२०८२ मङ्सिर २० गते शनिवार

तुलसीपुर – घोराही सडक बाट अझैं कति रुख काट्न र विद्युत पोल सार्नु पर्ला ?

कति लाग्ला खर्च ?

घोराही, मंसिर १९ । तुलसीपुर – घोराहीलाई जोड्ने मुख्य सडक चारलेनमा स्तरोन्नतिको काम भइरहँदा सडक क्षेत्रबाट हटाउनुपर्ने नौ सय ९३ वटा विद्युतका पोल रहेका छन भने सडक क्षेत्रमै रहेका एक सय १६ वटा रूख पनि हटाउनुपर्ने निर्माण कम्पनी तथा विद्युत कार्यालयले जनाएका छन् ।

विद्युत पोलको पुनर्संरचना र रुख हटाउने विषयमा भने अझै ठोस निर्णय हुन सकेको छैन ।

चारलेनको काम गुर्जे खोलाबाट सुरु भइरहँदा स्तरोन्नति गरिने क्षेत्रमा माटो फिलिङ गरी रोलर लगाउने कामसमेत धमाधम सुरु भइरहेको छ । तर, बिचबिचमा रहेका विद्युत पोलहरूको पुनःव्यवस्थापन हुन नसक्दा काममा अवरोध हुने निर्माण कम्पनीले जनाएको छ । यसैगरी रुख हटाउने प्रक्रियाका विषयमा अझै काम सुरु हुनसकेको छैन ।

रुख हटाउने काम सडक डिभिजन कार्यालय दाङ र डिभिजन वन कार्यालय दाङको समन्वयमा हुने बताइएको छ भने विद्युतका पोल अन्यत्र व्यवस्थापन स्वयम् विद्युत प्राधिकरणले गर्ने कानुनी व्यवस्था छ । यद्यपि पोल अन्यत्र पुनःस्थापन गर्न लाग्ने खर्च भने निर्माण कम्पनीकै हुने निर्माण सम्झौतामा उल्लेख भएको छ ।

पछिल्लो पटक निर्माण कम्पनी र विद्युत कार्यालयका प्राविधिकले गरेको सर्वेक्षण अनुसार घोराही क्षेत्रका १६ किलोमिटर सडक क्षेत्रमा कम्तीमा छ सय ६८ वटा विद्युतका पोल अन्यत्र सार्नुपर्ने देखिएको छ ।

त्यसमा हाइटेन्सन ३३ केभीका दुई सय १५ वटा, ११ केभीका दुई सय ५६ वटा पोल र एलटी दुई सय २० भोल्टका पोल एक सय ९७ वटा रहेका छन् । यी हटाइने पोलहरू साविक सडकको केन्द्रविन्दुबाट दायाँ १५ मिटर र बायाँ पन्ध्र मिटर क्षेत्रभित्र रहेका छन् ।

यी पोलहरू अन्यत्र व्यवस्थापन गर्न घोराही विद्युत प्राधिकरण कार्यालयले लागत स्टिमेटसमेत सुरु गरेको छ । विद्युत प्राधिकरण घोराहीका अनुसार ३३ केभीका पोल पुनःस्थापन गर्न ६० लाख रुपैयाँ लाग्ने स्टिमेट तयार गरेर केन्द्रमा पठाइसकिएको छ । अन्य पोल सार्न कति लागत लाग्ने भन्ने सन्दर्भमा प्राविधिक मूल्याङ्कन भइरहेको विद्युत कार्यालय घोराहीका फोरम्यान पूर्ण खातीले जानकारी दिएका छन ।

यसैगरी तुलसीपुर क्षेत्रको सडकका विद्युत पोलहरूको पुनर्संरचना तुलसीपुर विद्युत प्राधिकरणले गर्नेछ । यसका लागि पनि आर्थिक व्यवस्थापन भने निर्माण कम्पनीले नै गर्नेछ । विद्युत कार्यालय तुलसीपुरका प्रमुख सुरेश महतोका अनुसार तुलसीपुरको सडक क्षेत्रमा ३३ केभीका पोल एक सय वटा, ११ केभीका पोल एक सय १० वटा र एलटी दुई सय २० भोल्टका पोल एक सय १५ वटा गरी जम्मा तीन सय २५ वटा सडक स्तरोन्नतिका क्रममा पुनर्संरचना गर्नु पर्नेछ ।

यसका लागि कति बजेट लाग्ने भन्ने लागत स्टिमेट भने अझै तयार भई नसकेको विद्युत कार्यालय तुलसीपुरका प्रमुख महतोले बताएका छन । यसले सडक क्षेत्रका विद्युत पोलहरू पुनःव्यवस्थापनका लागि लामो प्रक्रिया हुने देखिएको छ ।

जसका कारण सडक स्तरोन्नतिमा अवरोध सिर्जना हुनसक्ने अनुमान निर्माण कम्पनीको छ । निर्माण कम्पनीले विद्युतका पोलहरूको पुनर्संरचनाका लागि छिटो भन्दा छिटो पहल गरिदिन सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

हटाइएका पोलहरू कहाँ पुनः व्यवस्थापन हुन्छ ?

सडक स्तरोन्नतिको क्रममा हटाइएका विद्युत पोलहरू कहाँ व्यवस्थापन हुन्छन ? कतै व्यक्तिको जग्गामा व्यवस्थापन गर्नु पर्ने हो कि ? भन्ने जस्ता प्रश्न उठिरहेका बेला हटाइएका विद्युत पोलहरू सडकको अन्तिम किनारामै व्यस्थापन हुने डिभिजन सडक कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टले बताएका छन । ती पोलहरू सडकको ‘राइट अफ वे’ र त्यस बाहिरको जग्गाको साँधमा राखिने छन ।

२०३४ सालमा प्रकाशित राजपत्र अनुसार यो सडकलाई सहायक राजमार्गका रूपमा लिइएको छ । यसको ‘राइट अफ वे’ केन्द्रबाट १५ मिटर दायाँ र १५ मिटर बायाँ नै हो । त्यसैले हटाइएका पोल सडकको जग्गा र व्यक्तिले चर्चेको जग्गाको साँधमै व्यवस्थापन हुने डिभिजन सडक कार्यालयले जनाएको छ । तर २०७६ सालमा प्रकाशित राजपत्रमा भने यो सडकलाई राजमार्गका रूपमा स्थापित गरी ‘राइट अफ वे’ सडकको केन्द्रदेखि २५ मिटर दायाँ र २५ मिटर बायाँ हो । यद्यपि यसको लगत कट्टा भने भएको छैन ।

रुख कटानको काम प्रक्रियामा गइसक्यो

यसैगरी रुख हटाउने प्रक्रिया पनि सुरु भइसकेको छ । रुख हटाउने जिम्मा डिभिजन वन कार्यालयको भएकाले डिभिजन वन कार्यालयले यो संयोजन गर्न घोराहीदेखि तुलसीपुरसम्मको सडक क्षेत्र हेर्ने सब डिभिजन वन कार्यालयहरू अम्विकेश्वरी सब डिभिजन वन कार्यालय, नारायणपुर सब डिभिजन वन कार्यालय, बिजौरी सब डिभिजन वन कार्यालय र तुलसीपुर सब डिभिजन वन कार्यालयलाई पत्राचार गरिसकेको छ ।

कटान आदेशको प्रक्रिया भने यस अघि नै सडक सुधार आयोजनाले काम गरिरहँदा भइसकेको थियो ।


साभार – गोरक्ष राष्ट्रिय दैनिक

प्रकाशित मिति : २०८२ मङ्सिर १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *