२०८२ चैत्र ३ गते मङ्गलवार

१९ करोड ठगीमा कुमारी बैंकका कर्मचारीसहित चार जनालाई बैंकिङ कसुरमा अनुसन्धान

काठमाण्डौ,मंसिर १ । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागजात बनाएर १९ करोड रूपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका चारै जनामाथि बैंकिङ कसुरमा अनुसन्धान थालिएको छ।


केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ परेकाहरूमाथि सुरूमा लिखतसम्बन्धी कसुरमा अनुसन्धान गरिएको थियो।

अनुसन्धान गर्दै जाँदा बैंकिङ कसुर आकर्षित भएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए।

प्रहरीले कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई पक्राउ गरेको थियो। अमात्यको बारा, विश्रामपुरको १२ बिघा जग्गाको नक्कली कागजात बनाएर कुमारी बैंकबाट १९ करोड रूपैयाँ निकालिएको थियो।

गौतम र महर्जनले अमात्यको बिरुवा भूमि वनकाली कम्पनीको नामबाट १९ करोड निकालेका थिए। उक्त पैसा निकाल्दा अमात्यको जग्गाको नक्कली कागजात बनाइएको थियो।

गौतम र महर्जन बेनियल ट्रेडिङ कम्पनी कोटेश्वरका सञ्चालक हुन्। बिरुवा भूमि वनकाली योगेश्वर अमात्य र उनकी श्रीमती सञ्चालक रहेको कम्पनी हो।

पर्सा शाखाबाट पैसा निकाल्ने चाँजो मिलाउँदा कर्मचारी ठाकुर र चौरसियाले उनीहरूलाई सहयोग गरेका थिए।

प्रहरी उपरीक्षक महतोका अनुसार पक्राउ परेकालाई पटक–पटक गरेर २९ दिनसम्म थुनामा राख्न अदालतबाट अनुमति लिइएको छ।

बैंकिङ कसुरमा प्रहरीले आरोपीलाई ६० दिन थुनामा राखेर अनुसन्धान गर्न सक्छ। ‘अनुसन्धान गर्न समय बाँकी रहेको र थप तथ्यहरू पनि बुझ्नुपर्ने भएकाले अझै ३० दिन थुनामा राखेर अनुसन्धान गर्नुपर्ने हुनसक्छ,’ महतोले भने।

बैंक कर्मचारीकै मिलेमतोमा जग्गाको नक्कली लालपूर्जा बनाएर बैंकको न्यूरोड शाखाबाट रकम निकालेको पत्ता लागेपछि चार जनालाई प्रहरीले पक्राउ गरेको थियो।

ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहका अनुसार त्यसरी नक्कली कागजात बनाएर ऋण स्वीकृत गर्न कुमारी बैंकको केन्द्रीय कार्यालय नक्साललाई पनि पत्राचार गरिएको थियो।

केन्द्रीय बैंकले अनुमति दिएका आधारमा कुमारी न्यूरोड शाखाबाट रकम निकालिएको सिंहले बताए।

गौतम र महर्जनले सुरूमा पर्सा शाखामा निवेदन दिएका थिए। पर्सा शाखाले न्यूरोडमा फाइल पठाएको थियो। न्यूरोड शाखाले ऋण दिँदा नक्सालस्थित केन्द्रीय बैंकको स्वीकृति लिएको थियो।

यो प्रकरणमा कुमारी बैंक केन्द्रीय कार्यालय नक्सालका कर्मचारी पनि छानबिनमा रहेको सिंहले बताए।

गायक अमात्यको १२ बिघा जग्गा भने सुरक्षित भइसकेको छ। नक्कली कागजातका आधारमा ऋण निकालिएको थाहा पाएपछि कुमारी बैंकले कीर्ते गर्ने व्यक्तिहरूबाट त्यस बराबर रकमको धितो सुरक्षित गरिसकेको छ।

नक्कली कागजात बनाएका गौतम र महर्जनको जग्गा(जमिन राखेर बैंकले १९ करोड रूपैयाँ बराबरको धितो सुरक्षित गराएको हो।

प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *