२०८१ मङ्सिर १८ गते मङ्गलवार

नयाँ बर्षले थप उत्साह र उमंग ल्यावस


सम्पादकीय

आजदेखि नेपाली पात्रो फेरिएको छ । यो पात्रो मात्रै फेरिएको हैन । बरु यो बीचमा हामीले तीन सय ६५ दिन ब्यथित गरेका छौं । हुन त हरेक बिहान सुनौला हुन्छन् । उत्साह बोकेर आएका हुन्छन् । तैपनि नेपाली माझ एउटा बेग्लै पर्वका रुपमा नयाँ बर्ष मनाउने प्रचलन रही आएको छ ।

आज आपसमा शुभकामना साटासाट गर्ने दिनपनि हो । थप उन्नती, प्रगती, दीघायूको कामना गर्दै आपसी सदभाव बाँड्ने दिन हो । आज बितेको बर्ष दिनहरुको समिक्षा गर्दै थप राम्रो गर्नका लागि हरेकले आँफैले आँफैसंग प्रण गर्ने दिनपनि हो ।


राजनीतिलाई नियाल्दा बितेको बर्ष खासै उपलब्धि मुलक रहेन । आम मानिसको नजरमा सत्ताको म्याजिकल चेयरकै वरिपरी बर्षदिन गुर्जियो । राम्रा काम कम र नराम्रा कामहरु धेरै भए ।
राजनीतिक रुपमा एक प्रकारले उथुलपुथल पूर्ण रह्यो । दलहरुका बीचमा सत्तास्वार्थकै फोहरी दौड चली रहे । सत्ता समिकरण फेल बदलका लागि दलबदल भइ रहे ।

राजनीतिक रुपमा बितेको बर्ष निकै अस्थिर प्रकृतिको रह्यो । मुख्य गरि नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को डिजाइनमा २०८० साल बित्यो । यो एक बर्ष उनी कहिले नेपाली काँग्रेस त कहिले नेकपा एमालेको बुइ चढेर सत्ताको चास्निमा रमाइ रहेका छन् ।


निर्वाचन ताकाको नेपाली काँग्रेस–नेकपा माओबादी केन्दका बीचमा चुनाबी गठबन्धन थियो । निर्वाचन लगतै त्यो गठबन्धन त्यागेर आँफु प्रधानमन्त्री बन्नकै लागि प्रचण्डले नेकपा एमालेका केपी ओली संग हात मिलाए । दुई महिना मै प्रचण्डले एमालेसंगको सम्बन्ध भत्काए । र फागुन अन्त्यमा सत्तामा टिकी रहनकै लागि उनले फेरि काँग्रेस संगको गठबन्धन तोडेर एमालेसंग लहसियका छन् ।


बितको बर्षमा सत्ता समिकरणमा फेल बदल भइ रहँदा त्यसको असर केन्द्र सरकार मात्रै हैन प्रदेश सरकारहरुमा पनि प¥यो । संघीय लोकतन्त्रलाई संस्थागत गर्ने, संविधानको ब्यबहारिक कार्यान्वयन गर्ने भन्दापनि आँफुलाई केन्द्रमा राखेर प्रचण्डले जसरीपनि सत्तामा टिकिरहने दाउपेच गरि रहे ।
जसका कारण राजनीतिक, आर्थिक र सामाजिक रुपमा अपेक्षित प्रगति भएन । बितेको बर्षमा उल्लेख गर्न लाइक एउटै नयाँ उपलब्धि हासिल हुन सकेनन् ।

राजनीतिक पराकम्पनले देशबासीको जीवनमा पनि उथलपुथल ल्याइ रह्यो । जसको प्रभाव आम नागरिकमा नकारात्मक रुपमा परेको छ । आम नागरिकमा आशा, उत्साह र भरोसा पैदा हुन सकेको छैन । ब्याप्त निरासा चिर्ण नेताहरु सच्चिन जरुरी छ । लोकतन्त्रमाको सबलीकरणका लागि आम मान्छेको हक अधिकार सुरक्षित हुन अति जरुरी हुन्छ । कारण उ एक मतदाता हो ।


आम मान्छेले पनि राज्यको अनुभूत गर्न पाउनु पर्छ । हरेक सुख, सुबिधा उपभोग गर्न पाउनु पर्छ । निर्धक्क र निर्वाधरुपमा आफ्नो पेशा ब्यबसाय गर्न पाउनु पर्छ । जनप्रतिनिधि, कर्मचारी वा पहुँच वालाको हकहितमा मात्रै काम हुन्छ भने त्यहाँ लोकतन्त्र फष्टाउन सक्दैन ।


