काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेस सभापतिमा ६ जना जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा.शेखर कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र अहिलेका उपसभापति, विमलेन्द्र निधि, केन्द्रीय सदस्य कल्यान गुरुङ, युवराज न्यौंपानेले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन ।
सभापतिमा शेरबहादुर देउवाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन । उनको समूहबाट उपसभापति विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का रहेका छन् ।
महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन् । सहमहामन्त्रीमा महिलाबाट डिना उपाध्याय, जनजातिमा भीष्मराज आङ्देम्बे, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारूमा उमाकान्त चौधरी, मुस्लिममा फर्मुल्लाह मन्सुर, पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही र दलितमा मानबहादुर विश्वकर्मा रहेका छन् ।
त्यस्तै, शेखर कोइरालाको टिमबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापाको उम्मेदवार छन् ।
सहमहामन्त्रीमा खस आर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट विकास लामा र तेजुलाल चौधरीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै नेता प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् ।
१३ औं राष्ट्रिय महाधिवेशनमा कांग्रेसमा तीन जना सभापतिका उम्मेदवार बनेका थिए। देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सभापतिमा लडेका थिए। पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचनबाट देउवा निर्वाचित भएका थिए ।
नयाँ नेतृत्व चुन्न काँग्रेसका मंसिर २७ गते निर्वाचत हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा मंसिर २४ गते महाधिबेशनको औपचारिक उद्घाटन भएको थियो ।
