दाङ, माघ १४ । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिवार एक कार्यक्रमको आयोजनामा गरी जिल्ला बचत तथा ऋण सहकारी संघ र जिल्ला सहकारी संघ दाङको संचालक समिति र लेखा समितिमा नवनिर्वाचित व्यक्तिहरुलाई स्वागत,सम्मान र बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ ।
कलश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालचन्द्र शर्माको सभापतित्व एवं जिल्ला समन्वय समितिका संयोजक नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि शर्माले राज्यले चारखम्बे अर्थनीतिको रुपमा सहकारीलाई पनि आर्थिक मेरुदण्डको रुपमा परिभाषित गरेको र देशभरमा विभिन्न प्रकृतिका करिव ३६ हजार सहकारी संस्थाहरुको माध्यमबाट जनताहरुको आर्थिक,सामाजिक,साँस्कृतिक र सामुदायिक पहुँच विस्तार गर्नुका साथै यसको माध्यमबाट देशभरमा करिव १ लाख भन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गरेको बताए ।
सहकारी अभियानले खर्वाैंको पुँजी परिचालन मार्फत मुनाफा आर्जन गरि राज्यलाई अर्वाैं रुपैयाँ राजश्वमा योगदान गरेको भन्दै उनले राज्यलाई यति ठूलो सहयोग गर्ने अभियान संचालनका क्रममा आउने कानुनी जटिलताहरुको अन्त्यका लागि आफूले समन्वय गर्ने बताए ।
बैंक वा अन्य वित्तीय संस्थाहरुमा पहुँच नपुग्ने देशका र हाम्रै जिल्लाका दुरदराजमा रहेका सर्वसाधारण जनताहरुलाई सहकारीको माध्यमबाट बचत गर्न सिकाउनु र ऋण उपलव्ध गराई स्वावलम्बी बन्न सिकाउनु सहकारी अभियानको लोककल्याणकारी कार्य भएको भन्दै प्रमुख अतिथि शर्माले सहकारी अभियानमा जोडिएर सकारात्मक सोंचका साथ आफ्नो जीवनको अमूल्य समयहरु व्यक्ति गर्न सबै अभियानकर्मिहरुमा उत्साहित भई कार्य गरी दाङको सहकारी अभियानलाई देशभरमा उत्कृष्ट बनाउन नवनिर्वाचित पदाधिकारीलाई शुभकामना पनि ब्यक्त गरे ।
जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतमले जुन उद्देश्य लिएर सहकारी दर्ता गरेका थियौं त्यो सहकारीले गर्न सकेका नसकेका कारण देशको बित्तिय अवस्था कमजोर भएका कारण त्यसको असर सहकारी संस्थामा पनि परेको बताए ।
सहकारी संस्थाको लगानी अनुत्पादन क्षेत्रमा लागेकै कारण अहिले सहकारी संस्था अप्ठेरोमा परेको भन्दै उनले डिभिजन सहकारी कार्यालको जिम्वेवारी पालिका तहमा पुगेपनि त्यसको अनुगमन गर्ने केहि पालिकाले त सहकारीको फाइल खोल्न समेत नभ्याएको गुनासो गरे ।
पालिकाहरुको सहकारीलाई दिशा निर्देशन र समन्वय गर्ने जनशक्तिको अभाव भएको गुनासो उनको छ ।
कार्यक्रममा बोल्दै जिल्ला बचत संघका अध्यक्ष बिमलकुमार अधिकारीले कलश बचत तथा ऋण सहकारी संस्थाले सहकारीकर्मीलाई एउटै थलोमा जुटाएर समस्याका बारेमा साझा छलफल गर्ने कार्य गरेकोमा खुशी ब्यक्त गरे ।
सहकारी अहिले नाममा मात्रै समिति हुने अवस्था आएको भन्दै उहाँले सहकारी भित्रभित्र धमिराले काठ खाए जस्तै जरजरको अवस्थामा पुगेको बताए ।
अव पनि सहकारी अभियानलाई राम्ररी गरीएन भने सहकारी संस्थामा ताला लगाएर पदाधिकारीहरु जेल जान आउने अवस्था छ भन्दै उनले निति, बिधि र प्रविधिमा सहकारीलाई अगाडी बढाउन जरुरी रहेको बताए ।
बित्तिय संकटका कारण पनि सहकारी बिच मर्ज गर्न जरुरी छ भन्दै अध्यक्ष अधिकारीले सहकारीकर्मीहरु आफ्नो पद र प्रतिष्ठा हेरेर छुट्टाछुट्टै अगाडी बढ्ने अवस्था नरहेको बताए ।
घोराही उपमहानगरपालिका सहकारी तथा रोजगारी प्रर्वद्धन शाखाका प्रमुख प्रेम केसीले सहकारी संस्थालाई अनुगमन र समन्वय गरी राम्रा बनाउनका लागि आफ्नो शाखाले काम गरिरहेको बताए । सरोकारवालाई बिच समन्वय गरी अघी बढ्नुपर्नेमा केसीले जोड दिए ।
नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) दाङ शाखाका प्रमुख बिष्णु जोशीले सहकारीहरुसँग समन्वय गरेर जिल्लाको सहकारी अभियानलाई अझ प्रभावकारी बनाउनका लागि आफू तयार रहेको प्रतिवद्धता ब्यक्त गरे।
कलश बचत तथा ऋण सहकारी संस्थाका प्रेस सल्लाहकार हेमराज शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा कोषाध्यक्ष नवराज भण्डारीले सहकारी संस्थाको शुरुदेखि हालसम्मको अवस्थालाई समेटेर प्रस्तुती राखेका थिए ।
उक्त कार्यक्रमको सहजिकरण संस्थाका सचिव बिमल योगीले गरेका थिए ।