पछिल्लो समय पहाड रित्तिदै छन् । असमान बिकासले पुर्खेउली थाकथलो छोड्ने क्रम चुलिदो छ । यहाँ जग्गा जमिन बाँझै पल्टिने र युवा जति बिदेशमा पसिना चुहाउन जाने क्रम नरोक्ने हो भने मुलुकको भविश्य थप बबार्द बन्न सक्ने खतरा रहन्छ ।


यो देशमा केही हुँदैन भन्दै युवा बिदेश पलायन हुने क्रम तीब्र छ । त्यो रोक्न राज्य गम्भीर बन्न सकेको देखिएन । स्वदेशमै थप रोजगारीका अवसरहरु सृजना गर्न तर्फ राज्य अगाडि बढ्न सकेन ।
मुलुकमा यतिखेर आर्थिक मन्दी छ । त्यसको असर हर क्षेत्रमा परेको छ । अहिलेको आर्थिक मन्दीबाट मुलधारका मिडिया क्षेत्रपनि अछुतो छैन । त्यसले पत्रकारपनि प्रत्यक्ष मारमा परेका छन् ।


अर्कौ तर्फ सामाजिक संजालको दुरुपयोग बढ्दो छ । जस्ले आम नागरकिमा एक प्रकारले भ्रम पैदा गरि रहेको छ । त्यसले आम नागरिकमा अन्यौलता मात्रै सृजना गरि रहेको छैन गोपनियतापनि भंग हुने क्रमपनि बढ्दो छ । आफ्ना बिरुद्धमा समाचार लेखे पत्रकार र मिडिया हाउसलाई निश्चित स्वार्थ समुहले ट्रोल बनाउने , ब्यक्तिगत रुपमै गाली बेइजती गरि तेजोबध गर्ने तत्वहरु सक्रिय छन् । राज्यले यस्ता गतल कुराहरु समयमै नियन्त्रण गर्न ढिला गर्नु हुन्न ।

लोकतन्त्रको प्राणवायु वाक स्वतन्त्रतापनि हो । त्यो बिना लोकतन्त्रको जग कमजोर बन्छ । प्रेस स्वतन्त्रता कुन्ठित हुनु हुँदैन । तर, स्वतन्त्रताको नाममा स्वच्छन्दता भने स्वीकार्य हुँदैन । कानुनले बर्जित गरेका कुराहरु रोकिनु पर्छ ।


अहिले सामाजिक संजालहरुमा नकारात्मक कुराहरुले बढी चर्चा पाइ रहेको देखिन्छ । पत्रकारिताको आफ्नै बिधि पद्धती छ । त्यो बिधि पुरा नगरी ब्यक्ति बिषेशले सामाजिक संजालमा मनपरी लेख्ने कुराहरु समाचार होइनन् । तर, पछिल्लो समय त्यसैलाई समाचार ठान्ने जमात बढ्दै गएको प्रतित हुन्छ । जो समाज नकारात्मकतातिर लम्कि रहेको संकेतपनि हो । हेडिङ हेरेरै निष्कर्ष निकाल्नेहरु, छुद्र र नकारात्मक टिप्पनी गर्नेहरुकै कारण सर्वसाधारण नागरिकपनि आजित छन् ।


लोकतान्त्रिक राज्य ब्यबस्थामा कुनैपनि ब्यक्तिको बैत्तिक स्वतन्त्रता हनन् गर्न पाइदैन । यस्ता बिकृतिहरु नियन्त्रण गर्न राज्य गम्भीर बन्नै पर्छ । बिगतबाट पाठ सिक्दै, राम्रा कुराहरु अनुशरण गर्दै नराम्रा कुराहरु त्याग्दै र आँफुलाई सच्याउँदै लैजान राज्य संचालकदेखि हरेक नागरिकमा नयाँ बर्षले प्रेरणा थपोस ।


नयाँ बर्ष २०८१ ले शुभचिन्तक, बिज्ञापन दाता, पाठक र रचतात्मक आलोचना गरि हामीलाई सुधार्न सहयोग गर्ने तपाँइ सबैको जीवनमा थप उत्साह र उमंग ल्यावस । नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना ।

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *