काठमाण्डौ ,पुस ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकार विस्तार र सभामुखको चुनावका विषयमा छलफल भएको छ ।
प्रमुख सत्ता साझेदार दलहरुबीच भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । त्यस्तै प्रदेश सरकारले पनि पूर्णता पाएका छैनन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा सरकार विस्तार, सभामुखको चुनावलगायत विषयमा उनीहरुबीच परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रचण्ड गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यही दिन उनले सानो आकारको मन्त्रिमण्डल बनाएका थिए ।
प्रतिनिधि सभाका सभामुखको चुनाव आउँदो बिहीवारका लागि तय गरिएको छ ।
सत्ता गठबन्धनमा प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दा नै सभामुख एमालेले पाउने सहमति छ । तर कांग्रेसले पनि सभामुखमा उम्मेदवारीबारे छलफल सुरु गरेको छ ।
कांग्रेसले छलफल थालेसँगै प्रचण्ड र ओलीबीच यसबारेमा छलफल भएको हो ।