घोराही, भदौ १४ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट न्यूरो सर्जरी सेवा प्रभाबकारी बन्दै गएको छ ।
न्युरो सर्जन डा. उपमा शर्माले प्रतिष्ठानबाट सेवा सुरु गरेपछि अहिले न्यूरो सर्जरी सेवा प्रभाबकारी बन्दै गएको अस्पताल प्रशासनको दाबी छ ।
पाँच महिनामा करिब २ हजार ५ सय बिरामीले ओपिडीबाट सो सम्बन्धि सेवा लिएका अस्पतालले तथ्याङ्क सार्वजनिक गरेको छ ।
प्रतिष्ठानमा हाल स्पाइन र ब्रेनको अपरेशन हुँदै आएको छ । स्पाईन सम्बन्धि ६ वटा र गत असार महिनादेखि ५ वटा ब्रेन सम्बन्धि अप्रेसन गरिएका रेकर्ड छ ।
ती सबै बिरामी उपचार पछि घर फर्किएका थिए । प्रतिष्ठानमा न्यूरो सर्जरी सेवा नहँुदा बिरामीहरु उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।
पहिला यस्ता सेवाहरु लिन कोहलपुर र नेपालगञ्ज मेडिकल कलेजमा त्यस्तो सेवा लिन जानुपर्ने अवस्था थियो ।
न्यूरो सर्जरी सेवामा टाउको, गर्दन, ढाड, हातखुट्टा दुखेको, दुर्घटना वा लडेर टाउको वा ढाडमा चोट लागेको, गर्दन, ढाड, हात खुट्टाको नसा च्यापीएको, पक्ष घात, बेहोस भएको, रगत जमेको (ब्रेम हेमोरेज), छार रोग (मिर्गी) , ब्रेन वा ढाडको ट्युमर भएको, कम्मर दुख्ने, हातखुट्टा झम्झमाउने, पोल्ने, निदाउने र कमजोर भएको जस्ता उपचार हुँदै आएका छन् ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले प्रतिष्ठानमा ब्रेन ट्युमरको अपरेसन शुरु भएसंगै न्यूरो सर्जरी सेवा सकारात्मक उपलब्धि मान्न सकिने बताए ।
न्युरोसर्जरी सम्बन्धी सबै उपकरण व्यवस्थापनको अन्तिम तयारी भइ रहेको र उपकरण खरिद गर्न सरकारले १४ करोड विनियोजन गरे अनुसार हाल टेण्डरको काम भइरहेको उनले बताए ।
रजिस्ट्रार लम्सालले मुटु उपचारको लागि १० करोडको क्याथ ल्याब मेसिन खरिद भदौ महिना भरिमा जडान हुने बताए ।
त्यस्तै चार अरब ५१ करोड लागतको चार सय शैया अस्पताल यसै आर्थिक बर्षमा निर्माण शुरू हुने उनले जानकारी दिए ।
