तुलसीपुर , मंसिर २०। दाङ प्रहरीले बालुवा, गिट्टी चोरी गरेको आरोपमा १९ दिनमा १८ वटा बिभिन्न सवारी साधन माथि कारबाही गरेको छ ।
त्यो कारबाही बाट चार लाख साढे ३७ हजार राजश्व संकलन भएको छ ।
मंसिर १ गतेदेखि १९ गतेसम्मको अवधिमा जिल्लाका बिभिन्न स्थानबाट १३ वटा ट्रयाक्टर, तीन वटा टिप्पर र दुई वटा जेसिबी पक्राउ गरि कारबाही आर्थिक कारबाही भएको थियो ।
जिल्ला प्रहरी कार्यालय घोराही दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार १३ वटा ट्रयाक्टरलाई आर्थिक जरिवना गर्दा दुई लाख २० हजार, तीन वटा टिप्पर बाट एक लाख २७ हजार पाँच सय ४० र दुई वटा जेसिबीलाई आर्थिक कारबाही गर्दा ९० हजारसमेत गरि कुल चार लाख ३७ हजार पाँच सय ४० रुपैयाँ राज्य कोषमा राजश्व दाखिला भएको हो । नदी तथा खोला जन्य बस्तु माथि हुँदै आएको चोरी निकासी प्रति प्रहरी प्रशासनले कडाइ गर्दै गएको देखिन्छ ।
जिल्लामा हालसम्म स्थानीय सरकारले स्थानीय खोला तथा नदीहरु अझैं ठेक्कामा लगाइ सकेका छैनन् । पछिल्लो सयम स्थानीय स्रोत साधन माथिको अधिकार स्थानीय सरकारलाई प्रदान गरिएको छ ।
स्थानीय खोला नाला तथा नदीहरुका बालुवा, गिट्टी र ढुँगा जन्य बस्तुको ठेक्का लगाउने दायित्व स्थानीय सरकारहरुको हो । यसअघिका बर्षहरुमा दसै / तिहार पछि ठेक्का खोल्ने गरिन्थ्यो । तर, पछिल्ला बर्षहरुमा समयमै खोला तथा नदीमा थुप्रिएको पदार्थ समयमै ठेक्का नखोल्दा त्यसमाथि चोरी निकासी बढ्दै गएको सरोकारवालाहरुले बताउने गरेका छन् ।
