२०८१ चैत्र ३ गते आइतवार

प्रचण्डको प्रष्टोक्ति–म प्रधानमन्त्रीको ‘रेस’मा छैन, गठबन्धनमा छलफल पनि भएको छैन

काठमाडौं,भदौ २४ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिले प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।

शुक्रबार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले गठबन्धनमा यसबारे कुनै छलफल पनि नभएको बताए ।

‘प्रधानमन्त्रीकै इच्छा गरेको भए म २०७४ सालमै पाँच वर्षका लागि हुनसक्थेँ । मैले वाम गठबन्धन र एकतालाई प्राथमिकता दिएर छोडेँ,’उनले भने,’अहिले पनि म प्रधानमन्त्री बन्न चाहने हो भने सकिन्छ । म त्यो ुरेसुमा छैन । चुनावपछिको कुरा रिजल्टले देखाउँछ । गठबन्धनमा पनि यसबारे कुनै छलफल भएको छैन ।’

उनले आफ्नो दिल्ली भ्रमणसँग जोडेर यसबारे टिप्पणी भइरहेको देखेर अनौठो लागेको बताए ।

‘ती हल्ल्ला हुन् । म दिल्लीमा हुँदा यसबारे कहीँ कुनै कुराकानी भएको छैन,’उनले भने, ‘आर्जु देउवा(राण) म दिल्लीमा हुँदा दूतावासमा आउनुभएको थियो । औपचारिकताबाहेक कुनै पनि कुरा भएको होइन । नियोजित प्रचार गरियो । अनावश्यक रुपले बद्नाम गर्ने षड्यन्त्र हो ।

उनले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा ठूलो समस्या नरहेको उल्लेख गर्दै सहमति र समझदारीको निकट पुगिसकेको दाबी गरे।

‘नेताहरूको अन्यत्र कार्यक्रम नपरेको भए हिजै टुंगोमा पुगिसक्ने थियो,’उनले भने,’आज ३ बजेपछि शीर्ष नेताको बैठक बसेर टुंगोमा पुग्नेछौँ ।’

अध्यक्ष प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरणका लागि अब राष्ट्रपतिसँग यताउता गर्ने अधिकार नभएको बताए ।

अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा र राष्ट्रिय सभाले फेरि दोस्रोपटक पारित गरी पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेमा आफू विश्वस्त रहेको बताए ।

‘यो पटक प्रमाणीकरण गर्नुहुनेछ भन्ने आशा छ । संघीय संसदको दुवै सदनले दोस्रोपटक पारित गरेर पठाइसकेपछि अब संविधानले कसैलाई पनि यताउती गर्ने अधिकार दिएको छैन,’ उनले भने, ‘हामी आशा गर्छौं राष्ट्रपतिले योपटक प्रमाणीकरण गर्नु हुनेछ।’

मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा आफू चितवन– ३ बाटै चुनाव लड्ने उनले बताए ।

प्रकाशित मिति : २०७९ भाद्र २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *