२०८२ असार ९ गते मङ्गलवार

जबराले नाम लिएका बार पदाधिकारी र अधिवक्तालाई बिहीबार समितिमा बोलाइने

काठमाडौँ,भदौ २९ । महाअभियोग सिफारिस समितिले बार पदाधिकारी, अधिवक्ता र पूर्वप्रधान न्यायाधीशहरूलाई समितिमा बोलाउने भएको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्वप्रधान न्यायाधीश, बार पदाधिकारी र न्यायाधीशहरूलाई बोलाउने निर्णय गरेको महाअभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

समितिले अहिले को–कसलाई बोलाउने भनेर नाम संकलन गरिरहेको उनले बताए । बिहीबार बस्ने समितिको बैठकमा विभिन्न समयमा अधिवक्ता, बार पदाधिकारी र पूर्व प्रधानन्यायाधीशहरूलाई बोलाउने समय निर्धारण गर्ने उनको भनाइ छ ।

‘निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबराले बयानमा नाम लिएका कानुन व्यवसायीहरूलाई स्पष्टिकरणका लागि बोलाउने भएको छ ।

बयानमा जसको नाम लिनुभएको छ, ती कुरालाई हेरेर त्यसको नाम हामी संकलन गर्दैछौँ,’उनले भने, ‘ती व्यक्तिहरूलाई बोलाउने समितिले निर्णय गरेको छ ।

बार पदाधिकारी, अधिवक्तालगायत केही व्यक्तिहरूलाई बोलाउने भन्ने कुरा भएको छ । भोलि विभिन्न समय दिएर, अधिवक्ताहरूको एउटा समय, बार पदाधिकारीको अर्को समय गरेर बोलाउने भन्ने निर्णय भएको छ । पूर्व प्रधानन्यायाधीशहरूलाई अर्को समय छ ।’

प्रधानन्यायाधीश जबराले न्यायाधीश, पूर्वप्रधान न्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएका थिए ।

उनीहरू सबैलाई बोलाउन पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *