तुलसीपुर , भदौ २४ । दाङको तुलसीपुरमा हालसालै एउटा अनौंठो घटना भएको छ । मरि सकेका भनिएका ब्यक्ति सकुशल घर फर्किएका छन् ।
उनी मरेको भनी ठानेर घर परिवारले छिमेकी देश भारतबाट अपरिचित ब्यक्तिको शब ल्याइ धार्मिक तथा सामाजिक परम्परा अनुसार बबइ नदीमा साउन अन्तिममा मात्रै अन्तेष्टि गरेको थियो ।
त्यसपछि १३ दिनसम्म काजकिरियाका कर्महरु गरेका थिए । तर, मरि सकेका भनिएका र सम्पूर्ण काज किरियाका कर्म गरेका ब्यक्ति भने भदौ २३ गते सकुशल घर फर्किएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका – ११ सुकौराका ४५ बर्षीय शंकर भण्डारी सोमबार मात्रै सकुशल घर फर्किएका हुन । सशस्त्र प्रहरीका पूर्व हवल्दार भण्डारी जेठ २३ मात्रै रोजगारीको खोजीमा छिमेकी देश भारत गएका थिए ।
उनको साउन २१ गते भारतको गुवामा भएको सवारी दुर्घटनामा परि मृत्यु भएको खबर घर परिवारमा दिइएको थियो । साउन २३ गते गुवा बस्ने नेपालीले घर परिवार र आफन्तलाई त्यस्तो सूचना दिएका थिए ।
त्यो सूचना पछि रोजगारीको सिलशिलामा भारतको लखनउमा रहेका भतिज कृष्णलाई घर परिवारका सदस्यले गुवा पठाएका थिए । कृष्ण गुवा पुग्दा ती ब्यक्तिको मृत्यु भएको हप्ता दिन जति भइ सकेको थियो ।
कृष्णले शब नियाल्दा काका शंकरको जस्तै मानेपनि उनी अलमलमा परेका थिए । तर, त्यहाँको प्रहरीले शब छिटो लैजान वा फर्केर जान ताकेता गर्न थालेपछि उनले शब बुझेर ल्याएका थिए ।
काका शंकरको भनेर कृष्णले हवाइ जहाज मार्फत शब लखनउसम्म ल्याएका थिए । त्यहाँबाट गाडी मार्फत साउन २७ गते शब दाङ ल्याइ पुर्याएका थिए ।
शंकरले पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका – ६ गोलौरामा नयाँ घर निर्माण गरेका छन् । रंङ रोगन लगायत घर निर्माणको काम अझैं अधुरै छ । तै, पनि शंकर श्रीमति , एक छोरा र छोरीलाई नयाँ घरमा छोडेर कमाउन भनेर भारत तर्फ लागेका थिए ।
शब आइ पुगेको दिन शंकरको शब एकै छिन गौलारास्थित घरमा राखेर पुर्खेउली गाउँ तुलसीपुर – ११ सुकौरा लगिएको थियो । सुकौरास्थित बबइ नदी घाटमा भारतको गुवा बाट ल्याइएको शब शंकरकै ठानेर अन्तेष्टि गरिएको थियो । त्यो दिन गाउँ घर आफन्त र शुभचिन्तक सबै मलामा गएका थिए । अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
त्यसपछि सोही दिन दिनदेखि शंकरकी श्रीमति र दाजु गौलौरास्थित घरमा कोरा बारेर किरिया बसेका थिए । परम्परा अनुसार उनीहरुले १३ दिनसम्म काज किरियाका कर्महरु गरेका थिए । आफन्त र शुभचिन्तकहरु उनको घरमा समबेदना प्रकट गर्न पुगेका थिए ।
आफ्ना सशस्त्र प्रहरीका हवल्दार पतिको मृत्यु पछि सम्पूर्ण काज किरिया सकेर शंकरकी श्रीमतिले वडा कार्यालयमा मृत्यु दर्ता गराइन । गाउँ समाज टोल सबैलाई शंकरको मृत्यु भएको भन्ने थियो । उनीहरु नै इण्डियाबाट ल्याएको अपरिचित शबलाई शंकरको भनेर अन्तेष्टि गर्ने कार्यमा शरिक जो भएका थिए ।
मृत्यु दर्ता पछि श्रीमान शंकरको नाममा आउने पेन्सन आफ्नो नाममा आउने गराउने अन्तिम प्रक्रिया श्रीमतिले गरि रहेकी थिइन । सोही समयमा मृत्यु भइ सकेका भनिएका उनै शंकर भदौ २३ गते सकुशल एकाएक घर फर्किका हुन ।
घर फर्किए पनि घर परिवारले उनलाई घर जान दिएका छैनन् । पुर्नं जन्म हुनु पर्ने गरि पुरेतले कार्य गर्नुपर्ने, पुनः श्रीमति संग बिवाह गर्नु पर्ने जस्ता सामाजिक परम्पराहरु पुरा गर्नुपर्ने घर परिवार र आफन्तले शंकरलाई आग्रह गर्न थालेका छन् ।
शंकर फर्किर आएपछि सोमबार नै इलाका प्रहरी कार्यालय बाट प्रहरी पुगेर उनी संग सोधपुछ पनि गरेका थिए ।
चलचित्रको कथा जस्तै लाग्ने भएपनि शंकर फर्किए पछि श्रीमति, उनका बालबच्चा, घर परिवार, आफन्त र शुभचिन्तक तथा साथीभाइ भने खुसी छन् ।
शंकरले आँफु गुवामा छँदा समुद्रको बीचमा बस्नु परेको , फोन तथा सामाजिक संजाल चलाउने अवशर निमलेको हुँदा आफ्नो बारे फैलिएका गलत कुराहरु बारे अनभिज्ञ रहेको बताएका छन् ।
उनी भारत गएदेखि नै घर परिवार संग सम्पर्क बिहिन बसेका थिए । उनको मृत्यु बारे सामाजिक संजालहरुमा शुभचिन्तक र आफन्तहरुले समवेदनाहरु प्रकट गरेका थिए ।
यो पनि हेर्नुहोस :-
इण्डियाबाट ल्याएर सुकौराका शंकर भण्डारीको अन्तेष्टि गरियो https://farakkon.com/main-news/95194/?fbclid=IwY2xjawMsnaRleHRuA2FlbQIxMQABHvd7EvFC3-kADn54vb1vUA1_6vbG9OVmBJLI8ENT-jjXzFK0l0B_yl2YofMe_aem_0cLxvFBaNmZG1rqm9pp5kw