
तुलसीपुर, कात्तिक ३० । नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता आँफैले तुलसीपुरका सडकका चोकहरुमा जेब्रा क्रस बनाएका छन् ।
आँफैले आयोजना गरेको नेपाल बन्दमा उनीहरुले ट्राफिक ब्यबस्थापनमा सहयोग पुगोस भनेर तुलसीपुरको बीरेन्द्र चोक लगाएका स्थानमा जेब्रा क्रस बनाएका हुन ।
बन्द सफल पार्न बीरेन्द्र चोकमा खटिएका नेकपा दाङका जिल्ला कमिटी सदस्य बिजय मल्लले दुर्घटना न्यूनिकरणमा सहयोग पुगोस भन्ने उदेश्यले आफु लगाएतका नेता कार्यकर्ता मिलेर बन्दको सदुपयोग गर्दै सडकमा जेब्रा क्रस निर्माण गरेको जानकारी दिए ।
बन्द कर्ताले आँफैले सडकमा बनाएका पेन्टिङमाथि नहिडन पैदल यात्रु र सञ्चालनमा आएका अत्यावश्यक यातायातका साधनलाई पनि तत्काल पेन्टिङमाथि बाट गाडी नगुडाउन आग्रह समेत गरिरहेका थिए ।
बन्द गराउन चोकमा खटिएका बिप्लवका नेता कार्यकताले आँफै सडकमा झाडु लगाएर जेब्रा क्रस निर्माण गर्न थालेपछि सुरक्षाको लागि चोकहरुमा खटिएका प्रहरी र सर्वसाधारणले पनि त्यो रुचि पूर्वक नियालेको देखिन्थ्यो ।
जिल्ला सदस्य मल्लले साधन स्रोतका अभावले सबै चोकहरुमा जेब्रा क्रस निर्माण गर्न नसकिएको र फेरि सहयोग मागेर तुलसीपुरका अन्य चोकहरुमा पनि सर्वसाधारणको सजिलोको लागि जेब्रा क्रस निर्माण गर्ने योजना रहेको जानकारी दिए ।
उनले अब छिट्टै बजार क्षेत्र र मुख्य राजमार्ग क्षेत्रका सडकका खाडलहरु पुर्ने योजना रहेको जानकारी दिए ।
सडक भरि नै खाडल परेपनि ती पुर्न कसैले चासो नदिएको हुँदा दुर्घटनाहरु बढेको हुँदा दुर्घटना न्यूनिकरणमा सघाउ पुगोस भनेर आफ्नो पार्टीले सडकका ठूला खाल्डा खुल्डी पुर्ने निर्णय गरेको मल्लले बताए ।
यही हप्ता भित्रै आँफुहरु सडकहरुका खाल्डा खुल्डी पुर्नका लागि खटिने मल्लले जानकारी दिए ।
सडकमा पेन्टिङ गर्नु पूर्व उनीहरुले सडक पनि आँफै झाडु लगाएर बढारेका थिए । पेन्टिङ गरेपछि उनीहरुले सडक मै ‘एकीकृति जनक्रान्ति जिन्दाबाद’ भन्ने नारापनि लेखेका छन् । तुलसीपुरका केही चोकहरुमा जेब्रा क्रस बनाउँदा झन्डै ७ हजार जतिको रंग खर्च भएको हुनुपर्ने मल्ले अनुमान गरे ।