२०८३ असार २८ गते आइतवार

आचार संहिता उल्लंघन गर्ने प्रदेश सभामुख, सांसदसहित पाँच दललाई आयोगले गर्‍यो कारबाही सिफारिस

काठमाण्डौ,बैशाख १६ ।निर्वाचन आयोगले आचार संहिताको उल्लंघन गरेको भन्दै पाँच राजनीतिक दल तथा नेतालाई कारबाहीको सिफारिस गरेको छ।

आयोगको सचिवालयले बिहीबार बसेको बैठकमा आचार संहिताको उल्लंघन गरेको भन्दै राजनीतिक दल तथा नेताहरूलाई कारबाही गर्न सिफारिस गरेको स्रोतले जनाएको छ।

आयोगले कारबाही सिफारिस गर्नुअघि स्पष्टीकरण सोधेको थियो। त्यसपछि आयोगले तीन राजनीतिक दल, एक सासंद र एक सभामुखलाई कारबाही गर्न सिफारिस गरेको हो।


सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० लाई बिहीबार बसेको बैठकमा आयोगले कारबाही गर्न सिफारिस गरेको हो।

यस्तै प्रतिनिधि सभा सदस्य शंशाक कोइराला र गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीलाई पनि कारबाही गर्न सिफारिस भएको हो।

अघिल्लो चुनावमा आयोगलाई बुझाएको खर्च विवरण भन्दा बढी खर्च भएको भन्ने अभिव्यक्ति उनीहरूले दिएका थिए।

पछि आयोगले उनीहरूलाई पनि ‘निर्वाचनमा गरेको खर्च विवरण ढाँटेको’ भन्दै कारबाही गर्न सिफारिस गरेको हो।

यस्तै राप्रपाले चुनावी प्रचारप्रसार गर्दा कार्यक्रममा बालबालिकाहरूलाई प्रयोग गरेको, एकीकृत समाजवादीले भृकुटीमण्डपमा आमसभा गर्दा आचार संहिता विपरीतका काम गरेको र माओवादी केन्द्रले नेपाल विद्युत प्रधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको तस्बिर राखी प्रचार प्रसारको सामग्री बनाएको भन्दै तीनै दललाई स्पष्टीकरण सोधिएको थियो।

जवाफ पाएपछि आयोगको सचिवालयले तीनै दललाई पनि कारबाहीको सिफारिस गरेको स्रोतले जनाएको छ।

यसरी आचार संहिता विपरीत काम गरेको पाएपछि आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम कारबाहीको लागि सिफारिस गरेको हो।

प्रकाशित मिति : २०७९ बैशाख १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *