तुलसीपुर , असोज १५ । भदौ २३ र २४ गते भ्रष्टचार अन्त्य र सामाजिक संजाल माथि लगाइएको प्रतिबन्ध फुकुवाको माग गर्दै भएको जेनजी आन्दोलनका क्रममा देशभर आगो बल्यो ।
महत्वपूर्ण सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कर्यालय, नेता बिषेशका घर र होटेलहरुमा पनि आगजनी भयो । त्यसक्रममा ठाउँमा चोरी र लुटपाट गर्ने समुहपनि देखियो ।
सु्पर मार्केटहरुमा होस, सरकारी कार्यालय र ब्यक्ति बिषेशका घरहरुमा चोरी तथा लुटपाटका घटना भए । दाङपनि त्यसबाट अछुतो रहन सकेन । सरकारी कार्यालयमा भएको कुरा छोडौं । निजी सम्पत्ति अन्तरगत नेताको घरका कुरा पनि छोडौं । यहाँ दाङका दुई होटेलहरुमा पनि तोडफोड, आगजनीका क्रममा लुटपाट र चोरीको कुरा मात्रै गरौं । जसबारे बिभिन्न तस्बिरहरु सामाजिक संजालमा छ्याप छ्याप्ती छन ।
घोराहीस्थित ‘माला इन’ होटेलबाट एक हातमा खसीको खुट्टाको सपेटो र अर्कौ हातमा मदिराको बोत्तल समातेर लगेका दृष्यहरु देखिए । तुलसीपुरस्थित ‘कोमल रिसोर्ट’ बाट पनि ज्यूँदा भाले, टर्की, मदिराका बोत्तल लगाएतका सामाग्री लुटपाट तथा चोरी गरि लगिएका तस्बिरहरु भाइरल छन् ।
टिभी, ल्यापटप लगाएतका सामाग्री लगेर जानेहरु पनि प्रसस्तै देखिए । यही बीचमा भदौ २४ गते दिउँसो तुलसीपुर उपमहानगरपालिका बलिरहँदा, जलिरहँदा एउटा फरक दृष्य देखियो । त्यो दिन आगो र धुँवाको मुस्लो बीचबाटै आफ्नो ठेलाहरु उपमहानगरपालिकाको प्राङगनबाट निकालेर गेटवाट र्डोयाउँदै घर तर्फ लैजानेहरु पनि देखिएका थिए । त्यसमध्यका एक जना युवा थिए, बिशाल गुप्ता ।
नगरको मापदण्ड विपरित सडकमा ब्यापार गरेको भन्दै उपमहानगरपालिकाको नगर प्रहरीले जफत गरि ल्याएको आफ्नो ठेला उपमहानगरपालिका जलिरहँदा उनी आफ्नो ठेला डोर्याउँदै घर तर्फ लागेको दृष्य रोचक लाग्ने खाले थियो ।
काठमाडौंका मेयर बालेन शाहले सुरुवात गरेपछि फुटपाठ ब्यापार निरुत्साहित गर्ने भन्दै ठेला सिज गर्ने अभियान मुलुका ठुला सहर बजार जताततै फैलिएको थियो ।
तुलसीपुरको घोराही रोडबाट भदौ १४ गते शनिबारको दिन दिउँसो साढे १२ बजेतिर नगर प्रहरीले गुप्ताको ठेला जबरजस्त उठाएर उपमहानगरपालिका पुर्याएका थिए ।
त्यो दिन गुप्ताले केही केरा, जुम्लाको श्याउहरु ठेलामा राखेर डुलाउँदै बिक्री गरि रहेका थिए । त्यही क्रममा नगर प्रहरीले गुप्तालाई फेला पारेपछि उनको ठेला उठाएर गाडीमा हुलेर लगेका थिए । त्यो दिन जतिअनुनय विनय गर्दापनि नगर प्रहरीले बिशालको कुरा सुनेका थिएनन् ।
तुलसीपुरमा सडक ब्यापार निरुत्साहित गर्ने अभियान आँफुलाई सकुम्बासी भन्न रुचाउने नेकपा एमालेबाट निर्वाचित मेयर टीकाराम खड्का भन्दा पहिलेका र एमालेकै मेयर घनश्याम पाण्डेकै पालादेखि नै सुरु भएको थियो ।
नगर प्रहरीले आफ्नो रोजीरोटीको आधार २० हजार रुपैयाँमा किनेको ठेला उठाएर लगेपछि बिशालले तुलसीपर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीलाई पनि गुहारेको बताए । उद्योग वाणिज्य संघका अध्यक्ष केसीले बिशालले ठेला पाउनु पर्छ भन्ने बारे गरेको अनुनयको कुरा मेयर खड्का समक्ष पुर्याइ दिएका थिए ।
मेयर खड्काले ठेला ब्यबसायी बिशाललाई आँफु कहाँ पठाइ दिन आग्रह गरेको स्रोत बताउँछ । उपमहानगरपालिका पुगेका बिशालले ठेला ब्यबस्थापनको जिम्मा पाएका भनिएका तुलाराम नेपाली संग भेटेर आँफुलाई जरिवाना गर्न र आफ्नो ठेला फिर्ता दिन आग्रह गर्छन ।
तर, नेपालीले गुप्ताको कुरा ठाडै नकारेका थिए । आइसक्रिम वालाका तीन वटा ठेला भने त्यो दिन नेपालीले जरिवाना काटेर छोडेको दाबी बिशालको छ । जस्को स्वतन्त्र रुपमा पुष्टि भने हुन बाँकी छ ।
साइसक्रिम वालाका मात्रै ठेला छोडेपछि बिशालले आँफुमाथि फरक ब्यबहार भएको महसुश गर्छन । विशालले बिगतमा पनि यसअघिका मेयर घनश्याम पाण्डे संग ठेला खोसिदा धेरै पटक भेटेका थिए । ठेला ब्यापार बारेमा धेरै पटक बाझेका थिए ।
अहिलेका मेयर टीकाराम खड्का संग गुप्ता निर्वाचित भएर आएपछि भेटेर ठेला ब्यापार बारे कुराहरु राखेका थिए । तर, त्यसबाट कुनै गुनजायस मिलेन । बरु उनीहरु सडकमा दुर्घटना निम्त्याउने गरि र सडकको सौदर्य बिगार्ने गरि ठेला ब्यापार गर्न पाइदैन भन्दै कड्किन्थे । सडकमा ठेला गुडाएर हैन बरु कोठा भाडामा लिएर ब्यापार गर्न सुझाउँथे । नत्र फेरि जफत हुने चेतावनी दिन्थे ।
बिशाल भने गरिबले पनि सहर बजारमा बाँच्न पाउनु पर्छ – काम गरी खान पाउनु पर्छ भन्ने तर्क प्रस्तु गर्थे । उपमहानगरपालिकाले गरि खान दिएन, बाँच्न आधार खोस्यो भन्ने कुन्ठा बिशालको मनमा उपमहानगरपालिका प्रति बिकसित हुदै गएको थियो ।
उनले पटक/पटक त्यो कुरा लेखेर पनि सावर्जनिक रुपमा ब्यक्त गर्दै आएका थिए । जब एकाएक भदौ २३ मा सरकारले लगाएको सामाजिक संजाल माथिको प्रतिबन्ध फुकुवा र भ्रष्टचार बिरुद्धको आन्दोलनको बिष्फोट भयो । काठमाडौंमा गोली चल्यो । एकै दिन १९ जना जेनजीले साहादत प्राप्त गरे ।
भदौ २४ गते बर्बताका बिरुद्ध देशभर स्वस्फूर्त रुपमा मानिसहरु सडकमा आए । त्यो आन्दोलनमा बिशालपनि सामेल भए । यद्यपी भदौ २४ गते उनी आन्दोलन हेर्न मात्रै गएको दाबी गर्छन । उनी कतै पनि तोडफोड वा आगजनी नगरेको जिकिर गर्छन ।
स्रोतका अनुसार सिसी टिभी फूटेजमा गुप्ताले मेयर टीकारामको कार्यकक्षमा प्रबेश गरि प्रिन्टर तथा कम्प्यूटर लगाएका सामाग्री तोडफोड गरेको तथा आगोमा फालेको दृष्य फेला परेको छ । तर, त्यसको अनुसन्धान र स्वतन्त्र पुष्टि हुन भने बाँकी छ ।
बिशालको दाबी अनुसार भदौ २४ गते दिउँसो उनी तुलसीपुर उपमहानगरपालिका पुग्दा आन्दोलनकारिले आगो झोसी सकेका थिए । सवारी साधन र भवनमा आगो बलिरहेको थियो ।
त्यही बेला उनी आफ्नो ठेला खोज्ने उदेश्यले उपमहानगरपालिका प्रबेश गरेको दाबी उनको छ । जहाँ उनले आन्दोलनकारीले दुई जना नगर प्रहरीलाई कोठा भित्र हुलेर बाहिरबाट चुक्कुल लगाएर आगो लगाइ दिएको देखे । ती दुई नगर प्रहरीको ज्यान जोगाउन आँफुले भूमिका खेलेको बिशालको दाबी छ ।
मेयरको कार्यकक्षमा आगो दन्की रहँदा विशालले नगर प्रहरीले कब्जा गरि ल्याएको आफ्नो ठेला सम्झिए । उपमहानगरपालिकाको पछाडि सौचालय नजिकै जफत गरि राखिएको आफ्नो ठेला उनले देखे । आक्रोसित भिडले जे पायो त्यही चिज बस्तुमा आगो झोसिरहेको थियो ।
बिशालले त्यो ठेला निकाले । त्यो ठेला आफ्नो भएको हुँदा आगो नझोस्न आग्रह गरे । अनि उनी ठेला लिएर धुँवाको मुस्लोको बीच बाट ठेला गुडाउँदै घर तर्फ लागे ।
आगोको मुस्लोको बीच आफ्नो ठेला गुडाउँदै बिशाल उपमहानगरपालिकाबाट बाहिर निस्किएको दृष्य देख्ने प्रत्यक्षदर्सीहरु धेरै थिए । विशाल मात्रै हैन अन्य दर्जन बढी ठेला ब्यबसायीले पनि त्यसै गरेका थिए । ‘म ठेला गुडाउँदै उपमहानगरपालिकाको गेट बाहिर आएर उभिएर हेरेको थिए ।
उपमहानगरको त्यो ठूलो भवनमा आगोमा बलिरहँदा साह्रै नमज्जा लागेको थियो,’ उनले भने ‘ आज पनि मैले त्यो दृष्य भूल्न सकिरहेको छैन । त्यो दृष्य संझदा मलाई निकै ठूलो पीडा बोध हुन्छ । आत्मग्लानी भइरहेको छ ।’ विशालले आँफु पहिलो पटक यस्तो आन्दोलनमा शरिक भएको र आन्दोलन यति उग्र बन्ला भन्ने कल्पना पनि नगरेको बताए ।
यो बीचमा केही ब्यक्तिले आँफुमाथि उपमहानगरपालिकामा राखिएका सवारी साधानमा तोडफोड तथा आगजनी गरेको भनेर धम्कि दिनुका साथै कुटपिट पनि गरेको गुप्ताले बताए ।
तुलसीपुरका एक जना युवाले आफ्नो निजी मोटरसाइकल जलाएको आरोपमा आँफुलाई कुटपिट गरेको, दिनभर थुनाएको उनले बताए ।
त्यही त्रासका कारण घर अभिभावक आत्तिएर ५० हजार तिर्न बाध्य भएको गुप्ताले गुनासो गरे ।