२०८२ चैत्र २६ गते बिहिवार

पेट्रोल, डिजेल र मट्टितेलको मुल्यमा भारी वृद्धि


काठमाडौं ,चैत २० । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ फेरि प्रतिलिटर १५/१५ रुपैयाँ बढाएको छ ।

निगम सञ्चालक समितिको बिहीबारको निर्णयअनुसार शुक्रबार बिहान १२:०१ बजेदेखि लागू हुने गरी इन्धनको मूल्यमा भारी वृद्धि गरिएको हो ।

नयाँ मूल्यसूची अनुसार अब काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ कायम भएको छ ।

यसैगरी, दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोल २०१ रुपैयाँ र डिजेल/मट्टितेल १८१ रुपैयाँ पर्नेछ ।

पहिलो वर्गअन्तर्गतका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १९९ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेलको मूल्य १७९ रुपैयाँ ५० पैसा तोकिएको छ ।

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य बढेर आएकाले मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।

उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमसँग रहेको मूल्य स्थिरीकरण कोषको रकम समेत उपयोग गरेर यो मूल्य तय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

निगमका अनुसार मूल्य बढाउनुअघि पेट्रोलमा ४७.१२ रुपैयाँ र डिजेलमा १३३.४५ रुपैयाँ प्रतिलिटर घाटा थियो, जसका कारण निगमलाई पाक्षिक रूपमा १३ अर्ब २१ करोड रुपैयाँ घाटा हुने अवस्था थियो ।

इन्धनको भाउ लिटरमै १५ रुपैयाँ बढाएपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ३६ पैसा, डिजेलमा १२० रुपैयाँ ५४ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा नै रहेको निगमले जनाएको छ ।

निगमले यसअघि पनि मूल्यवृद्धि गरेको थियो ।

प्रकाशित मिति : २०८२ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *