२०८१ मङ्सिर १९ गते बुधवार

मुख्यमन्त्रीका रुपमा डिल्लीबहादुरको परीक्षा सुरु


समाजसेवा गर्दागर्दै समाजिक रुपमा स्थापित भएपछि राजनीतिमा प्रबेश गरेको छोटो अबधिमा नै राजनीतिक सफलता चुमेका थोरै भाग्यमानी नेताहरु मध्यमा पर्छन दाङका डिल्लीबहादुर चौधरी ।


जस्ले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको आर्शिबादका कारण पार्टीमा बर्षौं लागेका अग्रज नेता कार्यकतालाई जिल्ल पार्दै दाङको क्षेत्र नं. ४ मा २०६४ मा पहिलो पटक संसदको टिकट पाएका थिए ।
त्यो समय माओबादी उभारको समय थियो । माओबादीको बैंस समयमा चौधरी मात्रै हैन जिल्लाका पाँचै निर्वाचन क्षेत्र माओबादीले नै क्लिन स्वीप गरेको थियो । सोही सम्बन्धकै कारण त्यसपछि उनी समानुपातिक सांसद हुँदा केन्द्रीय श्रम राज्यमन्त्री बनेका थिए ।


२०७४ र २०७९ को संसदीय निर्वाचनमा दाङ क्षेत्र नं. ३ (१) मा चौधरीलाई मतदाताले लगातार दोस्रो पटक निर्वाचित गरि पठाए । लुम्बिनीका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमाले महमासचिव शंकर पोखरेलको पालामा उनी लेखासमितिको सभापतिको जिम्मेवारीमा थिए ।


रोल्पाका माओबादी नेता कुलप्रशाद केसी मुख्यमन्त्री हुँदापनि चौधरीले प्रदेशसरकारमा महत्वपूर्ण तीन वटा मन्त्रालय सम्हालेका थिए । पुस २७ गते एमाले रुपन्देहीका नेता मुख्यमन्त्री बनेपछि करिब साढे ३ महिना भने काँग्रेस सत्ता बाहिरै थियो । नयाँ गठबन्धन बनेपछि एमाले र राप्रपा बाहेक अन्य सबै दलको समर्थनमा चौधरी मुख्यमन्त्री बनेका छन् ।

उनले बिगतमा ब्याकवार्ड सोशाइटी एजुकेशन (बेस) नामम एनजियोको नेतृत्व गर्दा गाउँ गाउँमा रात्रि शिक्षाको माध्यमबाट शिक्षाको ज्योति फैलाउने काम गरेका थिए । कमैया मुक्ति आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दागर्दै उनी समाजिक नेताका रुपमा स्थापित भएका थिए । सीमान्तकृत समुदाय, पछाडि पारिएको वर्ग र गरिबीको रेशामुनी रहेका समुदायलाई ज्ञान र सीप सिकाएर रोजगारीका अवसरहरु सृजना गर्न भूमिका खेलेका ब्यक्ति हुन ।


यो बीचमा उनले सेकेन्डरी भूमिका रहेर लाभको आशंका पाउँदै आएका थिए । कारण उनी आँफै कार्यकारी प्रमुख पदमा पुगि सकेका थिएनन् । तर, यतिखेर उनी प्रदेशकै महत्वपूर्ण पद मुख्यमन्त्री बन्न सफल भएका छन् । मुख्यमन्त्री चौधरीले नै बिगतमा आँफैले उठाउँदै आएका धेरै प्रश्नहरुको चाङ तहतह बनेर बसेका छन । अब आम नागरिकले उनलाई पहिले जस्तै अरु दल वा ब्यक्ति बिशेषलाई दोषारोपन गर्दै उम्कन छुट दिने छैनन् ।


आँफु मन्त्री छँदा उनीहरुले आफ्नो हैसियत अनुसार खोला, नदी, कुला, पुल पुलेसा, बाटो, मन्दिर, भूँयार थान, गुम्बा वा मस्जिद निर्माणका लागि पहल गरेका थुप्रै उदाहरणहरु होलान । तर अब ती फुटकर योजनाहरु मात्रै देखाएर अब पुग्ने वाला छैन ।


प्रदेशलाई संबृद्धि तर्फ लैजाने, बढ्दो बेरोजगारी घटाइ स्वरोजगारहरु सृजना गर्नुपर्ने दायित्व छ । यो बीचमा तुलना गर्दा बुटवल र बाँके क्षेत्र बिकासका दृष्टिकोणले दाङ भन्दा निकै फड्को मारी सकेका छन् ।
तर, प्रदेश राजधानीको केन्द्र दाङको तुलसीपुरमा रहेको मुख्यमन्त्री चौधरी भन्दा जेठो टरिगाउँ एयरपोर्ट ‘जस्ता थिए मितज्यू उस्ता उस्तै’ भन्ने उक्ति चरितार्थ गरि रहेको छ । टरिगाउँ एयरपोर्ट उनको बेस संस्थाको सम्मुख छ ।


