उरहरी, चैत २७ ।
तुलसीपुर उपमहानगरपालिका – ११ नम्बर वडा कार्यालयले वडाका ४४ बुहारी र ९० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
शुक्रबार वडा कार्यालय परिशरमा आयोजितक कार्यक्रममा घर परिवारमा मैत्रीपूर्ण वातावरण निर्माण गरि ‘सासु ससुरा’ लाई राम्रो संग पालन पोषण गरि सामाजिक योगदान पुर्याउने वडाका ४४ बुहारी सम्मानित भएका हुन ।
सामाजिक योगदान पुर्याएको भन्दै वडाका ४४ टोलका ४४ जना बुहारीलाई दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको हो ।
त्यसक्रममा ८० बर्ष माथिका ९० जना जेष्ठ नागरिकलाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै हर्लिक्सपनि उपहारस्वरुप प्रदान गरिएको थियो ।
कार्यक्रममा ११२ बर्षीया गुलरिया थरुणीसहित ९० जना जेष्ठ नागरिकलाई हर्लिक्सपनि प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुरका मेयर टीकाराम खड्काले उचित स्याहार र संभारको अभावमा जेष्ठ नागरिक तड्पियर बस्नु पर्ने परिस्थितिको अन्त्य गर्नु सन्तानको कतब्र्य भएको बताएका थिए ।
वडाध्यक्ष मानबहादुर रावतले हरेक सन्तानले अग्रज र जेष्ठ नागरिकको आदर तथा सम्मान गर्ने संस्कार हरेक सन्तानले अनुसरण गर्न जरुरी रहेको बताए ।
वडा कार्यालयले नमुना योग्य काम गरेको भन्दै भविश्यमा यस्ता समाजहित र मानव हितका कार्यमा बजेट ब्यबस्थापन गरिने अध्यक्ष रावतले आश्वास्त पारे ।
कार्यक्रममा तुलसीपुरका प्रमुख प्रशासकिय अधिकृत केशव पार्दै, वडा नं. १५ का वडाध्यक्ष लक्ष्मण चौधरी, जेष्ठ नागरिकका नगर अध्यक्ष पूर्णबहादुर खड्का, जेष्ठ नागरिकका वडाध्यक्ष घनश्याम बस्नेत, केशवराज डाँगी, पोषणराज बस्नेत, तिलक बस्नेत, नेत्रमणि शर्मा, कृष्ण केसी लगाएतका बक्ताले वडाले जेष्ठ नागरिक र जेष्ठ नागरिकलाई उचित पालन पोषण गर्ने बुहारीलाई सम्मान गरि उदाहरण प्रस्तुत गरेको भन्दै धन्यबाद दिएका थिए ।
वडा सदस्य पर्भा परियारको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव पदम भण्डारीले गरेका थिए ।