तुलसीपुर, चैत २८ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुपरस्पेसियालीटी सेवा विस्तार गरेको छ ।
लुम्बिनी प्रदेशका दाङ, रोल्पा, रुकुम, सल्यान र प्यूठानका बिरामी लाभान्वित भएका छन ।
प्रतिष्ठानले हाल न्यूरोसर्जरी, युरोसर्जरी र कार्डियोलोजी सेवा सञ्चालनमा ल्याएको छ ।
प्रतिष्ठानको तथ्याङक अनुसार गत वैशाख १ देखि चैत २१ गतेसम्म युरोलोजी विभागबाट पाँच हजार ७४ र न्युरोसर्जरीबाट चार हजार दूई ४४ बिरामीले सेवा लिएका छन ।
सोही अवधिमा न्यूरोसर्जरी तर्फ दुई सय तीन र यूरोलोजीतर्फ ६ सय ४९ वटा शल्यक्रिया भएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।
कार्डियोलोजी (मुटु रोग) तर्फ चार ३९ जनाले ओपिडी सेवा लिएका छन् । सेवालाई प्रभावकारी बनाउन प्रतिष्ठानले वीर अस्पताल र शिक्षण अस्पताल (टिचिङ) लगायतका संस्था संग सहकार्य सुरु गरिएको जनाएको छ ।
सेवा विस्तार भए पनि भौतिक पूर्वाधारको अभाव भने अझै चुनौतीपूर्ण छ ।
पर्याप्त भवन नहुँदा एमबिबीएस लगायतका शैक्षिक कार्यक्रम अस्थायी संरचना र भाडाका घरमा संचालन भइरहेका छन । प्रस्तावित चार सय शैयाको अस्पताल निर्माणको गुरु योजना हाल अर्थ मन्त्रालयमा सिफारिसको क्रममा रहेको निमित्त उपकुलपति प्रा. श्याम लम्सालले जानकारी दिए।
हाल प्रतिष्ठानमा दैनिक करिब एक हजार बिरामी उपचारका लागि आउने गरेको बताइन्छ ।