२०८२ असार १ गते सोमवार

चुनावी रणनीतिबारे छलफल गर्न एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं,साउन २६। आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला नेकपा एमालेले पनि चुनावको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

बैठक आज मध्याह्न १२ बजेपछि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ मा निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीति, चुनावी एजेण्डा लगायतका विषयमा छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।

बैठकले पोलिटब्युरो र केन्द्रीय समितिको बैठकको मिति तोक्नसक्ने सम्भावना पनि छ ।

आसन्न निर्वाचनमा नेकपा एमालेले सत्ता गठबन्धन बाहिरका विचार मिल्ने दलसँग तालमेल गर्न सक्ने जनाएको छ । निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले दल दर्ताको काम सकिसकेको छ ।

सत्ता गठबन्धनका पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आसन्न निर्वाचनमा तालमेल गर्ने निर्णय गरिसकेका छन् ।

उनीहरुले ११ सदस्यीय कार्यदल गठन गरी सिट बाँटफाँटको गृहकार्य गर्दै आएका छन् । कार्यदलको दोस्रो औपचारिक बैठक आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।

प्रकाशित मिति : २०७९ साउन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *