टवेयर प्रणालीबाट ३६ वटा कर्जा खाता खोलेका थिए । ती खाताबाट १७ करोड ९९ लाख ९० हजार रूपैयाँ बराबरको कर्जा रकम सिर्जना गरेको पुष्टि भएको छ ।
५६ जना प्रतिवादीमध्ये ३३ जनालाई जरिवाना र कैद सजाय अदालतले तोकिसकेको छ । जसमध्ये ३३ जनालाई एकैसाथ जरिवाना र कैदको फैसला भएको उच्च अदालतले जनाएको छ । अदालतका मुख्य न्यायाधीश निता दीक्षित गौतम र न्यायाधीश राजुराम सिलवालको इजलासले बैंकका शाखा प्रबन्धकसहित अन्य ३३ जनालाई कैद र जरिवानाको फैसला सुनाएका हुन् ।
तीन वर्ष पहिले घोराही उपमहानगरपालिका–१० नारायणपुर शाखा कार्यालय रहेको बैंकमा हिनामिना भएको सार्वजनिक भएको थियो । त्यसपछि बैकको केन्द्रीय समितिले बैंकका कर्मचारी र तत्कालिन अवस्थाका सञ्चालक समिति सदस्यविरूद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको थियो । मुद्दाको झण्डै तीन वर्षपछि सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुरले ३३ जना प्रतिवादीलाई दोषी ठहर गर्दै कसुर अनुसारको कैद तथा जरिवानाको सजाय तोकी बैंकको बिगोसमेत भराउने फैसला सुनाएको छ ।
शाखा प्रबन्धक र अन्य खातावालहरू कारवाहीमा परेका छन् । प्रमाणको आधारमा न्याय सम्पादन भएको अदालतको भनाइ छ । यद्यपि सञ्चालक समिति र लेखा परिक्षक र केही कर्मचारीहरूले सफाइ पाएका छन् । शाखा प्रबन्धकले ३६ वटा नक्कली कर्जा खाता खोली बदमासी गरेका पाइएको फैसलामा उल्लेख गरिएको छ ।
बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा १५ को उपदफा ६ बमोजिम मुख्य कसूरदार बुढाथोकीलाई हुने सजायको आधा सजाय हुने फैसला अदालते गरेको छ । बुढाथोकीले अभियोग दावी अनुसार बैंकिङ (कसूर तथा सजाय) ऐन, बमोजिमको कसूर गरेको देखिएकोले निज प्रतिवादी समिर बुढाथोकीलाई अभियोग दावी बमोजिमको कसूर कायम हुने ठहर्छ फैसलामा भनिएको छ ।
– प्रदेश टुडे दैनिकबाट
