निरला अर्याल , तुलसीपर , पुस १२ । राप्ती आँखा अस्पतालको आयोजनामा जलविन्दु सम्बन्धी सचेतना तथा प्रशिक्षण कार्यक्रम शनिबार तुलसीपुरमा भयो ।
अस्पतालका मेडिकल डाइरेक्टर तथा जलविन्दु विशेषज्ञ सहायक प्रा.डा. रञ्जितकुमार शाहको अध्यक्षता तथा प्रशासनिक समितिका संयोजक धुर्व गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
बिशेषज्ञ डा. शाहले चोर रोगको नामले चिनिने जलविन्दुका बिरामीले नियमित चेकजाँच, फलोअप, औषधि राख्ने सही तरिका, रोगबाट बच्ने उपाय लगायतका बारेमा अवगत गराएका थिए ।
जलविन्दु जिनका माध्यमबाट सर्ने एक प्रकारको रोग भएको तथा विशेष गरी दाजुभाइ, दिदी बहिनी जस्ता पारिवारीक सदस्यमा देखिन सक्ने भएकाले परिवारका एक जनामा जलविन्दु देखिएमा सम्पूर्ण परिवारले अनिवार्य रूपमा आँखा परीक्षण गराउनु पर्ने उनले सुझाएका थिए ।
जलविन्दु दुई प्रकारका हुने जानकारी दिँदै शाहले एउटामा सुरुवाति लक्षण देखिने र अर्कौ प्रकारमा दृष्टि नशा सुकिसक्दा पनि लक्षण नदेखिने अवस्था रहने बताएका थिए ।
समयमै परीक्षण नगरे भविश्यमा समस्या उत्पन्न हुने अवगत गराइएको थियो ।
जलबिन्दुका बिरामीमा सामान्यतया टाउको दुख्ने, रिंगटा लाग्ने, एक्कासी दृष्टि बन्द हुने, बिस्तारै साइड भिजन कम हुँदै जाने, दृष्टि इन्द्रेणी जस्तो देखिने तथा चम्किलो उज्यालोमा राम्रो सँग नदेखिने जस्ता लक्षण देखा पर्ने शाहले जानकारी दिए ।
शाहले जलविन्दुका बिरामीलाई औषधि कहिल्यै नछाड्न आग्रह गरे । ‘बरु एक छाक भात नखानुस तर औषधि नछाड्नुस,’ उनले भने ‘औषधि हाल्ने समयमै हाल्नुपर्छ, ढिलो गर्दा मनलाई सन्तोष भएपनि औषधिले अपेक्षित काम गर्दैन ।’
शाहले जलबिन्दुका बिरामीको एक दिन औषधि छुटेमा लामो समयसम्म पनि अवस्था बिग्रन सक्ने भन्दै त्यस्ता बिरामीले कहिलै औषधिको प्रयोग छुटाउन नहुने सचेत तुल्याएका थिए ।
कार्यक्रममा अस्पतालका वरिष्ठ दृष्टि विशेषज्ञ ओमप्रकाश यादवले अत्यधिक मानसिक तनावले आँखाको दृष्टि नशा कमजोर बनाउने भएकाले तनावमुक्त जीवनयापन गर्न सुझाएका थिए ।
त्यस्तै डा. वर्षा केसीले नियमित फलोअपका क्रममा डाक्टरले दिएको पुरानो रिपोर्ट साथमै लिएर आउन तथा एक पटकमा एक थोपा भन्दा बढी औषधि नराख्न सुझाइन ।
जलविन्दु भएका बिरामीले नियमित व्यायाम, प्राणायाम तथा योग गर्नुपर्ने र खानपानमा समेत सुधार गर्नु पर्ने उनको सुझाव थियो ।
त्यस्तै सुष्मा जिसीले आँखामा औषधि राख्ने सही तरिकाबारे व्यवहारिक प्रशिक्षण दिएकी थिइन ।
दाङ तथा छिमेकी जिल्लाबाट सहभागी भएका करिब ७० जना जलविन्दु बिरामीको कार्यक्रममा सहभागिता थियो ।