दाङ, चैत २२ ।
रोल्पामा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । थप तीन जना घाइते छन् ।
दुर्घटनामा परि रा ३ प १०१७ नम्बरको मोटरसाइकल चालक जिल्लाको सुनिलस्मृति गाउँपालिका – २ महेन्द्रीका २७ बर्षीय मनोज मरमथानीको मृत्यु भएको हो ।
उनको प्राथमिक स्वास्थ केन्द्र सुलीचौर रोल्पामा उपचारका क्रममा मृत्यु भएको हो । यी तीन जना एउटै मोटरसाइकलमा सवार थिए भने मृतक एक्लै सवार थिए ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार दुर्घटनामा परि रा ६ प ५५२७ नम्बरको मोटरसाइकल चालक सुनिलस्मृति – २ माडीचौरका १८ बर्षीय साइमन सेन ठकुरी , पछाडि सवार सोही ठाउँकै १८ बर्षीय अर्पण शाह ठकुरी र सोही वडाको खुङ्ग्रीका १६ बर्षीय हिमाल चन्द ठकुरी घाइते छन् ।
घाइते मध्य साइमन र अर्पनको अवस्था गम्भीर छ । उनीहरु दुबै जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । हिमाललको अवस्था भने सामान्ने रहेको प्रहरी निरीक्षक थापा नेपालीले बताए ।
आइतबार बिहान करिब ८ बजेतिर रोल्पाको सुनिलस्मृति गाउँपालिका – २ भालुबाङ सुलीचौर सडकखण्डमा एक्लेपिपल स्थित खुङग्रीबाट सुलीचौर तर्फ जाँदै गरेको साइमन सेन ठकुरीले चलाएको मोटरसाइकल र बिपरीत दिशाबाट आउदै गरेको मेतक मनोज मरमथानीले चलाएको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।