काठमाण्डौ,साउन २९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन ।
नेपाल प्रेस युनियन चितवनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्ने बताए ।
उनले भने, कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि होे ।’अहिलेको आवश्यकता मिलेर जानुपर्ने रहेको उनको भनाइ थियो ।
एक्लाएक्लै चुनावमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने जनाउँदै नेता पौडेलले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने रहेको बताए । गठबन्धनमा तालमेल गरेर जाने कुरामा छलफल जारी रहेको उहाँले बताए । उनले भने, ुकुरा चलिरहेको छ, मिलाउने कोसिस हुन्छ ।’
को कहाँबाट उम्मेदवार बन्ने भन्ने विषयमा अहिले निर्णय नभएको जनाउँदै उहाँले गठबन्धनभित्र दाबी हुनु स्वाभाविक रहेको बताए । दलहरूको धरातलीय पाटो हेरेर कुन क्षेत्रमा कसको सम्भावना छ त्यहीअनुसार अघि बढ्ने उनको भनाइ थियो ।
कांग्रेसले कांग्रेस जिताउने अभियान चलाउन कार्यकर्ताहरूलाई अनुरोध गरे । उनले भने,’कांग्रेसले कांग्रेसलाई जिताउने हो हराउने होइन ।’
आउँदो चुनावपछि देशको प्रधानमन्त्री तपाईँ हो भन्ने प्रश्नको जवाफमा उनले भने ‘यो निर्णय लिने जिम्मा पार्टीको हो । अहिले नै घोषणा गर्ने समय भएको छैन ।’उनले कांग्रेस देशमा अहिले राजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको बताए ।
फरक प्रसङ्गमा उनले नागरिकता विधेयक संसद्ले पास गरेकाले राष्ट्रपतिबाट रोकिन नहुने बताए ।