काठमाडौँ ,माघ १५ । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदरको माग गर्दै महान्यायाधीवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । त्यसका लागि महान्यायाधीवक्ता कार्यालयले एकर दुई दिनमै निवेदन दर्ताको तयारी थालेको छ ।
महान्यायाधीवक्ताको कार्यालयका सहन्यायाधीवक्ता संजीवराज रेग्मीले लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिने तयारी गरेको अन्नपूर्णलाई जानकारी दिए ।
उनले भने,‘हामीले केहि दिनमै निवेदन दर्ता गर्दैछौं। तयारीका क्रममा छौं। उच्च सरकारी वकिल कार्यालय पाटनले पठाएको मस्यौदामा थपघट गरिरहेका छौं। ु लामिछानेलाई धरौटीमा छाड्ने आदेश कानुनविपरित भएको सरकारी वकिलको ठहर छ।
उच्च अदालत पाटनले पुस २८ गते लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको थियो।
उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। उनका अनुसार लामिछानेलाई विदेश जान रोक लगाइएको छ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्।
जाहेरीपछि लामिछाने सम्पर्कविहीन भएका थिए। प्रहरीले पक्राउ पुर्जी जारी गरी उनलाई पक्राउ गर्नको लागि इन्टरपोलसँग आग्रह गरेको थियो। जाहेरी परेको करिब एक महिनापछि असोज २० गते सन्दीप नेपाल फर्किएका थिए। प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।