दाङ, चैत ५ । दाङ तुलसीपुर उपमहानगरपालिका – ११ नवलपुरका २६ बर्षीय मदन केसी ५ बर्षका लागि ‘महान नेपाल यात्रा’को यात्रामा निस्किएको बताएका छन् ।
उनले लुम्बिनीको मायादेबी मन्दिर परिशर बाट बिहीबारदेखि ‘महान नेपाल यात्रा’को औपचारिक रुपमा थालनी गरेका बताए ।
६८ बर्षीय बुवा तेजु खत्री र ६५ बर्षीया आमा लक्ष्मी खत्रीको आर्शिबाद थापेर मदनले यात्रा थालनी गरेका हुन ।
अबका पाँच बर्ष उनी घर फर्किने छैनन् बरु खाली खुट्टा मुलुका हरेक गाउँ बस्ति र भूगालहरुमा पैदलले नाप्ने लक्ष्यका साथ यात्रा थालनी गरेका छन् ।
उनले यो यात्रा र अभियानलाई नेपालको इतिहास, राष्ट्रिय स्वाभिमान, सांस्कृतिक पहिचान, जनचेतना, राष्ट्रिय एकता तथा देश चिन्ने–देश बुझ्ने अभियानका रूपमा अथ्र्याए ।
यात्राको मूल उद्देश्य नेपालका विभिन्न भूभाग, समुदाय, संस्कृती, संघर्ष, सम्भावना र जनभावनालाई प्रत्यक्ष रूपमा जोड्नु रहेको भन्दै उनले ‘नेपाल चिनौं, नेपाल जगाऔं, नेपाल बनाऔं’ भन्ने राष्ट्रिय सन्देश प्रवाह गर्नु रहेको बताए ।
सल्यान जिल्लाको दार्मा गाउँपालिका – ५ रातामाताका स्थायी बासिन्दा उनी बिगत ८ बर्षदेखि दाङ तुलसीपुरको नवलपुरमा बसोबास गर्दै आएका छन् ।
मदन र ललिताका २ बर्षे एक छोरा र ७ बर्षीया छोरी छन् । मदनले श्रीमति ललिता लगाएत बुवा आमा सबैको सल्लाह र अनुमतिमा ‘महान पद यात्रामा’ निस्किएको बताए ।
मदनले आफ्नो यात्रा पुरा भएपछि ठाउँ – ठाउँका बिभिन्न ब्यक्तिहरु संग गरिएका कुराहरु लिपी बद्ध गर्दै आफ्नो यात्रा संस्करणसहित पुस्तक प्रकाशित गर्ने चाहानापनि राखेका छन् ।
खाली खुट्टा पाँच बर्षका लागि पद यात्रामा निस्किएको उद्घोष गरेका मदन यसअघि नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको राजनीतिमा सक्रिय थिए ।
बिप्लवको सचिवालयमा बसेर उनले ड्रोन सम्बन्धी आइटीको काम गर्ने गरेको बताए । त्यस्तै उनले पार्टी भित्रै रहेर पत्रकारिताका साथै लेख्ने कामपनि गर्दै आएको जानकारी दिए ।