२०८२ मङ्सिर २० गते शनिवार

दंगीशरणमा ‘छोरी सम्मान कार्यक्रम’ प्रभावकारी बन्दै

हालसम्म ३९९ जना बालिकाको खातामा पैंशा जम्मा

प्रमोद आचार्य, दंगीशरण, मङ्सिर १४ । दंगीशरण गाउँपालिकामा सञ्चालन भइरहेको छोरी सम्मान कार्यक्रम क्रमशः प्रभावकारी बन्दै गएको स्थानीय तहका प्रतिनिधिहरूले बताएका छन ।

सदियौँदेखि चलेको पितृसत्तात्मक सोचका कारण सामाजिक रूपमा पछाडि पारिएका समूहको रूपान्तरण, पारिवारिक दृष्टिकोणमा सकारात्मक परिवर्तन तथा समग्र सामाजिक परिवर्तन ल्याउने उद्देश्यका साथ यो कार्यक्रम प्राथमिकताका साथ अघि बढाइएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले जानकारी दिए।

गाउँपालिकाले छोरी सम्मान कार्यविधि, २०७९ निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ । गाउँपालिकाको प्रशासकीय कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम बालविवाह न्यूनीकरण र बालिकाको सामाजिक सुरक्षा अभिवृद्धिका लागि यो कार्यविधि जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले बताए।

कार्यविधिअनुसार, २०७९ साल श्रावण महिनादेखि जन्मिएका बालिकाहरूको नाममा मासिक ३०० का दरले १८ वर्ष पुगेसम्म रकम बैंक खातामा जम्मा गरिँदै आएको छ । एक परिवारमा जन्मिएका दुई छोरीसम्म कार्यक्रममा समावेश हुने व्यवस्था छ ।

१८ वर्षसम्म संकलित बचत रकम परिवारले छोरीको शिक्षा, स्वास्थ्य सेवा तथा उद्यमशिलता विकासमा खर्च गर्न सक्ने उल्लेख कार्यविधिमा गरिएको छ।

महिला तथा बालबालिका शाखा प्रमुख सुनकुमारी घर्तीका अनुसार, २०७९ साउनदेखि २०८२ मंसिरसम्म कुल ३९९ बालिकाले यो कार्यक्रममार्फत सुविधा पाएका छन ।

२०७९ असोज २८ गतेदेखि औपचारिक रूपमा लागू भएको कार्यक्रम हालसम्म स्थानीयमा लोकप्रिय र प्रभावकारी रूपमा स्थापित भएको स्थानीयवासीले बताएका छन ।

गाउँपालिकाले भौतिक पूर्वाधार विकाससँगै मानव विकासलाई पनि प्राथमिकतामा राख्दै सञ्चालनमा ल्याएको छोरी सम्मान कार्यक्रम स्थानीय तहमा उदाहरणीय कार्यक्रमको रूपमा लिइएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *