दाङ, असोज ३ । लुम्बिनी प्रदेशमा ३ बर्षको अवधिमा करिब ४ हजारले आत्महत्या गरेका छन् ।
प्रदेशका १२ जिल्लाहरुमा तीन बर्षको अवधिमा ३ हजार ९ सय ७५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बीरबहादुर वलीले जानकारी दिएका छन् ।
उनले बितेको ३ आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा करिब ४ हजारले आत्महत्या गरेका बताए ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७६–०७७ मा १ हजार २ सय ३३ जना, आर्थिक वर्ष २०७७–०७८ मा १ हजार ४ सय ८ जना र आर्थिक वर्ष २०७८–०७९ मा १ हजार ३ सय ४१ जना गरी कुल ३ हजार ९ सय ७५ जनाले आत्महत्या गरेका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वलीले जानकारी दिएका छन् ।
उनका अनुसार लुम्बिनीका १२ जिल्लाहरुमध्ये सबैभन्दा धेरै आत्महत्या गर्ने रुपन्देहीमा रहेका छन् । प्रहरीको तथ्याङ्कअनुसार आर्थिक बर्ष २०७८÷०७९ मा २ सय ६७ जनाले आत्महत्या गरेका छन् ।
त्यसैगरी दाङमा २ सय १४ जना, कपिलवस्तुमा १ सय ६६ जना, बर्दियामा १ सय ६१ जना, पाल्पामा ७५ जना, गुल्मीमा ७१ जना, रोल्पामा ७३ जना, प्युठानमा ६८ जना, अर्घाखाँचीमा ५९ जना, बाँकेमा ५८ जना र रुकुममा १२ जनाले आत्महत्या गरेका छन् ।
प्रहरी प्रमुख वलीका अनुसार दाङमा आर्थिक वर्ष २०७६–०७७ देखि हालसम्म ७ सय १२ जनाले आत्महत्या गरेका छन् ।
जसअनुसार आर्थिक वर्ष २०७६–०७७ मा २ सय २४, आर्थिक वर्ष २०७७–०७८ मा २ सय ३८ जना, आर्थिक वर्ष २०७८–०७९ मा २ सय १४ जना तथा चालु आर्थिक वर्ष २०७९–०८० को हालसम्म ३६ जना गरी जम्मा ७ सय १२ जनाले आत्महत्या गरेका छन् ।
जसमा झुण्डिएर सबैभन्दा धेरै ५ सय १९ जनाले आत्महत्या गरेका छन् ।
त्यसैगरी विष सेवन गरी १ सय ४७ जना, हाम फालेर ९ जना र आगो लगाएर एकजनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जिल्लाका दश पालिकाहरुमध्ये सबैभन्दा धेरै आत्महत्या गर्नेमा घोराही उपमहानगरपालिका रहेको छ भने सबैभन्दा कम राजपुर गाउँपालिकामा हुने गरेका छन् ।
आत्महत्याको बढ्दो संख्यालाई ध्यानमा राखेर गहनरुपमा अध्ययन अनुसन्धान अघि बढाइएको उनले बताए ।
खास कारण पहिचान गरी समस्या समाधानका लागि सबैलाई जागरुक बनाउने योजना रहेको उनको भनाइ छ ।
प्रहरी अध्ययनका अनुसार १३ प्रतिशत भन्दामाथि पुरुष, ७ प्रतिशत भन्दामाथि महिला छन् । उमेरका हिसावले १५ देखि ४९ वर्षका बढी मात्रामा मानिसको संलग्नता बढी आत्महत्या माध्यम अनुसार फरक फरक हुने गरेको छ ।
मानसिक तनाव, प्रेममा धोका, पारिवारिक कलह, गरिवी, शारीरिक यातनासँगै आवेशमा अधिकांशले आत्महत्या गर्ने गरेका प्रहरी प्रमुख वलीले बताएका छन् ।
‘आत्महत्याका विभिन्न कारणहरु देखिन्छन्’, प्रहरी प्रमुख वलीले भने– ‘जसमध्ये अधिकांशले आवेशमा आएर आत्महत्या गरेको देखिन्छन् । त्यसका साथै पारिवारिक कलह, मानसिक तनाव, दीर्घरोगी तथा आर्थिक लेनदेनका कारण पनि देखिन्छ ।’
साथै देखासिकीले महत्वाकांक्षा बढेको, व्यवसायीहरु आर्थिक संकटमा फसेका, बैंकको बढ्दो व्याजदरले व्यवसायबाट पलायन भएर आत्महत्यासम्म पुग्ने गरेको बताए ।