तर, मुख्यमन्त्री एयरपोर्ट चढ्न बाँके वा भैरहवा जानु पर्ने बाध्यता छ । कारण टरिगाउँ विमानस्थलको धावनमार्ग जम्मा ७५० मिटर लम्वाइको मात्रै छ । अब मुख्यमन्त्री चौधरीले निर्वाचनमा गरिएको वाचा अनुरुप यो एयरपोर्ट विस्तारका लागि केन्द्रमा कत्तिको दबाब सृजना गर्न सक्लान त्यो महत्वपूर्ण परीक्षा हुने छ । एउटा गतिलो अस्पताल नहुँदा सामान्ने घाइते वा बिरामीलाई पनि बाँके, बुटवल रिफर गर्नुपर्ने बाध्यताको अन्त्य गर्न मुख्यमन्त्रीको हैसियतले चौधरी लाग्नु पर्ने छ ।


त्यस्तै अघिल्ला सरकार प्रमुखहरुलाई दोषारोपन गरिए जस्तै तुलसीपुर–घोराही–लमही चार लेन सडक यही हालतमा रही रह्यो भने वा काम भएन भने चौधरीलाई त्यो बाटो गुडिरहँदा दर्जनौं प्रश्न सोध्नेहरु खडा हुने छन् । ब्याप्त भ्रष्टाचार, सरकारी कार्यालयमा हुने ढिला सुस्तिको अन्त्य आवश्यक छ ।
तुलसीपुर सल्यान र घोराही रोल्पा होलेरी सडक खण्डपनि यात्रा गर्न नसक्ने अवस्थाका छन् । त्यसको लागि पनि उनले आँफुलाई ती ठाउँहरुमा उभ्याउन सक्नु पर्ने छ । आफ्नो जिल्लाको हकमा माथि उल्लेखित केही ठूला कामहरु गर्न उनी सफल भए उनको कार्यकाल सफल हुने छ ।


अन्य जिल्लाहरुमा पनि यस्ता दर्जनौं समस्याहरुको चाङ छ । पूर्वको नवलपरासी पश्चिमदेखि पश्चिमको बर्दिया,एक मात्र हिमाली जिल्ला रुकुम पूर्वदेखि, दक्षिणको पाल्पासम्म सरकारले समान दृष्टिले काम गर्नु छ । पहुँच, भनसुनका आधारमा भन्दापनि आवश्यकताका आधारमा बिकास गर्न मुख्यमन्त्रीले ध्यान केन्द्रित गर्न सकनु । प्रदेशभरका अभिभावक भएका नाताले कुनै जाति वर्ग विषेश, दल बिषेश भन्दा माथि उठेर समावेसी सिद्धान्तका आधारमा काम गर्न जरुरी छ । अन्यथा बिगतको समाजिक नेताको छवि गुम्ने खतरा रहन सक्छ ।


दंगाली नेता पोखरेलले दाङलाई स्थायी राजधानी बनाउन ठूलो भूमिका निर्वाह गरेका थिए । त्यो राजधानीको जग मतबुत बनाउनु अर्कौ चुनौति छँदै छ । मुलुकै नमुना सहर बनाउने परिकल्पना चौधरीले मुख्यमन्त्रीका रुपमा कसरी अगाडि बढाउँछन् ? त्यो पनि आम चासोको बिषय बनेको छ । मुख्यमन्त्री जस्तो पद र स्थानमा जो कोही सजिलै र संधै पुग्न संभव हुँदैन । त्यो पनि एकदमै पछाडि पारिएको भनिएको थारु समुदायबाट । अब पदमा रहुन्जेल चौधरीले केही ठूला र दुरगामी प्रभाव पार्ने काम गर्न सक्छन् कि सक्दैनन् ? आम प्रदेशबासीका लागि त्यो महत्वपूर्ण सवाल हो ।

हामी संग शान्तिका अग्रदूत, एसियाका ज्योति भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि बिद्रोहको भाषा बोल्ने माओबादी उद्गस्थल रोल्पा रुकुमको जोसपनि छ । वन्य जन्तुको मुलुककै चर्चित स्थान बर्दिया राष्ट्रिय निकुञ्जदेखि पश्चिम नेपालकै ठूला भन्सार नाकाहरु भैरहवा र नेपालगंजपनि छन् । अब थप संबृद्धिका लागि बिगतको चर्चित अर्कौ नाका दाङको कोइलाबासको नाका खोल्न आवश्यक छ ।

धार्मिक पर्यटकका केन्द्रहरु प्यूठानको स्वर्गद्धारी मन्दिर, बर्दियाको बगारबाबा मन्दिर, पाल्पाको रानी महल, बाँकेको बागेश्वरी मन्दिर लगाएत मस्जित, गुम्बाहरुमा धार्मिक पर्यटकहरु बढाउन भूमिका खेलुन । मुख्य गरि आधुनिक कृषिबाटै मुलुकको संबृद्धि संभव छ भन्ने कुरा कतै छिपेको छैन । समयमा मल बिउ नपाइने समस्याले किसान आजिद छन् ।

किसानको छोरा मुख्यमन्त्री हुँदा किसानलाई राहात हुने खाले गतिबिधि अगाडि बढाउने आशा गरिएको छ । कोरोना भाइरसको कहरपछिको असर अहिले ब्यापार ब्यबसायमा परेको छ । अर्थतन्त्र मजबुत हुने गतिबिधि उनले अगाडि बढाउन सक्नु पर्छ ।


यस्तो होस कि, आँफैले गरेका कामहरु आलोचनाका गलपासो हैन भविश्यमा गर्व गर्न लायक बनाउन अग्रसर बनुन । मुख्यमन्त्रीका रुपमा डिल्लीबहादुर चौधरीलाई सफल कार्यकालको शुभकामना ।

प्रकाशित मिति : २०८० बैशाख १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *