२०८१ बैशाख १२ गते बुधवार

पालिकाबाट स्वास्थ्य स्वयंसेविकालाई निवृत्तिभरण

गुल्मी,पुस २० । गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेविकालाई निवृत्तिभरण दिने भएको छ ।

गाउँपालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश लिएका महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक एक हजारका दरले निवृत्तिभरण उपलब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताए ।

संघीय सरकारले ६० वर्ष उमेर पुगी निवृत्त हुने स्वास्थ्य स्वयंसेविकाहरुलाई एकमुष्ट २० हजार रुपैयाँ उपलब्ध गराउँदै आएकोमा पालिकाले उक्त रकममा ३० हजार थप गरी एकमुष्ट ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेकोे अध्यक्ष पाण्डेले बताए ।

पाँच वर्ष भन्दा बढी सेवा अवधि पुगेर बीचैमा अवकाश लिनेहरुको हकमा भने पालिकाले एक मुष्ट दश हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकालाई निवृत्तिभरण उपलब्ध गराउने विषयमा पालिकाबाट बजेटको सुनिश्चितता समेत गरिसकिएको छ ।

निवृत्तिभरणको विषयमा कार्यविधि बनाउन लागिएको र कार्यविधि बनेपछि कानुन बनाएर यही आर्थिक वर्षको दोश्रो चौमासिकदेखि उक्त निर्णयलाई कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत विरबहादुर पुनले जानकारी दिएका छन् ।

जनप्रतिनिधिले बोलेका कुरालाई कानुन बनाएर चाँडै नै कार्यान्वयन गरिने पुनले बताए ।

छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक श्यामसुन्दर पोख्रेलले पालिकाको उक्त निर्णय आम स्वास्थ्य स्वयंसेविकाहरुका लागि महत्वपूर्ण भएको बताए ।

उक्त निर्णयले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुका लागि प्रेरणा र हौसला प्रदान गर्नुका साथै स्वाथ्यकर्मीहरुलाई पनि थप उत्साहित बनाएको पोख्रेलले बताएका छन् ।

प्रकाशित मिति : २०७९ पुष २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *