काठमाडौं,भदौ २३ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यदि एक सयभन्दा कम सिट लिएर चुनावमा जाने हो भने पार्टीमा विद्रोह हुन सक्ने बताएका छन्।
बिपी जन्मजयन्तीको अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले जनकपुरमा गरेको ‘बीपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती’बिषयक विचार गोष्ठीलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘यो गठबन्धन विचित्रको छ। एकातिर जननायक बीपी कोइरालाले दिनु भएको विचार र सिद्धान्त बोकेको कांग्रेस छ। अर्कातिर आफूलाई कम्युनिष्ट भन्नेहरु छन्’, उनले भने,’उनीहरूसित हाम्रो केही कुरा पनि मिल्दैन। विचार र सिद्धान्त नमिले पनि गठबन्धन गर्यौँ।’
डा. कोइरालाले संसद पुनस्स्थापनाको एजेन्डा सकिएपछि अब एमालेलाई हराउन र सरकार बनाउनकै लागि यो गठबन्धन बनेको पनि तर्क गरे।
‘गठबन्धनबारेमा कांग्रेसमा धेरै छलफल भएको छ। स्थानीय चुनावमा पनि गठबन्धन गरेको हो। त्यसबेला स्थानीय आवश्यकता अनुसार गठबन्धन भएको थियो। तर अहिले केन्द्रले नै गठबन्धन गर्ने निर्णय गरेको छ।’