तुलसीपुर, चैत २८ ।
तुलसीपुर – घोराही चारलेन सडक बिस्तारको काम तीब्र गतिमा भइ रहेको छ ।
माघ १ गतेदेखि भौतिक रुपमा सुरु भएको सडक बिस्तारको काम तीन महिनाको अवधिमा झन्डै ८ प्रतिसत प्रगति भएको छ ।
सडक बिस्तारको काममा चारवटा एक्सकाभेटर, एउटा ग्रेडर, दुईवटा रोलर, तीन वटा ब्याकहो लोडर, पाँच वटा ट्रिपर, एउटा ट्रेलर, एउटा सानो क्रेन, तीनवटा ट्याक्टर, तीनवटा पानीट्याँकी गरी २३ वटा निर्माणसँग सम्बन्धित सवारीरउपकरण सञ्चालनमा छन ।
डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्रकुमार बिष्टका अनुसार कालोपत्रे गरेको क्षेत्र बाहेक सडकको दायाँ बायाँ माटोपटान कार्य १४ किलोमिटरसम्म सम्पन्न भएको छ ।
रतनपुरदेखि दुधराससम्म २४ वटा बक्स कल्भटहरु निर्माणाधीन छन । जसमध्ये चारवटा सम्पन्न उन्मुख छन ।
सर्रादेखि दुधराससम्मका विभिन्न क्षेत्रमा सडक छेउका संरचनाहरू निर्माणकार्य भइरहेको छ।
त्यस्तै सौडीकुला नजिक एउटा स्ल्याब कल्भर्ट निर्माणाधिन अवसथमा छ ।
दुधरास र सौडीकुला क्षेत्रमा नालीको काम सुरु भइरहेको छ। क्याम्पमा तयारी अवस्थाको नाली करिब २ दशमलब ५ किमी बनी सकेको छ ।
गुर्जे खोलादेखि बेलझुण्डीसम्म बिजुलीका पोलहरू स्थानान्तरण गर्ने कार्य सम्पन्न भइसकेको छ भने घोरहीदेखि गुर्जे खोलासम्मको बिजुलीका पोलहरू स्थानान्तरण गर्ने कार्य भइरहेको छ ।
मोबाइल क्रसर प्लान्ट, मोबाइल स्क्रिन प्लान्ट, मोबाइल स्यान्ड वाशर र अस्फाल्ट प्लान्ट क्याम्पमा स्थापना भएका छन ।
हालसम्म करिब ८ प्रतिशत भौतिक प्रगति भएको छ भने करिब ६ प्रतिशत वित्तीय प्रगति भएको छ।
पुलहरु तर्फ
सेवार खोलामा पुल निर्माण गर्न ३ वटा फाउन्डेसन र एउटा सब स्ट्रक्चर निर्माणको कार्य पुरा भएको छ ।
यो पुलमा हालसम्मको भैतिक प्रगति करिब ५२ प्रतिसत पुगेको छ ।
आर्थिक बर्ष २०८२ /०८३ को अन्त्यसम्ममा एउटा स्प्यानको सव स्ट्रक्चर सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
त्यस्तै हापुर खोला पुलमा हालसम्म २ वटा फाउन्डेसनको निर्माण कार्य सम्पन्न भएको छ । यो पुलमा हालसम्मको भैतिक प्रगति करिब २० प्रतिसत रहेको छ ।
आर्थिक बर्ष २०८२ /० ८३ को अन्त्यसम्ममा ४ वटा फाउन्डेसन र एउटा वटा सब स्ट्रक्चरको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
त्यस्तै ग्वार खोला पुलमा ३ वटा फाउन्डेसन र एउटा वटा सव – स्ट्रक्चरको निर्माण कार्य सम्पन्न भएको छ ।
यो पुलमा हालसम्मको भैतिक प्रगति करिब २५ प्रतिसत रहेको छ ।
आर्थिक बर्ष २०८२ /० ८३ को अन्त्यसम्ममा ४ वटा फाउन्डेसन र ४ वटा सव स्ट्रक्चर सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
त्यसतै कालाखोलामा पनि धमाधम पुल निर्माणको काम जारी छ । डाइभर्सन निर्माण गरि एउटा फाउन्डेसनको काम भइरहेको छ ।
आर्थिक बर्ष २०८२/८३ को अन्त्यसम्ममा ३ वटा फाउन्डेसनको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
तुलसीपुर–घोराही सडक चार लेनमा विकास गर्न लागत अनुमान भ्याट बाहेक २ अर्ब ८८ करोड ८२ लाख ३९ हजार ७८० रूपैयाँको टेन्डर आह्वान भएको थियो। निर्माण कम्पनी ‘दिवारवन्दन भगवती जेभी’ ले सम्झौतापछि भ्याट बाहेक २ अर्ब २४ करोड ५६ लाख १७ हजार १३४ रूपैयाँमा काम सकारेको थियो।
त्यो रकमले तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको डिके पेट्रोल पम्पसम्म २१.५८ किलोमिटर सडक चार लेनमा विकास गरिने छ। ठेक्का सम्झौता अवधि ३६ महिनाको छ।
सडकले ओगट्ने ३० मिटर र कालोपत्रेको चौडाइ चार लेनको बीचमा मिडियन र दुवैतर्फ २/२ लेनको सडक हुनेछ।